• २२ वैशाख २०८१, शनिबार

सामुदायिक विद्यालय ‘अध्ययनसँगसँगै आम्दानी’

blog

विद्यालय ज्ञान आर्जन गर्ने स्थान हो । विद्यालयबाट लिएको ज्ञानले विद्यार्थीलाई भविष्य उज्जवल बनाउन बाटो निर्देशित गर्छ  । विद्यालयले वातावरण मिलाउन सक्ने हो भने साना नानीबाबुहरूले सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान पनि लिन सकिन्छ । शैक्षिकसँगै व्यावहारिक ज्ञान पनि प्रदान गर्नमा उदाहरणीय बनेको छ बाँकेको कोहलपुर नगरपालिका–११, भरैयास्थित बालशिक्षा माध्यमिक विद्यालय । यो विद्यालयका विद्यार्थीले शैक्षिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि सिक्ने अवसर पाइरहेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा सञ्चालित  ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अन्तर्गत सञ्चालित यस कार्यक्रममा विद्यार्थीको राम्रो सहभागिता रहँदै आएको छ । विद्यालयमा यो कार्यक्रम सुरु भएको दुई वर्ष पुग्यो । यो अवसरपछि विद्यालयले मौरीपालन गर्ने योजना बनायो । स्थानीय तहको व्यावसायिक सोचमा च्याउखेती पनि परेकाले विद्यालयले च्याउखेती र मौरीपालन दुवै सुरु ग-यो । 

विद्यालयले  मौरीपालनमा तीन लाख र च्याउ खेतीमा सुरुमा दुई लाख लगानी गरेको विद्यालयका प्रधानाध्यापक तर्कबहादुर खत्रीले बताउनुभयो । यो  लगानीबाट विद्यालयले गतवर्ष मौरीपालनबाट एक लाख रुपियाँ र च्याउखेतीबाट ६५ हजार रुपियाँ आम्दानी गर्न सफल भएको छ । यो आम्दानीबाट विद्यालयले  विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने गर्छ । 

जसले विद्यार्थीको अध्ययनमा प्रत्यक्ष सहयोग पुग्छ । यो कार्यमा सबै विद्यार्थीको सहभागिता भए पनि सामग्री वितरणमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पर्ने गर्दछन् । यो वर्ष पनि विद्यालयले मौरीपालनका लागि पाँच लाख बजेट प्राप्त गरेको छ । सो रकमबाट २५ वटा मौरीका गोलासहित घार व्यवस्थापन गरी मह उत्पादन गर्ने प्रधानाध्यापक खत्रीले बताउनुभयो । 

उहाँका अनुसार विद्यालयमा १२ जना शिक्षक तथा ४०९ जना विद्यार्थी छन् । प्रधानाध्यापक खत्रीले भन्नुभयो, “पढ्दै कमाउँदै कार्यक्रममा हामीले मौरीपालन व्यवसायलाई बृहत् बनाई यसैबाट आर्थिक उन्नतिको सम्भावना देखेर लागेका छौँ । हाम्रो विद्यालयको भौगोलिक अवस्थिति, तापक्रम, वनजङ्गल, खोला, बजार, यातायात, पहुँचलगायतका सबै पक्ष हाम्रो मजबुत देखिन्छन् ।”

यस्तो मजबुत उत्पादनको सम्भावना र भरपर्दो बजार सम्भावना भएकाले क्रमैसँग यसैमा थप गर्दै जाने र भविष्यमा ठुलो सङ्ख्यामा मौरीगोला हुने र त्यसबाट मह, कुट, प्रपोलिस, बि ब्रेड, एविलारलिङ तथा बि. भेनमसम्म उत्पादन गरी बजारीकरण गर्ने भावी योजना छ ।’ च्याउखेती सिजनेबल भएकाले नियमित उत्पादन भने हुँदैन । विशेष गरी जाडो समयमा मात्र च्याउको उत्पादन राम्रो हुने गर्छ । कक्षा ६ देखि १० सम्मका बालबालिका संलग्न भएको मौरीपालन व्यवसाय कार्यक्रमले विद्यालयलाई राम्रो प्रतिफल दिँदै आएको छ ।  विद्यालयनजिकै रहेको बाँके राष्ट्रिय निकुञ्जमा प्रशस्त मात्रामा रुदिलो, सिसौ, जामुन, खयर, साज त्यस्तै गरी लहरे जङ्गल पनि प्रशस्त भएको र मौसम अनुसार फूल फुल्ने भएकाले विद्यालयको व्यावसायिक छनोटले सार्थकता पाएको छ । विद्यालयमा पढिरहेका बालबालिकामा सिकाइसँगै सिपको पनि विकास गर्नुपर्दछ र व्यावहारिक सिपले नै जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यले विद्यालयले यो अभ्यास सुरु गरेको जनाएको छ । 

यो कार्यक्रम सुरु भएपछि विद्यालयलाई मौरीको  गोला एवं मौरीजन्य सामग्री नियमित रूपमा उपलब्ध भइरहेको छ । विद्यालयको र विद्यार्थीको आम्दानीको स्रोत बढेको छ । 

स्थानीयले पनि गुणस्तरीय मह उपभोग गर्न पाएकोमा खुसी  छन् । मेलिफेरा मौरी पालन गरेकाले कुट, प्रपोलिस, रोयलजेली, बि ब्रेड, एपिलार्निङ, एवं बि. भेनमसम्म उत्पादन गरी बजारमा बेच्न सकिने र ठुलो धनराशि प्राप्त हुन सक्ने सम्भावनाका नजिक विद्यालय पुगेको छ ।

त्यस्तै  स्थानीय रैथाने जातको मौरी पनि घट्दै गएको अवस्थामा  विद्यालयले पालेको मेलिफेरा मौरी नै परागशेचनको अन्तिम विकल्प बनेको छ । पढ्दै कमाउँदै कार्यक्रममा प्रथम लाभान्वित समूह भनेका  विद्यार्थी र  विद्यालय नै हो । विद्यालय नै लाभान्वित क्षेत्र भएपछि समग्र भरैयाको समाज नै लाभान्वित समूहमा पर्ने नै भयो । हजारौँ हजार व्यक्तिलाई लाभ हुने यस व्यवसायले विद्यार्थीमा नयाँ उत्साह पलाएको छ । सिक्ने कुरा सैद्धान्तिक मात्र नभएर व्यावहारिक भयो भने जीवनयापनका लागि सहज हुने रहेछ भन्ने अनुभव बढेको छ ।