रतन भण्डारी
गौरवशाली इतिहास बोकेको इजिप्ट (मिश्र) विश्वको प्राचीन मुलुक पर्दछ। ‘नाइल नदीको उपहार’ मानिने इजिप्ट प्राचीन मानव सभ्यताको केन्द्र पनि हो। गिजा, नेक्रोपोलिस र स्फिङ्क्स जस्ता प्रतिष्ठित स्मारकका साथै मेम्फिस, थेब्स, कर्नाक र भ्याली अफ द किङ्ग्समा इजिप्टको प्राचीन इतिहास लुकेको छ।
विगतमा इजिप्टले अलेक्जेन्डर द ग्रेट (सिकन्दर) देखि हाइक्सोस, लिबियन, न्युबियन, अस्सुरियन, अचेमेनिड, पर्सियन र म्यासेडोनियनहरूको आक्रमणलाई बेहोरेको छ। अलेक्ज्यान्डरको निधनपछि ग्रिकका टोलेमाइक शासकले इजिप्टमा इसापूर्व ३० सम्म शासन गरेका थिए । वैभवशाली इतिहास बोकेको इजिप्टले ४५ सय वर्षअघि निर्मित गिजाका पिरामिड र स्फिङ्क्स मन्दिर, समाधिस्थल, ममी र फारो (राजा) हरूका कारण अहिले पनि सारा विश्वको ध्यान तानिरहेको छ । इजिप्ट रानी क्लियोपेट्रा र राजा तुतानखामुन आदिका कारण उत्तिकै चर्चित छ । प्राचीन समृद्ध सांस्कृतिक सम्पदा इजिप्टको राष्ट्रिय पहिचानका रूपमा रहेका छन् ।
भूमध्यसागर, मध्य पूर्वी र उत्तर अफ्रिकी क्षेत्रमा रहेका कारण इजिप्टको छुट्टै भू–रणनीतिक महत्व पनि छ। नाइल नदी उपत्यकामा अवस्थित इजिप्ट उत्तरपूर्वी अफ्रिकाको केन्द्र हो। प्राचीन इजिप्टको इतिहासमा राजा तुतानखामुनको विरासतले विशिष्ट स्थान ओगटेको छ ।
राजा तुतानखामुन
तुतानखामुन इजिप्टमा शासन गर्ने सबैभन्दा प्रसिद्ध फारो (राजा) मध्ये एक थिए। इजिप्टका फारो शासनका १८ औँ राजा तुतानखामुनको जन्म इसापूर्व १३४१ मा इजिप्टको तत्कालीन राजधानी अखेताटोनमा भएको थियो । राजा तुतानखामुन महान फारो अमेनहोटेप तेस्रोका नाति थिए । उनकी हजुरआमाको नाम रानी तिये थियो । अमेनहोटेप तेस्रो प्राचीन इजिप्टको इतिहासमा सबैभन्दा सफल फारोमध्ये एक थिए ।
तुतानखामुनका पिताको नाम राजा अखेनातेन थियो। उनकी आमाको नाम भने यकिन हुन सकेको छैन। ‘भ्याली अफ दी किङ्ग्स’ मा रहेका समाधिस्थलमा तीन वटा ममी भेटिएका थिए । तीमध्ये दुइटा ममी किया र रानी नेफर्टिटीको रहेको ठहर गरिएको छ भने अर्को ममीलाई ‘द योङ लेडी’ नाम दिइएको थियो । किया र नेफर्टिटी राजा अखेनातेनका पत्नी थिए । त्यसैले ती दुईमध्ये एक राजा तुतानखामुनकी आमा भएको अनुमान गरिएको छ । त्यसैले कतिपय अन्वेषकले रानी नेफेर्टिटी तुतानखामुनकी आमा भएको दाबी गरेका छन् ।
प्राचीन इजिप्टमा भाइ–बहिनीबिच विवाह हुन्थ्यो। सोही कारण तुतानखामुनको विवाह उनकी आफ्नै सौतेनी बहिनी आन्खेसेनामुनसँग भयो। सन् २०१० मा गरिएको डिएनए परीक्षणसहितको अनुसन्धानले तुतानखामुनका मातापितासमेत दाजुबहिनी रहेको तथ्य खुलेको थियो ।
