सिराज खान
नेपालगन्ज, साउन २० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्ष २०७९/८० मा गरेको अनुगमनका क्रममा दस लाख रुपियाँभन्दा बढीको अखाद्य बस्तु फेला पारेर नष्ट गरेको छ ।
सो कार्यालयले गएको एक वर्षमा ५८५ वटा विभिन्न फर्मको अनुगमन गर्दा दस लाख ७४ हजार १० रुपियाँको खान अयोग्य सामान नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देविलाल चौलागाईले गत वर्ष विगतका वर्षभन्दा धेरै बढी अखाद्य सामग्री नियन्त्रणमा लिइएको जानकारी गराउँदै अनुगमनको क्रममा २८१ वटा फर्म र पसल मापदण्ड विपरित पाइएकाले उनिहरुलाई कारवाही गरिएको बताउनुभयो ।
कार्यालयले गरेको ५८५ फर्मको अनुगमनका क्रममा २६५ वटा पसल र फर्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको उहाँको भनाइ छ । सूचना अधिकारी चौलागाईका अनुसार कार्यालयले फर्म अनुगमनका क्रममा मापदण्ड पालना नगरेको पाइएका फर्मलाई ७ लाख ३५ हजार जरिवाना गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा बाँकेमा ३ वटा वस्तु नमूना परीक्षणका लागि लिइएको थियो भने ४ वटा फर्मको कारोबार रोक्का गरी शिलबन्द गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्ष २०७९–८० मा ४२ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले विभिन्न शिर्षकमा ४२ लाख ६६ हजार ३५० रूपियाँ राजश्व संकलन गरेको छ ।
सो अवधिमा ३५ वटा विभिन्न फर्मलाई जरिवाना गरिएको जनाइएको छ । गत आर्थिक वर्षमा ८९७ प्राइभेट फर्म र ३२ साझेदारी फर्म नवीकरण भएका छन् । नवीकरणबाट १२ लाख ३१ हजार ७५० रुपियाँ राजश्व संकलन भएको छ । त्यस्तै, सोही अवधिमा ७२८ फर्म संशोधन भए भने ६ साझेदारी फर्मबाट १७ लाख २७ हजार ८३० रुपियाँ राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्षमा कुल १ हजार ८८४ वटा फर्मले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसँग सम्बन्धित दर्ता, नवीकरण, खारेजीको काम गरेको सो कार्यालयले जनाएको छ ।