बागमती प्रदेश ब्युरो
हेटौँडा, साउन २३ गते । विगतका वर्षमा पनि वर्षायाममा आँखा पाक्ने रोगको समस्या देखिन्थ्यो । यस वर्ष भने आँखा पाक्ने रोगले महामारीको रूप लिएको छ । वर्षाको समयमा आउने यो सरुवा रोगले तराई तथा भित्री मधेशमा महामारीको रूप लिएको छ ।
आँखा पाक्ने रोगले प्रकोपको रूप लिएपछि स्वास्थ्य संस्था, विद्यालय र स्थानीय तहले सतर्कता अपनाउन शैक्षिक संस्था नै बन्द गर्न थालेका छन् ।
बिरामी दोब्बर
पछिल्लो समय मकवानपुरको हेटौँडा उपमहानगरपालिका, मनहरी गाउँपालिकालगायतका दक्षिणी भेगमा आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिएको छ । दुई सातादेखि आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको छ ।
हेटौँडा सामुदायिक आँखा अस्पतालका आँखा कार्यव्रmम संयोजक सुशीलकुमार सिंहले आइतबार र सोमबार त थेग्नै नसक्ने गरी आँखाका बिरामीको भिड लागेको जानकारी दिनुभयो । “हाम्रो अस्पतालमा भएको जनशक्ति र उपलब्ध औषधीबाट दैनिक तीन सयदेखि ३५० जनासम्मको जाँच गर्दै आएका थियौँ । आइतबार त सात सय टोकन पनि बिहानै ९ बजे नै सकियो र टोकन वितरण नै रोक्नुपर्ने अवस्था आयो,” उहाँले भन्नुभयो ।
एकै दिन ६५६ जनाको उपचार गरेको जानकारी दिँदै उहाँले बिरामीको सङ्ख्या धेरै भएपछि सूचना नै टाँसेर नियमित जाँच गराउनुपर्ने र सामान्य बिरामीलाई पछि आउन भनेको बताउनुभयो ।
आँखा अस्पतालमा उपचारका लागि पछिल्लो समय आउनेमध्ये ७० प्रतिशत आँखा पाकेका बिरामी रहेको पाइएको छ । अस्पतालका अनुसार आइतबारदेखि शुक्रबारसम्म विगतमा एक हजार आठ सयदेखि दुई हजार सम्मको आँखा जाँच गर्ने गरेकोमा आँखा पाक्ने रोग फैलिएपछि गत साता दुई हजार छ सयभन्दा बढीको आँखा जाँच गरेको छ । गत आइतबार ४२६, सोमबार ३४३, मङ्गलबार ४०७, बुधबार ४५५, बिहीबार ४५७ र शुक्रबार ५४५ जनाको आँखा जाँच गरिएको अस्पतालको तथ्याङ्क छ ।
शनिबार बिदाका दिन आँखा जाँच आपत्कालीन सेवा अन्तर्गत १५-२० जनाको गर्दै आएको अस्पतालले यो शनिबार १०९ जनाको आँखा जाँच गरेको छ ।
असी प्रतिशतलाई सङ्क्रमण
आँखा पाक्ने सङ्क्रमण वृद्धि भएपछि चितवनको आँखा अस्पतालमा बिरामीको चाप बढेसँगै अस्पताललाई सेवा दिन मुस्किल भएको छ ।
एडिनो भाइरसका कारणले अहिले आँखा पाक्ने समस्या आएको भरतपुर आँखा अस्पतालका विशेषज्ञ डा. कुमुदिनी सुवेदीले जानकारी दिनुभयो । “आइतबार रेकर्ड ब्रेक भएको छ, एक हजार बिरामीमध्ये ८० प्रतिशत अहिलेको सङ्क्रमणले मात्र आएका थिए । अपरेसनका लागि आएका बिरामीमा समेत आँखा पाक्ने समस्या भएपछि रद्द गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा कार्यरत चिकित्सक कर्मचारीमध्ये २० प्रतिशतलाई सङ्क्रमण फैलिएकाले काममा समेत प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।
सङ्क्रमण फैलिएपछि भरतपुर आँखा अस्पताल र यस आसपासका अस्पतालमा समेत बिरामीको चाप बढेको छ । भरतपुरसहित अन्य सेवा केन्द्रमा मात्रै आइतबार दुई हजार ३५७ जनाले उपचार गराएका छन् । भरतपुर आँखा अस्पतालले दिएको तथ्याङ्क अनुसार आइतबार भरतपुर आँखा अस्पतालमा ९७३, सेकेन्डरी आँखा अस्पताल ठोरीमा ६६, कावासोतीमा १९३ र सिम्रनगढमा १०२ जना सङ्व्रmमितले उपचार गराएका छन् ।
