• १० वैशाख २०८२, बुधबार

सम्झौता पालना नगरे सत्याग्रह गर्ने चेतावनी

blog

काठमाडौँ, साउन १६ गते । डा. गोविन्द केसीले सरकारले आफूसँग विगतमा भएका सम्झौता पालना नगरेको आरोप लगाउनुभएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै डा. केसीले सम्झौता कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । 

उहाँले आफूले राखेका माग पूरा नभए २९ साउनदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभयो । डा. केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले चिकित्सा शिक्षा ऐनविपरीतका निर्णय गरेको भन्दै त्यसलाई सच्याउन माग गर्नुभएको छ । उहाँले चिकित्सा आयोगको नयाँ नेतृत्व चयनको प्रक्रिया तत्काल अगाडि नबढाइए सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभयो । 

डा. केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले चिकित्सा शिक्षा ऐनविपरीत निर्णय सच्याउन, दोषी पदाधिकारीलाई बर्खास्त गर्न, पिसिएल नर्सिङ, एचए, फार्मेसीमा शुल्क बढाउने निर्णय पनि खारेज गर्न माग गर्नुभएको छ । 

यस्तै आगामी भदौदेखि रिक्त हुन लागेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन, नेतृत्वविहीन नहुने गरी उपाध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाउनसमेत माग गर्नुभयो । 

डा. केसीले सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने, एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान ऐन र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, सरकारी अस्पतालमा शय्या अनुसारको दरबन्दी सिर्जना गर्ने, सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी र उपचार प्रदान गर्नुपर्ने कानुन कडाइपूर्वक लागु गर्न पनि माग गर्नुभयो ।