• १३ साउन २०८१, आइतबार

धान जोगाउन ‘हरेली पूजा’ (फोटो फिचर)

blog

धानबाली जोगाउन ‘हरेली पूजा’ गर्दै भूमे गाउँपालिका–३ सीमावासी । तस्बिरः जयमान बुढामगर

जयमान बुढामगर
रुकुमपूर्व, साउन २२ गते ।
जिल्लाको भूमे गाउँपालिका–३ सीमावासीले ‘हरेली पूजा’ गरेका छन् । सीमावासीले हरेक वर्ष धानबाली जोगाउन ‘हरेली पूजा’ गर्ने गरेका छन् । यस वर्ष पनि आइतबार सीमावासीले धानबाली जोगाउन ‘हरेली पूजा’ गरेका हुन् । सीमावासीले परापूर्वकालदेखि धान खेतमा गएर यो पूजा गर्ने गरेका छन्  ।

जिल्लाको ३१ वडामध्ये यही एउटा वडाको सीमावासीले मात्रै हरेली अर्थात् हरियाली पूजा गर्दै आएका छन् । हरियालीलाई नै स्थानीय भाषामा हरेली भन्ने गरेका हुन् । स्थानीय हिक्मत पुनमगरले हरेक वर्षको साउन १५ देखि २५ गतेका बीचमा जुन दिन आइतबार पर्छ त्यही दिनमा धानखेतमा ‘हरेली पूजा’ गरिँदै आएको बताउनुभयो ।


पूजाको सम्पूर्ण तयारी शनिबार दिउँसो र आइतबार बिहान किसानले आ–आफ्नो धान खेतमा गई पूजा गर्ने गरेको पुनमगरले जानकारी दिनुभयो । पूजा गर्दा परम्परागत मौलिक पोसाकमा सजिएर सबै जना आ–आफ्नो धान खेतमा पूजा गर्ने गर्दछन् ।

अर्का स्थानीय बिरमति पुनमगरले धानबालीमा मुसा, किरा–फट्याङ्ग्राले क्षति नपुर्‍याओस् भनेर ‘हरेली पूजा’ गर्ने गरिएको बताउनभयो । शनिबार बेलुका नै गहुँको पिठोबाट मुसा, बिरालो, कीरा–फट्याङ्ग्रा, सर्पदेखि दैनिकी रूपमा प्रयोग गर्दै आएको सम्पूर्ण घरायसी सामग्री बनाउने चलन छ ।

बिरालोले मुसा खाएको, कीरा–फट्याङ्ग्राले धान नष्ट नगरेको सोचेर र धानबाली लगाउँदादेखि भित्र्याउँदासम्मको चाहिने सामग्री सम्झेर पूजाका सामग्री तयार गर्ने गरिएको पुनमगरको भनाइ छ । भोलिपल्ट बिहान त्यही सामग्रीसहित खेतमा गएर पूजा गरिन्छ । पिठोबाट तयार गरिएको सामग्रीसहित धारधूप, अक्षता, धजा, रक्सी चढा कुखुराको भाले बलि दि पूजा गर्ने चलन छ ।


पूजाको अघिल्लो दिन शनिबार प्रत्येक किसानले आफ्नो खेतको बीचमा एउटा मिहेल रुखको हाँगा गाड्ने चलन छ । स्थानीय भाषामा त्यसलाई भोकर भनिन्छ । त्यसैलाई आधार मानेर पूजा गर्ने गरिएको स्थानीय युवा चन्द्रबहादुर रसाइलीले जानकारी दिनुभयो । पूजा गर्नुको मुख्य उद्देश्य नै धानबाली किरा तथा मुसाबाट जोगाउनु र मान्छेलाई विषालु जीवले नटोकुन् बाली र मान्छेलाई भूमि देवताले रक्षा गरुन् भन्ने रहेको रसाइलीले सुनाउनुभयो ।

सबैले आ–आफ्नो खेतमा पूजा गरेपछि चौतारीमा जम्मा हुन्छन् । चौतारीमा मिठो मसिनो खाएर बरदान माग्ने चलन छ । छोराछोरी नभएकाहरुले छोराछोरी माग्ने, बिहे नभएकाहरुले बिहे होस् भनेर वर माग्नेदेखि विद्या, धन माग्ने चलन छ । पूजा गरेपछि बिरालोले मुसा खाओस्, साप, सर्पले मान्छेलाई नटोकोस् भन्ने मूल मान्यताले यो पूजाआजा र वरदानको कार्यक्रम गर्ने गरिएको हो ।


पूजापाठ पछि नाचगान गर्ने चलन पनि छ । वर्षाभरि खेतको धान, बारीको मकै र अन्य क्षेत्रमा पनि क्षति नहोस् भन्ने कामना गर्दै त्यसकै भावभङ्गीका गीत गाउने र नाच्ने गरिन्छ । बुढापाका, जैसी, गन्यमान्यहरुबाट आशीर्वाद थाप्ने चलन पनि छ ।

पुर्ख्याैली पूजापाठको चलन हालसम्म पनि भइरहेको भूइचाले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि पुनमगरले बताउनुभयो । गर्नुपर्ने सम्पूर्ण विधि पुर्‍याएर गरिने पूजाले बालीनाली, मान्छे र वनजङ्गललाई समेत जोगाइराखेको विश्वासमा आफूहरूले पूजालाई निरन्तरता दिइराखेको उहाँको भनाइ छ ।