• १३ साउन २०८१, आइतबार

रैथाने बाली खरिद गर्ने सम्झौता

blog

दुई पक्षबीच भएको सम्झौतापत्र हस्तान्तरण गरिंदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन १२ गते । सर्केगार्ड गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाबीच रैथाने बाली खरिदका लागि सम्झौता भएको छ । सर्केगार्ड गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण र उत्पादन बृद्धि गरी किसानको आम्दानीमा बृद्धि गर्न सो सम्झौता गरिएको हो । 

सर्केगार्ड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावतले रैथाने बाली खरिदका लागि गाउँपालिका र लिमिटेड शाखाबीच सम्झौता भएको बताउनुभयो । सम्झौताअनुसार गाउँपालिकाले सात प्रकारका रैथाने बाली किसानबाट खरिद गरेर शाखालाई निर्धारित मुल्यमा उपलब्ध गराउनु पर्नेछ ।

रैथाने बालीको अन्न उपलब्ध गराउने सर्केगार्ड गाउँपालिका पहिलो पक्ष र खाद्यन्न खरिद गर्ने लिमिटेडको शाखा दोस्रो पक्ष रहेको छ । सम्झौताअनुसार गाउँपालिकाले पहिलो चरणमा रातो चिनो, कागुनोको चामल, र फापर पाँच–पाँच हजार क्विन्टल तथा सिमी दश हजार क्विन्टल शाखालाई उपलब्ध गराउनुपर्नेछ । 

जिल्ला प्राथमिक खरिद समितिले यी रैथाने बालीको मुल्य समेत निर्माण गरेको छ । जसमा चिनोको चामल प्रतिकेजी १२५ रुपियाँ, कागुनोको चामल प्रतिकेजी १३५ रुपियाँ, फापरदान प्रतिकेजी ८५ रुपियाँ र सिमी प्रतिकेजी १४५ रुपियाँ निर्धारण गरेको छ । 

सम्झौतामा पहिलो पक्षले खाद्यन्न उपलब्ध गराइसकेपछि दोस्रो पक्षले निर्धारित मुल्यको रकम पहिलो पक्षको बैङ्क खातामा भुक्तानी दिनुपर्नेछ । यो सम्झौता भएको मितिले कार्यान्वयनमा आउनेछ । शाखाका प्रमुख कृष्णप्रसाद अधिकारी र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रावतले हस्ताक्षर गर्नुभयो । 

यसअघि गाउँपालिका र लिमिटेडबीच जेठ १९ गते रैथाने बाली खरिदका लागि सैद्धान्तिक रुपमा सम्झौता भएको थियो । निमित्त प्रमुख अिधकारीले सरकारले बजेटमा ल्याएको कर्णाली प्रदेशका रैथाने बाली संरक्षण र बिकास गर्ने उल्लेख भएअनुसार यो सम्झौता गरिएको बताउनुभयो । यसअघि लिमिटेडले सिमकोट र अदानचुली गाउँपालिकाबीच पनि रैथाने बाली खरिद गर्ने सम्झौता गरेर कार्यान्वयनमा छ ।