• २२ वैशाख २०८१, शनिबार

लिटिल ब्वाय पड्कनु अघि ट्रुम्यानको छट्पटी

blog

सन् १९४५ अगस्त ६ मा पहिलो पटक जब परमाणु बम हिरोसिमामा पड्काइयो तबदेखि मानव जाति परमाणु विध्वंसको भयमा बाँचिरहेको छ। ट्रुम्यानले राष्ट्रपति निर्वाचित भएको चार महिना नबित्दै परमाणु बम प्रहारका लागि आफ्नो सेनालाई आदेश दिनु परेको थियो। यस कारण यस परमाणु बमसँग ट्रुम्यानको जति ऐतिहासिक सम्बन्ध अरूको छैन। अमेरिकी विमानले हिरोसिमामा बम पड्काउँदा राष्ट्रपति ट्रुम्यान सोभियत सङ्घ अधीनस्थ जर्मन क्षेत्रमा आयोजित पोट्सड्याम सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा युएसएस अगस्ता पानीजहाजमा सवार थिए। 

समुद्रमा पहिलो रात ट्रुम्यानको टोली राति ८:३० बजे विदेशमन्त्री जेम्स एफ बायन्र्सको क्याबिनमा भेला भयो। सन्दर्भ थियो– वन्डर म्यान चलचित्र हेर्ने। चलचित्र हेर्न ट्रुम्यान गएनन् र आफ्नै क्याबिनमा बसे। अघिल्लो दिन उनले आफ्नो डायरीमा लेखेका थिए, “सैन्य अखाडा, सैनिक र जलसैनिक लक्षित छन्, महिला र बालबालिका होइन।” पक्कै पनि उनलाई थाहा थियो त्यतिबेला उन्नत प्रविधिको त्यस बमले सैनिक र आमजनमानसलाई छुट्याउने छैन, त्यो भावना नै छैन।  

धेरै टाढा पूर्वमा अमेरिकी सेनाको बी–२९ द्वारा मिटो, फुकुयामा र ओट्सुमा जस्ता सहरमा खसालिएका अग्निवर्षा गर्ने बमले जापान निरन्तर जलिरहेको थियो। ट्रुम्यानले आन्ध्रमहासागर हुँदै स्वदेश फर्किन अगस्तामा यात्रा सुरु गरेकै दिन अगस्त २ मा मेजर जर्नल कर्टिस लिमेको कमान्डमा रहेको २१ औँ बम्बर टुकुडीले शत्रुमाथि प्रहार गरेको थियो, जसलाई न्युयोर्क टाइम्सले भन्यो, “विश्वको इतिहासमा एकै पटकमा गरिएको सबैभन्दा ठूलो हवाई हमला।” त्यस हमलामा लगभग नौ सय बी–२९ विमान सहभागी थिए र तिनले करिब छ हजार ६३२ टन अग्निवर्षा गर्ने बम जापानका विभिन्न स्थानमा पड्काएका थिए। ती बमले जापानी सहरहरू कैयौँ किलोमिटरसम्म धुँधुँ गरेर जले। 

उता आन्ध्र महासागरमा अगस्ता जसै जसै अगाडि बढ्दै गयो परमाणु बमलाई लिएर ट्रुम्यानको धड्कन पनि बढेर गयो। अभियानको गोपनीयताका कारण उनले पलपलको जानकारी पाइरहेका थिएनन्। एक पटक त अगस्ताको ‘एड्भान्स म्याप रुम’ ले ह्वाइट हाउसलाई ‘म्यानहटन प्रोजेक्ट’ का बारेमा कुनै खबर छ भनी सोध्यो पनि। ह्वाइट हाउसको ‘म्याप रुम’ सञ्चालकहरूले यस्तो कुनै प्रोजेक्टका बारेमा कुनै प्रमाण नभेटिएको जनाउ दिएको थियो। 

दक्षिण प्रशान्त महासागरमा अवस्थित गुआम टापुमा चहलपहल बढेको थियो। त्यहाँ रहेको आफ्नो मुख्यालयबाट अगस्त ५ का दिन दिउँसो २ बजे जनरल लिमेले अगस्त ६ मा सम्पन्न गर्ने गरी अत्यन्त गोप्य अभियानलाई अगाडि बढाउन ५०९ औँ हवाई दस्तालाई आदेश दिए।   