तुतानखामुन सामान्यतया ‘राजा टुट’ का नामले चिनिन्थे। तुतानखामुनका पिता अखनातेनले आफ्नो शासनकालमा इजिप्टलाई बहुदेववादी समाजबाट एकेश्वरवादी समाजमा रूपान्तरण गरेका थिए । प्राचीन इजिप्टवासीले थुपै्र देवीदेवताको पूजा गर्थे तर तुतानखामुनका पिता राजा अखेनातेनले धार्मिक पद्धतिमा परिवर्तन ल्याई सूर्यको मात्र पूजा गर्ने थिति बसाले । तुतानखामुन राजा बनेपछि उनले आफ्ना पिताले प्रचलनमा ल्याएका धार्मिक पद्धति परिवर्तन गरेका थिए ।
तुतानखामुनले इजिप्टमा सूर्यको पूजा गर्ने प्रचलनको सट्टा चन्द्रमाको पूजा गर्ने थिति बसाले। पिता अखेनातेनले अमरनामामा सारेको इजिप्टको राजधानी पुनः थेब्स (हालको लक्सर) मा कायम गरे । तुतानखामुन राजा बनेपछि मात्रै उनलाई ‘तुतानखामुन’ भनिएको थियो, त्यसभन्दाअघि उनलाई ‘तुतानखातेन’ भनिन्थ्यो ।
तुतानखातेनको अर्थ ‘सूर्यको जीवित छवि’ भन्ने हुन्थ्यो। तुतानखातेनले पछि सूर्यको पूजा गर्ने प्रचलन त्याग्दै चन्द्रमाको पूजा चलाएका थिए। त्यसपछि उनको नाम ‘तुतानखामुन’ अर्थात् तुतानखामेन रहन गएको हो । तुतानखामुन (तुतानखामेन) को अर्थ ‘चन्द्रमाको जीवित प्रतिकृत’ भन्ने हुन्थ्यो ।
नौ वर्षको उमेरमै राजा
अखेनातेनको शासनकाल इसापूर्व १५५०–१२९५ बिच रहेको थियो। अखेतातेनले इजिप्टमा १७ वर्ष शासन गरेका थिए। राजा अखेनातेनले इजिप्टको राजधानी अमरनामामा सार्दै इजिप्सियन धर्ममा परिवर्तन ल्याए । अखेनातेनको राज्य धर्म परिवर्तन गर्ने निर्णय निकै विवादित बनेको थियो । पिता अखेनातेनको निधनपछि तुतानखामुन इजिप्टको फारो (राजा) बनेका थिए । नौ वर्षको उमेरमा इजिप्टको सिंहासनमा बसेका तुतानखामुनको शासनकालसमेत नौ वर्ष नै चलेको थियो ।
तुतानखामुनले इसापूर्व १३३२ देखि १३२२ सम्म इजिप्टमा शासन गरेका थिए। तुतानखामुन इजिप्टको १८ औँ राजवंशका १२ औँ राजा थिए। तुतानखामुनलाई सेना प्रमुख होरेमहेबलगायतका व्यक्तिद्वारा प्रशिक्षण दिइएको थियो । तुतानखामुनले आफ्नो शासनकालमा इजिप्टको राज्य धर्मलाई विभिन्न देवताको पूजामा पुनस्र्थापित गरेका थिए।
सय वर्षअघिसम्म पनि तुतानखामुनको शासनकालबारे खासै चर्चा भएको थिएन। सन् १९२२ मा तुतानखामुनको समाधिस्थल र ममी पत्ता लागेपछि तुतानखामुन बारे नयाँ तथ्य सार्वजनिक भएको थियो । तुतानखामुनका पिता अखेनातेनको लादेका धार्मिक निर्णय इजिप्टवासीले आत्मसात् गर्न सकेका थिएनन् । त्यसैले तुतानखातेन राजा बनेपछि उनले पिताले लादेको धार्मिक निर्णयलाई उल्टाए र देवता ‘अमुन’ को पूजालाई पुनर्जीवित गरेका थिए ।
सय वर्षअघिसम्म तुतानखामुनको परिचय केवल इजिप्टको १८ औँ फारो (राजा) का रूपमा सीमित थियो तर १९२२ मा इजिप्टको किङ्ग्स भ्यालीमा तुतानखामुनको समाधिस्थल पत्ता लागेपछि उनीबारे थुप्रै रहस्य बाहिरिए ।
१९ वर्षमै निधन
