• ९ मंसिर २०८१, आइतबार

श्रीनगर एग्रो फार्म आइपिओमा जाने तयारी

blog

काठमाडौँ, साउन २४ गते । पशुपन्छी तथा दानाजन्य उत्पादनमा वार्षिक अर्बभन्दा बढीको कारोबार गरिरहेको श्रीनगर एग्रो फार्म प्रालिले साधारण सेयर (आइपिओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । 

त्यसका लागि श्रीनगर एग्रो फार्म प्रालिलाई श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड बनाएको छ । श्रीनगर एग्रो फार्म प्रालिले लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनीका रूपमा रूपान्तरण भएको हो । 

अबको एक वर्षमा साधारण सेयर (आइपिओ) मा जाने योजनासहित नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजबिच आइपिओ निष्कासनमा सहयोग गर्ने सम्झौता भएर प्रक्रिया अघि बढिसकेको कम्पनीका प्रमुख सतीशचन्द्र श्रेष्ठले बताउनुभयो । 

उहाँले सेयर बजारमा बैङ्क तथा वित्तीय क्षेत्र, हाइड्रो, बिमालगायतका क्षेत्रले वर्चस्व जमाइरहँदा कृषि कम्पनीको प्रवेश गराउन थालेको बताउँदै उहाँले लगानीकर्ताको आकर्षण र सेयर बजारमा जनताले देखाएको बढ्दो चासोका कारण आफूहरू पनि सफल हुनेमा विश्वास लागेको बताउनुभयो । सतीशचन्द्र श्रेष्ठ बैङ्क क्षेत्र छाडेर कुखुरापालनमा हात हाल्नुभएको हो । बालाजुको जेम्स पोल्ट्रीबाट सुरु भएको श्रीनगरले लुम्बिनी प्रदेश केन्द्रित भएर नेपालभर आफ्ना उत्पादन तथा सेवा विस्तार गरिरहेको छ । 

उहाँले भन्नुभयो, “दुई हजार कुखुरा पालेर सुरु भएको श्रीनगरको यात्रा हाल पाँच हजार कृषकको रोजीरोटीसँग यो कम्पनी जोडिएको छ, यसलाई अझै विस्तार गर्न पब्लिकमा गएका छौँ ।” पशुपालन र दानाजन्य उत्पादनमा विश्वास जमाइसकेको श्रीनगरले खाद्यमा पनि लगानी विस्तार गरिरहेको छ । श्रीगर एग्रो नेपालको पहिलो आइएसओ सर्टिफिकेट प्राप्त इन्टिग्रेटेड एग्री बिजनेस फर्म रहेको दाबी श्रेष्ठको रहेको छ ।  

श्रीनगरले रुपन्देहीको शुद्धोदन नगरपालिका–४ मा पौने दुई बिघामा दाना उद्योग सञ्चालन गरिरहेको छ । नजिकै पौने तीन बिघाको ह्याचरी तथा फार्म र अर्को पौने चार बिघामा एउटा व्यावसायिक फार्म सञ्चालन गरिरहेको छ । 

पाल्पाको तेल्घामा २३ रोपनी जग्घामा ब्रिडर फार्म सञ्चालनमा छ । बुटवलमा पनि मासु प्रशोधन उद्योगलगायत फुडमा नयाँ योजनासाथ कम्पनी अगाडि बढिरहेको उहाँले बताउनुभयो ।