लिमेले समेत परमाणु बमका बारेमा जानकारी पाएको धेरै समय भएको थिएन। गुआम आएका विशेष दूतले उनलाई त्यस बमका बारेमा बताएका थिए। लिमेलाई आदेश थियो पहिलो बम पड्काउने प्राथमिक लक्ष्य हिरोसिमा हो। गुप्तचरबाट प्राप्त सूचना अनुसार हिरोसिमा सैन्य सहर थियो। फौजलाई रसदपानीको बन्दोबस्त गर्न त्यहाँ ठूलो भण्डार गृह मात्र थिएन हिरोसिमामा युद्धबन्दीसमेत नराखिएकाले परमाणु बमको निसानामा अमेरिकीहरू पर्ने सम्भावना पनि लिमेले देखेका थिएनन्।  

लिमेको आदेशमा हिरोसिमामा अहिलेसम्म हमला गरिएको पनि थिएन। यो एक सम्पन्न र हमलाबाट अछुतो सहर थियो। अमेरिकी गुप्तचर निकायको रिपोर्टमा उल्लेख गरिए अनुसार यहाँ तीन लाख १८ मानिस बसोबास गर्दथे। 

अगस्त ५, दिउँसो टिनिअन टापुमा सैन्य अधिकारीहरूले शस्त्रागारबाट परमाणु बम ‘लिटिल ब्वाय’ लाई बाहिर निकालेर हवाई मैदानमा ल्याए। हल्का अन्डाकार तथा स्टिलको आवरणमा राखिएको यस बमको एक कुनामा बमलाई लक्ष्योन्मुख गराउने उपकरण जडित थियो।

त्यस समय यस बमका बारेमा सबैलाई त्यति धेरै जानकारी थिएन। ‘म्यानहटन प्रोजेक्ट’ का सबै कुरा परीक्षणात्मक र गोप्य थिए। मुस्किलले दुई हप्ता पहिले न्यु मेक्सिकोमा सम्पन्न गरिएको ‘ट्रिनिटी एटोमिक टेस्ट’ मा प्रयुक्त बमभन्दा ‘लिटिल ब्वाय’ पड्काउने विधि फरक भएकाले यस हतियारले काम गर्नेमा शङ्का थियो। 

टिनिअन ‘एयरबेस’ आफैँमा एक श्रम शिल्पको चमत्कार नै थियो, अमेरिकी प्रतिभाको प्रतीक। एक वर्ष पहिलेसम्म यस टापुको अधिकांश भाग उखु खेतीले ढाकिएको हुन्थ्यो। यो अब विश्वको सर्वाधिक ठूलो हवाई मैदानमा परिणत भयो। विमानस्थल बनाइनुका अनेक कारण थिए तर सबैभन्दा महत्वपूर्ण थियो ‘लिटिल ब्वाय’ को परिचालन। 

अगस्त ५ मा दिउँसो सैनिक अधिकारीहरूले बी–२९ सुपरफोट्रेस  विमानमा परमाणु बम लादे। त्यसै दिन बी–२९ का पायलट पल डब्ल्यु टिबेट्सले आफ्नो आमाको नामबाट विमानको नाम ‘एनोला गे’ राखेका थिए। पक्कै पनि श्रीमती टिबेट्सले कहिल्यै सोचेकी थिइनन् होली आफ्नो नाम यस्तो ऐतिहासिक घटनासँग जोडिने छ। ‘एनोला गे’ इतिहासमा निकै आलोच्य सैन्य विमान बन्न पुग्यो। 

‘एनोला गे’ सहित सात विमानले साथै उडान भरेका थिए, सबै बी–२९ थिए। जसमा तीन विमान मौसमको जानकारी लिने, विस्फोटको मापन गर्ने उपकरण राखिएको एक, एउटा चाहिँ क्यामरा उपकरण र अवलोकनका लागि, एउटा अतिरिक्त विमान थियो भने ‘एनोला गे’ त भई नै हाल्यो। 


सातवटै विमानको चालक दलका सदस्यलाई मध्यरातमा वस्तुस्थितिको अन्तिम जानकारी दिइएको थियो। उनीहरूले पहिलो पटक परमाणु बमका बारेमा जानकारी पाएको ४८ घण्टा पनि भएको थिएन तर त्यस अभियानका लागि उनीहरू महिनौँदेखि तालिम लिइरहेका थिए। चालक दलका सबै सदस्यलाई प्राथमिक लक्ष्य हिरोसिमासहित वैकल्पिक लक्ष्यको कुरा र नागासाकीको हवाई तस्बिरहरू देखाइएको थियो। उनीहरूलाई ट्रिनिटी विस्फोट गराइँदाको विस्तृत जानकारी पनि दिइयो, तस्बिरहरू देखाइयो। उनीहरूले ट्रिनिटीको श्रव्यदृश्य देख्न चाहिँ पाएनन् किनभने त्यसको मेसिन बिग्रियो। यस कारण बमको दृश्य प्रभाव उनीहरूका लागि रहस्य नै रह्यो।   