तुतानखामुनको मृत्युको रहस्य सम्बन्धमा परस्पर विरोधी धारणा पाइन्छन्। तुतानखामुनको निधनको कारणमा रथ दुर्घटना, हिप्पोपोटामस आक्रमण, मलेरियाको घातक सङ्क्रमण र हत्यालाई मानिएको छ । १९ वर्षीय युवा राजा तुतानखामुनको मृत्यु अचानक र अप्रत्याशित थियो ।
उनको निधन सम्बन्धमा विभिन्न खाले अनुमान गरिएका छन्। कद अग्लो भए पनि उनी शारीरिक रूपमा कमजोर थिए। उहाँको बायाँ खुट्टामा हड्डीको रोग थियो र उनी अपाङ्ग थिए। धनुवाण (आर्चरी) खेल्दा उनलाई बसेको देखाइएबाट उनी शारीरिक रूपमा कमजोर रहेको अनुमान लगाउन सकिन्छ । इजिप्टको शाही परिवारमा परम्परागत प्रजननका कारण पुरुष राजाको स्वास्थ्य राम्रो हुँदैनथ्यो । इजिप्टमा आफ्नै परिवारका सदस्यबिच वैवाहिक सम्बन्ध कायम हुने परम्पराका कारण त्यसरी विवाह बन्धनमा बाँधिनेका सन्तानमा विभिन्न शारीरिक समस्या देखिने गथ्र्याे । जुन समस्याबाट तुतानखामुनसमेत पीडित थिए ।
तुतानखामुनको ममीको परीक्षणबाट उनी अग्लो कदका थिए। उनको मेरुदण्ड (स्पाइनल कर्ड) मा समस्या रहेको देखिएको छ। केही अनुसन्धानकर्ताले तुतानखामुनको निधन खुट्टाको ग्याङ्ग्रिनका कारण भएको थियो भनेका छन्। तुतानखामुनको ममी परीक्षणका व्रmममा उनको टाउकाको पछाडि प्वाल भेटिएको थियो । सोही आधारमा कतिपय असुन्धानकर्ताले सेनापति होरेमहेबले सत्ता कब्जाका लागि तुतानखामुनको टाउकोमा प्रहार गरी हत्या गरेको हुन सक्ने अड्कल गरेका छन् ।
अर्काथरी अनुसन्धानकर्ता ममी बनाउने क्रममा विधि नमिल्दा उनको टाउकोको पछाडि प्वाल परेको दाबी गर्छन्। तुतानखामुनको ममीको सिटी स्क्यान गर्दा उनको भाँचिएको खुट्टा वरिपरि एम्बाल्मिङको पातलो पत्र देखिएको थियो। जसले तुतानखामुनको मृत्युअघि उनको खुट्टा भाँचिएको र सोही समस्याले सङ्व्रmमण हुँदा उनको मृत्यु भएको हुन सक्ने अनुमान पनि गरिएको छ तर पछिल्लो अध्ययनले तुतानखामुनको निधन हत्याद्वारा नभई रोगकै कारण भएको तथ्य बाहिर आएको छ । तुतानखामुनको ममीको डिएनए परीक्षणबाट उनले औलो सङ्व्रmमणका कारण ज्यान गुमाएको देखिन्छ ।
उत्तराधिकारी
तुतानखामुनको निधन हुँदा राजगद्दी सम्हाल्ने उनका उत्तराधिकारी थिएनन्। भएका दुइटा छोरीको समेत निधन भइसकेको थियो। राजा तुतानखामुनलाई उनको शासनकालमा सल्लाह दिने दुई व्यक्ति ग्रैन्ड भिजियर र सेना प्रमुख होरेमहेब थिए। राजा तुतानखामुनको मृत्युपछि होरेमहेबले हित्तीविरुद्ध युद्ध लडेका थिए । तुतानखामुनको निधनपछि इजिप्टको राजसिंहासन तीन वर्षसम्म अयले सम्हाले । अयको मृत्युपछि होरेमहेब इजिप्टको फारो (राजा) बनेका थिए । होरेमहेबले लगभग ३० वर्ष इजिप्टमा शासन गरे ।
खजानाले भरिपूर्ण समाधिस्थल
