• ३० वैशाख २०८२, मङ्गलबार

उपराष्ट्रपति र पाकिस्तानका राजदूतबीच शिष्टाचार भेट

blog

काठमाडौँ, साउन १२ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच हाशमीबीच लैनचौरमा बिहीबार शिष्टाचार भेटघाट भएको छ । भेटघाटका क्रममा शुभकामना आदानप्रदान र द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो ।  

उपराष्ट्रपति यादवले दुई देशको परराष्ट्र मन्त्रालयबिच स्थापित द्विपक्षीय परामर्श संयन्त्र र अर्थ मन्त्रालयबिच स्थापित संयुक्त आर्थिक सहयोग मार्फत निरन्तर संवाद र सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । ‘हामीले वाणिज्य र आर्थिक क्षेत्रमा थप सहकार्य गर्नु पर्दछ,’ उहाँले भन्नुभयो, ‘हामी व्यापार, लगानी, पर्यटन, संस्कृति एवं जनस्तरबीच सम्बन्ध विस्तारमा सहकार्य गर्न सक्छौँ । ’

उहाँले नेपालले पाकिस्तानका लगानीकर्तालाई जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै आएको बताउनुभयो । शान्ति, समुन्नति र दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) राष्ट्रका आम नागरिकहरूको बृहत् हितका लागि यो सङ्गठन अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ सार्कमा भएको गतिरोधको अन्त्य गर्न सार्कको अध्यक्षको हैसियतमा नेपालले पहल गरिरहेको छ । यसका लागि सार्कका सबै सदस्य राष्ट्र बिचको सहकार्य महत्त्वपूर्ण छ । ’

जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिले हिन्द कुश हिमालय क्षेत्रमा प्रतिकूल प्रभाव परेकोमा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रतिकूल असरहरू न्यूनीकरण गर्न हामी एकजुट भएर काम गर्नुपर्ने आवश्यकता छ । ’ उहाँले नेपाल र पाकिस्तानबीचको सहकार्यात्मक साझेदारीलाई दुरुस्त बनाउन महामहिम राजदूतको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो । 

भेटघाटका क्रममा पाकिस्तानका राजदूत हाशमीले नेपाल र पाकिस्तानबीच सीधा हवाई सम्पर्क पुनः सुचारु हुन सके पर्वतारोही एक अर्को देशमा सहज रूपमा आउजाउ हुँदा पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउनुभयो । यसले दुई देशबिच अनराएभल भिसाको प्रावधान कार्यान्वयन गर्न सहज हुने जानकारी समेत उहाँले उपराष्ट्रपतिलाई गराउनुभयो । 

‘पाकिस्तान सरकारले पाकिस्तान प्राविधिक सहयोग कार्यक्रम (पीटीएपी) अन्तर्गत उपलब्ध गराई रहेको छात्रवृत्तिमा अन्य विषयहरू थपेर सङ्ख्या बढाउने तयारी गरिरहेको छ,’राजदूत हाशमीले भन्नुभयो । उहाँले नेपालबाट चिया र अलैँची निर्यात गर्न सकिने समेत बताउनुभयो ।