विस्फोटबाट आफ्नो आँखा जोगाउन अन्तिम ‘ब्रिफिङ’ का बेला चालक दलका सदस्यलाई कालो चस्मा दिइयो। उनीहरूलाई भनिएको थियो, त्यहाँ नयाँ सूर्य जन्मिएको जस्तो हुने छ । त्यसपछि एक जना पादरीले शत्रुसँग लड्न जान लागेको टोलीका लागि प्रार्थना गरेका थिए। 

हजारौँ किलोमिटर टाढा अगस्तामा सवार राष्ट्रपति ट्रुम्यानसमेत सोही समयमा जहाजमै प्रार्थना गर्दै थिए, त्यस दिन अगस्त ५ आइतबार नै थियो। विदेशमन्त्री बायन्र्स र जहाजका कप्तान जेम्स फस्केट पनि राष्ट्रपतिसँगै प्रार्थना सभामा सहभागी थिए। उता टिनिअनमा बिहानको २:२७ बजे टिबेट्सले ‘एनोला गे’ का चारै ‘राइट साइक्लोन’ इन्जिन चालु गरे र विमान धावन मार्गमा अगाडि बढ्न थाल्यो। यस अभियानलाई ‘डिम्पल ८२’ कोड नाम दिइएको थियो। 

बिहान २:४५ बजे ‘एनोला गे’ ले हिरोसिमालाई गन्तव्य बनाएर उडान भ-यो। ट्रुम्यान अगस्त ५ को साँझ ६ बजे रातिको खाना खाँदै गर्दा ‘एनोला गे’ पूर्वनिर्धारित समय र स्थान अनुसार नौ हजार फिटको उचाइमा रहेर इवो जिमा टापुमाथि थियो। 

दक्षिण प्रशान्त महासागर क्षेत्रमा अगस्त छका दिन सूर्योदय हुँदै थियो। लस अलामसमा परमाणु बमको अनुभव सँगालेका हतियार विशेषज्ञ तथा हतियार सञ्चालकका रूपमा ‘एनोला गे’ मा सवार विलियम स्टर्लिङ पार्सन्स बिहान ७:३० बजे बम राखिएको स्थानमा गए र उनले ‘लिटिल ब्वाय’ लाई पड्काउन तयार पारे। उनले पहिले हरियो रङका ‘प्लग’ झिके र त्यसपछि तिनमा रातो रङका ‘प्लग’ हाले। 

मौसम सफा थियो। यस कारण टिबेट्सले प्राथमिक लक्ष्य हिरोसिमामै बम पड्काउने निर्णय लिए। “यो हिरोसिमा हो,” उनले इन्टरकममा घोषणा गरे र तुरुन्तै ‘एनोला गे’ लाई ३१ हजार फिटमा लगेर गए। चालक दलका सदस्यले सुरक्षाका लागि विशेष पोसाक लगाएर बम पड्कने बेला कालो चस्मा लगाउन टिबेट्सले उनीहरूलाई सम्झाए।

अगस्त ५, रातिको ८ बजे अगस्तामा साँझको चलचित्र ‘द थिन म्यान गोज होम’ देखाउन सुरु गरियो। फेरि पनि ट्रुम्यान चलचित्र हेर्न गएनन्। जति बेला चलचित्र सुरु भयो ‘लिटिल ब्वाय’ को निसाना ठिक तल थियो। 

३१ हजार फिट उचाइमा रहेर पाँच सय २७ किलोमिटर प्रतिघण्टाको गतिमा अटोमेटिक पाइलटका भरमा विमान उडिरहेका बेला बम पड्काउने जिम्मेवारी पाएका थोमस फेरेबीले तल हिरोसिमामा निसाना निर्धारण गरे। कोपाइलट रोबर्ट लुइसले लगबुकमा टिपोट गरिरहेका थिए। तल हिरोसिमा हेरेर उनले लेखे– पूर्णतया खुला लक्ष्य। त्यससँगै फेरेबीले बम तल खसाले। लुइसले फेरि लेखे, “के हुने हो कसैलाई थाहा छैन।” 