मृत्युपछि तुतानखामुनको शवलाई इजिप्टको धार्मिक परम्परा अनुसार ममी बनाएर सुरक्षित गरिएको थियो। इजिप्टको तत्कालीन शाही परम्परा अनुसार राज परिवारका सदस्यको शरीर पुनर्जन्मका लागि संरक्षित गरिनु पर्दथ्यो। सोही मान्यता अनुसार तुतानखामुनको शव ममीमा परिणत गरिएको थियो।
हावर्ड कार्टर नेतृत्वको ब्रिटिस पुरातत्वविदहरूको टोलीले सन् १९२२ नोभेम्बर ४ मा ‘भ्याली अफ दी किङ्ग्स’ मा रहेको राजा तुतानखामुनको समाधिस्थल पत्ता लगाएको थियो। समाधिस्थल चार कोठामा विभाजित थियो। जसलाई एन्टेचेम्बर, एनेक्स, ट्रेजरी र समाधि कक्ष नाम दिइएको छ।
सुनैसुनले भरिभराउ समाधिस्थलमा रहेको तुतानखामुनको ममी एकले अर्कोलाई बन्द गर्ने गरी तीन वटा कफिनमा राखिएको थियो। कफिनहरूको तौल १.२३ टन थियो। कफिनमा तुतानखामुनको अनुहार भने छोपिएको थियो। छोपिएको उनको अनुहारमा दाह्री थियो। सबैभन्दा माथिल्लो पहिलो र त्यसमुनिको दोस्रो कफिन काठका थिए। त्यसमुनि राखिएको तेस्रो कफिन भने सुनको थियो। सुनको कफिनको तौल एक सय १० किलो चार सय ग्राम थियो। त्यही कफिनमा तुतानखामुनको ममी थियो।
सुनको ‘पोट्रेट मास्क’ बनाई उनको टाउको र काँधमा राखिएको थियो। सुनको कफिनमाथि ग्रेनाइट, सार्कोफ्यागस र त्यसमाथि काठको बाकस थियो। उनको समाधिस्थल भने तुलनात्मक रूपमा सानो थियो। तुतानखामुनको समाधिस्थलमा फर्निचर, रथ, कपडा, हतियार र टेक्नोलोजीसहित पाँच हजारभन्दा बढी सामग्री थिए।
तुतानखामुनको ममी समाधिस्थलमा राखेलगत्तै प्रवेशद्वारसँगै रहेको कोरिडोर लुटिएको तर भित्री कोठाहरू सिल गरिएका कारण जोगिएको तथ्य अनुसन्धानबाट खुल्यो।
तुतानखामुनको समाधिस्थलमा पाइएको खजानाको कुनै मूल्य नै छैन। तुतानखामुनको समाधि भ्याली अफ दी किङ्ग्समा जमिनमा कैयौँ फिटभित्र छ। तुतानखामुनको ममीसँगै दुई वटा चक्कु भेटिएका थिए। तीमध्ये एउटा फलाम र अर्को सुनको थियो। फलामे चक्कु तुतानखामुनको दायाँ तिघ्रामा बाँधिएको थियो। उक्त चक्कु शुद्ध फलामबाट नभई ‘मेटियोराइट’ फलामबाट बनेको पाइएको छ। जुन फलाम अर्को ग्रह वा अन्तरिक्षबाट आएको पिन्डमा भेटिन्छ।
तुतानखामुनको समाधिबाट प्राप्त सबैभन्दा महँगो खजाना तुतानखामेको शाही मास्क (मुखौटो) लाई मानिएको छ। २४ क्यारेट सुनको उक्त मास्कको लम्बाइ २१ इन्च र तौल १० किलो छ। मास्कमा बहुमूल्य पत्थर (रत्न) पनि जडित छन्। मास्कमा तुतानखामुनको आँखा अप्सिडियन र कर्जजस्ता बहुमूल्य पत्थरले बनाइएको देखिन्छ। समाधिस्थलमा तुतानखामुनले खेल्ने चार वटा बोर्ड गेमको सेट पनि फेला परेका थिए। ती बोर्ड गेमका गोटी हात्तीको दाँतबाट बनाइएको छ।
समाधिस्थलको दराजमा तुतानखामुनका १२ जोर शाही पोशाक र दुई दर्जनभन्दा बढी चप्पल भेटिएका थिए। त्यहाँ तुतानखामुनको ममीलाई लगाउन २४ क्यारेट सुनको ११.६ इन्च लामा चप्पल पनि भेटिएको थियो। ती चप्पल तुमानखामुनले जीवित छँदा भने प्रयोग गरेका थिएनन्। तुतानखामुनको समाधिस्थलमा दुइटा सिंहासन भेटिएका थिए। तीमध्ये एउटा एबनी नामक काठको थियो, जुन काठमा पानीमा तैरिँदैनथ्यो र पालिस गर्दा सिसा झैँ चम्कन्थ्यो।