यसै गरी चिजकुमार–विष्णुकुमारी बहिरङ्ग सेवा केन्द्र भरतपुर उकालोमा २३८, पर्सामा १६३, रत्ननगरमा १२८, माडीमा ९६, चनौलीमा ६५, राप्तीमा ६१ र कुरिनटारमा २५ जनाले उपचार गराएका छन् ।
धादिङको बेनिघाटमा १६, सल्यानटारमा १३, नवलपरासीको मध्यबिन्दुमा ४४, हुप्सीकोटमा ४०, सिन्धुलीको दुधौलीमा १७, तनहुँको आँबुखैरहनीमा ६३ र सर्लाहीमा ५५ जनाले सेवा लिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।
सतर्कता अपनाउन आग्रह
आँखा पाक्ने रोग गर्मी र मौसम बदलीका कारण हुने सरुवा रोग (भाइरल) भएकाले सतर्कता र सचेतता अपनाउँदा सङ्व्रmमण नहुने र भए पनि छिटो निको हुने अस्पतालका आँखा कार्यव्रmमका संयोजक सिंहले बताउनुभयो ।
आँखा पाक्ने रोगबाट आँखा सुनिने, आँखा बिझाउने, आँशु आइरहने गर्छ । यो सामान्य अवस्था भएकाले डराउनु नपर्ने र दुई हप्तासम्म घरमै हेरचाह गरे निको हुन सक्ने चिकित्सकले बताएका छन् । तर, सङ्क्रमण बढ्दै गएर आँखाको नानीमा घाउ हुनेसम्मको समस्या आयो भने जोखिमपूर्ण र जटिल हुने हेटौँडा सामुदायिक आँखा अस्पतालका आँखा कार्यक्रम संयोजक सुशीलकुमार सिंहले बताउनुभयो ।
रोग लाग्न नदिन आँखा सफा राख्ने, बिहान–बेलुकी सफा पानीले आँखा पखाल्ने तथा बरफले सेक्न र आँखा जाँच गराएर मात्रै औषधी प्रयोग गर्न सिन्धुली अस्पतालका चिकित्सक प्रेरित देवकोटाले सुझाव दिनुभयो ।
भरतपुर आँखा अस्पतालका विशेषज्ञ डा. कुमुदिनी सुवेदीले आनीबानीमा सुधार ल्याउन सकेमा आँखाको सङ्क्रमणबाट बच्न सकिने बताउनुभयो । आँखा पोलेको महसुस भएमा बरफ वा आइसले सेक्ने, सफा पानीले पटक पटक आँखा सफा गर्ने, कालो चस्मा लगाउने, प्रशस्त पानी पिउने, आँखा छुनु अगाडि हात राम्रोसँग धुने, सङ्क्रमित आँखालाई नछुने, भिडभाड हुने ठाउँमा सकेसम्म नजाने, अरूले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने, चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्ने बानी बसाले सङ्व्रmमणबाट बच्न सकिने डा. सुवेदीले जानकारी दिनुभयो ।
विद्यालय बन्द
दुई हप्तादेखि फैलिएको आँखा रोग बढी मात्रामा विद्यार्थीको माध्यमबाट घरमा पुग्ने र अन्ततः घरका सबैमा सङ्क्रमण हुने गरेको देखिएको छ ।
शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाले सोमबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरेको छ । नगरपालिकामा आइतबार बसेको सरोकारवालासँगको छलफलपछि साउन २२ गतेदेखि २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निणय गरिएको नगरपालिकाले जनाएको छ ।
यसै गरी चितवनका विद्यालय पनि बन्द भएका छन् । भरतपुर महानगरपालिकाले आउँदो शुक्रबारसम्म सबै विद्यालय बन्द गरेको छ । हिउँदे र वर्षे बिदामा मिलान गर्ने गरी सङ्क्रमणको अवस्थालाई ध्यान दिएर विद्यालय बन्द गरिएको भरतपुर महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
चितवनको रत्ननगर र खैरहनी नगरपालिकाले पनि सङ्क्रमण वृद्धि भएपछि विद्यालय बन्द गराएका छन् । अन्य स्थानीय तहले पनि सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय लिने तयारी गरेका छन् । गत जेठ महिनामा पनि अत्यधिक गर्मीका कारण भरतपुरका विद्यालय १२ दिन बिदा दिइएको थियो ।
(मकवानपुरबाट राममणि दाहाल, सिन्धुलीबाट बाबुराम देवकोटा र चितवनबाट शालिग्राम नेपाल)