त्यतिबेलाको घटना सम्झँदै टिबेट्सले पछि लेखे, “मैले अटोमेटिक पाइलट हटाएर विमानलाई आफैँ चलाउन थालेँ र ‘एनोला गे’ लाई मोडेँ। मैले आफ्ना आँखामा चमकरोधी चस्मा लगाएँ । मैले तिनबाट पनि केही देख्न सकिनँ, म दृष्टिविहीन नै भएँ । मैले चस्मा मिल्काएँ  । एउटा चम्किलो प्रकाश विमानमा फैलियो । पहिलो ‘सक वेब’ ले हामीलाई धक्का दियो ।”

को–पाइलट लुइसले समेत भनेका छन्, “हाम्रो विमानमा दुई पटक जोडदार झट्का लाग्यो, जसलाई हामीले शारीरिक रूपमै महसुस ग-यौँ। त्यसपछि हामीले नतिजा अवलोकनका लागि विमान मोड्यौँ । त्यसपछि मेरा आँखा निःसन्देह मानवले सिर्जना गरेको सबैभन्दा ठूलो विस्फोटको साक्षी भए।”

  टिबेट्सका शब्दमा “जब हामी हिरोसिमा हेर्न फर्कियौँ सहर विचित्रको बादलले ढाकिएको थियो... उम्लिरहेको, च्याउ जस्तो, भयङ्कर र धेरै नै अग्लो। एक क्षण त कोही पनि बोल्न सकेनन्, त्यसपछि सबै कुरा गर्न थाले । मलाई सम्झना छ मेरो काँधमा धाप हान्दै लुइसले भने, “लौ हेर ! लौ हेर ! लौ हेर !” रेडियोधर्मिताले हामी सबैमा प्रजनन क्षमता नष्ट गरिदिने त होइन भनी टम फेरेबी चिन्तित थिए ।”

उता जमिनमा बिहानको ८:१५ बजेको थियो। हिरोसिमा सहरमा चहलपहल थियो, ४५ मिनेट पहिले सबै कुरा ठिकठाक रहेको सन्देश त्यहाँका बासिन्दाले पाएका थिए। यस कारण घर बाहिर निस्कनु सुरक्षित थियो । 


जब बम विस्फोट भयो हिरोसिमाका हजारौँ बासिन्दा तत्काल कुनै निसानी नछाडेर लुप्त भए। बाँचेकालाई पहिले प्रकाशको असाधारण चमक र त्यस लगत्तै मानव कानले पहिले कहिल्यै नसुनेको भयङ्कर आवाजको मात्र सम्झना छ । 

त्यति बेला मात्र १३ वर्षका टोमिको मिरिमिटोले पछि भनेका थिए, “हामीले भयङ्कर आवाज सुन्यौँ, त्यसपछि सबथोक खस्न थाले। सबै भवन यताउता ढल्न सुरु भए। अनि केही भिजेको वस्तु वर्षा जस्तै झर्न थाल्यो । मैले त्यसलाई कालो पानी परेको ठानेँ । मैरो बाल दिमागले त्यसलाई तेल ठान्यो । अमेरिकीहरूले तेल खसालेर हामीलाई जलाएर मार्न तम्सेको सोचेँ र हामी दौडिरह्यौँ । हाम्रो पछाडि आगो थियो ।”

हिरोसिमाको जुन स्थानमा बम पड्केको थियो त्यसको सय गजको परिधिमा बस्नेमध्ये मात्र एक जना बाँच्न सकेका थिए। उनको नाम हो गोइची ओसिमा। उनले आफूले देखेको घटना दस वर्षपछि यसरी बयान गरे, “अकस्मात्को एउटा चमक, बयान गर्न नसकिने एउटा विस्फोटको आवाज आयो र त्यसपछि सबैतिर अँध्यारो । जब म फर्किएँ मैले देखेको हिरोसिमा भग्नावशेषमा परिणत भइसकेको थियो ।”

अगस्तामा राष्ट्रपति ट्रुम्यान बम विस्फोट भएपछि त्यस रात एक–दुई घण्टामा सुत्न गए। मध्यरात १ बजे (अब अगस्त ६) अगस्ताले आन्ध्र महासागरमा नयाँ ‘टाइम जोन’ मा प्रवेश ग¥यो र अधिकारीहरूले घडीलाई एक घण्टा पछाडि पारे । अगस्तामा ट्रुम्यानले बिहान ओछ्यान छाडे । सूर्योदय भइसकेको र मौसम न्यानो थियो । त्यसपछि ट्रुम्यान जहाजको डेकमा आएर शीतल हावाबीच आराम गर्दै सङ्गीत सुन्न लागे । उनलाई हिरोसिमामा के भयो केही थाहा थिएन– हिरोसिमा ठाउँ त थियो तर मानव बसोबासको कुनै चिह्न त्यहाँ बाँकी थिएन । 

