• १ जेठ २०८२, बिहिबार

पर्सामा पीडितमैत्री अभियान

blog

कन्हैयालाल केशरी

पर्सा, साउन २० गते । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याजी) विरुद्ध परेको उजुरीको छिनोफानो स्थानीय तहमै गरी समस्या समाधान गर्ने उद्देश्यसहित पीडितमैत्री अभियान सुरु गरेको छ । 

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले निवेदक र विपक्षीलाई सहज हुने, समयको बचत, प्रमाण तथा साक्षी जुटाउन र पीडितको अवस्था बुझ्नसमेत सहज हुने भएकाले स्थानीय तहमै पुगेर समस्याको समाधान गर्ने अभियान सुरु गरिएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक, सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्तालगायतको सहभागितामा सहयोगी कार्यदल गठन भई कार्य सञ्चालनमा आएको उहाँले बताउनुभयो । कार्यदलका संयोजक सहायक प्रजिअ शिव लम्सालले साउन १५ देखि कार्यदलले पोखरिया नगरपालिकाबाट आफ्नो अभियान सुरु गरेको बताउनुभयो । विभिन्न माध्यमबाट कार्यालयमा दर्ता भएका एक हजार ३२१ निवेदनमध्ये हालसम्म ४८६ निवेदनउपर छलफल गराई २७४ थान किनारा लगाइएको बताउँदै उहाँले यस अवधिमा रकम दाबीको हकमा चार करोड र चार बिघा जग्गा पीडितको हकमा फिर्ता भएको जानकारी दिनुभयो । 

सहायक प्रजिअ लम्सालले ३० देखि ३५ जनाले जिल्ला अदालत र उच्च अदालतबाट निषेधाज्ञा आदेश जारी गराएकोमा आदेशको सम्मान गर्दै फेरि पनि पक्ष विपक्ष मेलमिलाप गर्न चाहे कार्यदलले पहल गर्ने बताउनुभयो । उहाँले आवश्यकता अनुसार कार्यदलले पर्साको सबै पालिकामा मेलमिलाप अभियान सञ्चालन गर्ने बताउनुभयो ।