दोस्रो सिंहासन सुनको थियो। सुनको सिंहासनमा राजा तुतानखामुन र रानी आन्खेसेनामुनको सुन्दर तस्बिर कोरिएको छ। तस्बिरमा रानी आन्खेसेनामुनले राजा तुतानखामुनलाई अत्तर लगाइरहेको दृश्य छ। सिंहासनमा सुन र चाँदीको पत्र प्रयोग गरिएको छ। ठाउँ ठाउँमा बहुमूल्य पत्थर र सिसा पनि जडित छन्।
तुतानखामुनको समाधिमा छ वटा रथ पनि भेटिए। तीमध्ये दुई सिधा थिए। रथहरूको बायाँतिर तुतानखामुन र उनकी रानी आन्खेसेनामुनको नाम लेखिएको छ। चित्रमा तुतानखामुनले बसेर वाण ताकेका छन् भने आन्खेसेनामुन बसेकी छन्। रथमा ‘सोलर फाल्कन’ (बाज) को तस्बिर पनि छ। बाजलाई इजिप्टमा सूर्यको देवता ‘होरस’ को प्रतिनिधि मानिन्थ्यो।
समाधिस्थलमा सुनको जलप लगाइएको एउटा चाँदी र अर्को पित्तलको बाजा थिए। ती बाजालाई सन् १९३९ मा प्रसिद्ध सङ्गीतकार जेम्स टेपरले बजाएका थिए। प्राचीन इजिप्टमा स्यालझैँ देखिने पुतलालाई आफ्नो देवता मान्ने चलन थियो। जुन देवतालाई ‘एनुबियस’ भनिन्थ्यो। जसको मूर्तिलाई राजा र रानीको ममीको सुरक्षाका लागि राखिन्थ्यो। तुतानखामुनको समाधिमा काठ र सुनले बनाइएका ‘एनुबियस’का मूर्ति फेला परेका थिए।
समाधिस्थलको भित्तामा कोरिएका सुन्दर तस्बिर कुनै आश्चर्यभन्दा कम थिएनन्। तीन हजार वर्षअघि कोरिएका कलात्मक ती तस्बिर सही सलामत थिए। तस्बिरहरूमा राजा तुतानखामुन ओसाइरससँग भेट गरिरहेको दृश्य देखाइएको छ। साथै त्यहाँ नौ वटा बबुन (बाँदर) का चित्र पनि भेटिएका छन्। प्राचीन इजिप्टमा बबुनका चित्रलाई पुनर्जन्मसँग जोडेर हेरिन्थ्यो।
प्राचीन इजिप्टमा ‘ओसाइरस’ नामका देवताको पूजा हुन्थ्यो । तुतानखामुनको १९ वर्षको उमेरमा निधन भएका कारण उनलाई तस्बिरमा ओसाइरसलाई भेटिरहेको देखाइएको बुझिन्छ । तुतानखामुन समाधिमा काठ र हात्तीको दाँतबाट बनाइएको ठूलो बाकस भेटिएको थियो। बाकस बाहिर सुन्दर चित्र कोरिएका थिए। तुतानखामुनको समाधिमा कमलको फूल आकारको सुन्दर कप पनि भेटिएको थियो। जुन कप ‘एलाबास्टर’ नामक ढुङ्गाबाट बनाइएको छ। कपमा ‘हाइरोग्राफिक्स’ को चित्र छ। जसको अर्थ तुतानखामुनलाई हजारौँ वर्ष लामो जीवन प्राप्त होस् भन्ने हुन्छ। त्यहाँ तुमानखामुनको ‘एलाबास्टर’ ढुङ्गाकै अर्को कस्मेटिक जार पनि भेटिएको थियो। जारको बिर्कोमाथि सिंहको सुन्दर मूर्ति छ।
यति मात्र होइन तुतानखामुनको समाधिमा काठको खाट फेला परेको थियो। जसलाई बाहिरबाट सुनको पत्रले ढाकिएको छ। खाट गाईको आकारमा छ। प्राचीन इजिप्टमा गाईलाई ‘हेथोर’ नामक देवतासँग जोडिन्थ्यो। त्यति बेला हेथोरलाई ‘प्रेम र प्रजनन’ को प्रतीक मानिन्थ्यो।