जब ट्रुम्यान अगस्तामा दिउँसोको खाना खाँदै थिए ‘एड्भान्स म्याप रुम’ मा कार्यरत जल सेनाका कप्तान फ्रान्क ग्राहाम हतारिँदै त्यहाँ आए। मध्याह्न हुनै लागेको थियो। हिरोसिमामा विध्वंस मच्चिएको १६ घण्टा भइसकेको थियो र ट्रुम्यान अनभिज्ञ थिए । ग्राहमले राष्ट्रपतिलाई एउटा सन्देश दिए । जसमा लेखिएको थियो, “हिरोसिमामा ‘०५२३१५ ए’ को दसांस मात्र समेट्ने गरी हेरेरै बम खसालियो । शत्रुबाट कुनै प्रतिरोध भएन र लडाइँ भएन । बम खसालेको १५ मिनेटपछि पार्सन्सले यस्तो रिपोर्ट गरे ‘परिणाम स्पष्ट आयो र सबै पक्षबाट सफल भयो । कुनै पनि परीक्षणभन्दा राम्रो दृष्टि प्रभाव । बम खसालेपछि  विमानको अवस्था सामान्य नै रह्यो ।”

यति पढेर ट्रुम्यान खुसीले उफ्रिए र सन्देशवाहकसँग उनले हात मिलाए। राष्ट्रपतिले भने, “क्याप्टेन यो इतिहासमा सबैभन्दा ठूलो कुरा हो। यो विदेशमन्त्रीलाई देखाउनुस्।”

ग्राहमले बायन्र्सलाई सन्देशपत्र दिए। उनले सन्देश पढे र राम्रो, राम्रो! शब्द उच्चारण मात्र गरे। 

केही मिनेटपछि ग्राहम अर्को सन्देश लिएर फर्किए। यो सन्देश वासिङ्टनमा रहेका युद्धमन्त्री हेनरी स्टिम्सनले पठाएका थिए। 

ट्रुम्यानले सन्देश पढे, “युद्धमन्त्रीका तर्फबाट लेख्दै छु : वासिङ्टनको समय अनुसार अगस्त ५ मा राति ७:१५ बजे ठूलो बम हिरोसिमामा पड्काइएको छ। पहिलो रिपोर्टले पूर्ण सफलताको सङ्केत मिलेको छ । जो पहिलेको परीक्षण भन्दा बढी ध्यानाकर्षी छ ।”

आफ्नो हातमा दुई वटा सन्देश समातेर ट्रुम्यान विदेशमन्त्री बायन्र्सतिर फर्किएर भने, “हामीले घर फर्किने समय भएको छ।” त्यसपछि उनले भोजन गृहमा भेला भएकालाई शान्त हुन सङ्केत गरे । उनले फेरि भने, “हामीले भरखरै जापानमा बम खसालेका छौँ, जसमा २० हजार टिएनटीभन्दा बढी शक्ति उत्पन्न भयो । यो एक ठूलो सफलता हो ।”

वासिङ्टनमा सञ्चार सहायकमन्त्री एबेन आयर्सले ह्वाइट हाउस विषयमा समाचार लेखन गर्ने पत्रकार भेला गरी केही दिन पहिले परमाणु बमका बारेमा जानकारी दिएर अर्को सूचना आउन्जेल यो कुरा गोप्य राख्न चेतावनी दिएका थिए । अब समय आयो । सञ्चारमन्त्री चार्ली रोसले अगस्ताबाट भने राष्ट्रपतिको विज्ञप्ति जारी गर्ने बेला भयो । अनि आयर्सले पत्रकारहरूलाई बोलाएर हिरोसिमामा बम पड्काइएको कुरा विस्तृत विवरणसहित सार्वजनिक गरियो । राष्ट्रपति ट्रुम्यानले अगस्ताबाटै प्रेस विज्ञप्ति जारी गरे । त्यसपछि पानीजहाजमै पत्रकार बोलाएर पनि पत्रकार सम्मेलन गरेका थिए।  

हिरोसिमामा विनाशको खबर सार्वजनिक हुनासाथ अमेरिकी र बेलायती समाचार स्रोतहरूले जापानी रेडियो अनुगमन गर्न थाले। जापानी रेडियोहरूमा समाचार आइरहेका थिए– हिरोसिमा आउजाउ गर्ने रेल सेवा रद्ध गरिएको तथा सहरको अनुसन्धान भइरहेको छ । 

 –उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादन गरिएको।