• १ जेठ २०८२, बुधबार

माओवादी केन्द्रीय समिति बैठक

सरकार र पार्टी निर्माणमा छलफल केन्द्रित

blog

वीरेन्द्र ओली  

काठमाडौँ, साउन २० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताले सरकारको कामकारबाहीको समीक्षा र पार्टी निर्माणमा केन्द्रित भई आआफ्नो धारणा राखेका छन् । बुधबारदेखि प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरूले पार्टीलाई विधि पद्धतिमा लग्न नसकिएकोमा चिन्ता व्यक्त गरेका छन् । 

पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले राम्रो काम गर्दा समेत व्यवस्थित रूपमा प्रचार हुन नसकेको बताउनुभयो । “सरकारले भुटानी शरणार्थी, ललिता निवास, मिटरब्याजीपीडितको पक्षमा ऐन निर्माणलगायत थुप्रै काम गरेको छ,” सापकोटाले भन्नुभयो, “तर, पार्टीपङ्क्तिले व्यवस्थित प्रचार गर्न सकेन । पार्टीले सरकारका कामलाई जनतासमक्ष लग्न सकेन । सरकार र पार्टीबिच तादम्यता मिलेन ।” 

यस्तै पार्टीकै अर्का उपाध्यक्ष पम्फा भुसालले बैठकबाट तेस्रो युद्धको तयारी थाल्ने गरी पार्टी र सङ्गठनलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी जीवनमा जनयुद्धदेखि चुनवाङसम्म पहिलो फेज, चुनवाङदेखि अहिलेसम्म दोस्रो फेज र अबदेखि अघि जाने तेस्रो फेज मानेर समाजवादी क्रान्तिमा जुटौँ ।” 

पार्टी सचिव देवेन्द्र पौडेलले कार्यशैली र व्यवहारमा अहिलेको युग सुहाउँदो पार्टी निर्माण गर्नुपर्ने नेताहरूले सुझाव दिएको उल्लेख गर्नुभयो । “गतिशीलतामा २०६४ सालअघिकै माओवादी बनाउनु पर्छ । कार्यशैली र कार्यप्रणाली अहिलेको समयसापेक्ष हुनु पर्छ भन्ने सुझाव छन्,” उहाँले भन्नुभयो, “अहिलेको युगबमोजिम सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, प्रचारशैली, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध, वर्ग चरित्र सबै फेरिएका छन् । ती सबैलाई सम्बोधन गर्ने प्रचारशैली अपनाउनु पर्छ ।” उहाँले पार्टीको आन्तरिक जीवन फेर्न नेताहरूले आफ्नो जीवनशैली, कार्यशैली र व्यवहार सुधार गर्नुपर्ने नेताहरूले सुझाव दिएको बताउनुभयो । 

पार्टी केन्द्रीय सदस्य रञ्जित तामाङले पार्टीलाई जीवन्त बनाउने गरी बहस र छलफल जारी भएको उल्लेख गर्नुभयो । “पार्टीलाई राजनीतिक, सङ्गठनात्मक सुधार गरेर संस्थागत रूपमा पद्धति बसाल्नु पर्छ । पार्टीमा देखिएका समस्यामा छलफल गर्दै योजना र कार्यक्रम लिएर सिङ्गो पार्टी अघि बढ्नु पर्छ,” उहाँले भन्नुभयो । केन्द्रीय सदस्य अजयशङ्कर नायकले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनको गति अझ बढाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीमा जुन खालका समस्या देखा परेका छन्, त्यसमा शुद्धीकरण गरेर जानुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य धर्मशिला चापागाईंले सरकारले गरेका काम अझ व्यवस्थित ढङ्गले जनतामा लिएर जानुपर्ने बताउनुभयो । माओवादी बैठकमा ६८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । शनिबार ११ बजे पुनः बैठक बस्ने भएको छ । 

पार्टी एकताको विषय प्रवेश 

बैठकमा पार्टी एकताले प्रवेश पाएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदनमा पार्टी एकताको विषयलाई प्रवेश गराउनुभएको छैन तर बैठकमा बोल्ने नेताहरूले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता गर्नुपर्ने विषय उठाएको सचिव पौडेलले बताउनुभयो । “आधारभूत रूपमा विचार मिल्नेहरूसँग जिम्मेवारी दिएर एकता गर्नु पर्छ,” उहाँले भन्नुभयो, “हिजो विभिन्न कारणले छुट्टिएका साथीलाई एकतामा ल्याउन पहल गर्नु पर्छ भन्ने छ ।”

सचिव पौडेलले माओवादी कमजोर हुँदै गएकाले विचार मिल्नेसँग एकता गरेर जानुपर्ने सुझाव आएको उल्लेख गर्नुभयो । भट्टराई नेतृत्वको नेसपाले माओवादीसँग एकता गर्न नौ बुँदे  प्रस्ताव पठाएको छ । सो प्रस्ताव माओवादी केन्द्रीय समिति बैठकमा छलफल भएपछि एकताको टुङ्गो लाग्ने बताइएको छ ।