प्राचीन इजिप्टमा हिप्पोपोटामसको सिकार गरिन्थ्यो। हिप्पोपोटामसको दाँतबाट निर्मित सामग्री उपहारका रूपमा दिइन्थ्यो। तुतानखामुनको समाधिमा एउटा सानो डुङ्गामा तुतानखामुन चढेको सुनको मूर्ति भेटिएको थियो। जहाँ तुतानखामुन भालाले हिप्पोको सिकार गरिरहेको देखिन्छ। तुतानखामुनको समाधिमा १८ वटा साना डुङ्गासमेत फेला परेका थिए। ती डुङ्गा तुतानखामुनको निधनपछिको जीवन सहज होस् भन्ने मान्यता अनुसार समाधिस्थलमा राखिएको थियो।
सय वर्षअघिसम्म पनि तुतानखामुनको शासनकालबारे खासै चर्चा भएको थिएन । सन् १९२२ मा तुतानखामुनको समाधिस्थल र ममी पत्ता लागेपछि तुतानखामुन बारे नयाँ तथ्य सार्वजनिक भएको थियो ।
भ्याली अफ दी किङ्ग्स
इजिप्टका अठारौँ, उन्नाइसौँ र बीसौँ राजवंशका शासक (इसापूर्व १५५०–१०६९) को समाधिस्थल इजिप्टको पुरानो सहर थेब्स (हाल लक्सर)बाट नाइल नदीपारि उजाड, सुक्खा उपत्यकामा अवस्थित छ। ‘भ्याली अफ दी किङ्ग्स’ इजिप्टको राजधानी काइरोदेखि चार सय पाँच किलोमिटर दक्षिणमा पर्दछ।
‘भ्याली अफ दी किङ्ग्स’
मा राजाहरूका अतिरिक्त शाही परिवारका अन्य सदस्यको समाधिस्थलसमेत रहेका छन्। साथै राजपरिवारइतरका केही उच्च–पदस्थ व्यक्तिको समाधिस्थल पनि ‘भ्याली अफ दी किङ्ग्स’ मै छ।
‘भ्याली अफ दी किङ्ग्स’ पूर्व र पश्चिम गरी दुइटा खण्डमा विभाजित छ। पूर्वी उपत्यका भन्दा पश्चिमी उपत्यकामा कम समाधिस्थल छन्। ‘भ्याली अफ दी किङ्ग्स’ मा ६० भन्दा बढी समाधिस्थल रहेका छन्। त्यहाँ २० वटा अधूरा समाधि पनि छन्। शाही समाधिस्थलका लागि उक्त क्षेत्र सावधानीपूर्वक चयन गरिएको देखिन्छ। शक्तिशाली राजाहरूको समाधि ‘भ्याली अफ दी किङ्ग्स’ को वरपरका चट्टानबाट उठेको पिरामिड आकारको चुचुरोको मुनि राखिएको छ। प्राचीन इजिप्टमा पिरामिड पुनर्जन्म र अनन्त जीवनको प्रतीक मानिन्थ्यो भने प्राकृतिक पिरामिडलाई ईश्वरीय चिह्नको रूपमा लिइन्थ्यो। ‘भ्याली अफ दी किङ्ग्स’ मा देवी ‘हाथोर’ को अन्त्येष्टि गरिएका कारण पनि उक्त क्षेत्र पवित्र मानिन्थ्यो।
इजिप्टको प्राचीन इतिहास बोकेका थुप्रै अमूल्य खजाना वैध–अवैध तरिकाले युरोप, अमेरिका पुगेका छन्। ती खजाना युरोप र अमेरिकाका विभिन्न सङ्ग्रहालय, विश्वविद्यालय र धनाढ्यहरूसँग छ। इजिप्टवासी आफ्नो भूमिमा मात्र नभई आफ्ना पुरातात्त्विक सामग्री र खजानामा समेत सार्वभौमसत्ता कायम हुनुपर्ने मान्यता राख्छन्।
इजिप्टवासी तुतानखामुनको लगायत प्राचीन खजाना इजिप्टको पितृत्वको अंश दाबी गर्छन्। त्यसैले उनीहरू तुतानखामुनको लगायत प्राचीन इजिप्टका दुर्लभ खजाना युरोप, अमेरिकाबाट फिर्ता होऊन् भन्ने चाहन्छन्। इजिप्टवासीले तुतानखामुनलाई राष्ट्रिय नायकका रूपमा ग्रहण गरेका छन्।