बाबुराम शर्मा
दोलखा, साउन १० गते । गौतम बुद्धका आदर्श शिक्षा र उहाँका सम्पूर्ण ज्ञानहरुमा आधरित दोलखाको बिगु गाउँपालिका–१ स्यालुको स्यप्लुङ ओगेन दोङग छ्योलिङ् गोन्पा गुम्बा महत्त्वपूर्ण हुँदाहुँदै ओझेलमा परेकोमा स्थानीय चिन्तित बनेका छन् ।
ऐतिहासिक एवम् पर्यटकीय सम्भावना बोकेको यो स्थल प्रचारप्रसारको अभावमा गुमनाम बनेकोमा चिन्तित हुनु परेको स्थानीय शिवराज लामा बताउनुहुन्छ ।
स्थानीय एवम् वडाध्यक्ष मेमहादुर तमाङका अनुसार यस ठाउँमा पुग्ने बित्तिकै एउटा छुट्टै परम सुखको महसुस गर्न सकिन्छ । गुरु रिम्पोछे पद्मसम्भवले कलियुगको समयमा सम्पूर्ण सत्वप्राणीहरुको दुःखको सगारबाट मुक्ति दिलाउन विभिन्न स्थानहरुमा अधिष्ठान गरी कुनै ठाउँमा हातको औँलाको छाप कुनै ठाउँमा पूरै शरीरको छाप राख्ने क्रममा यो ठाउँमा उहाँको खुट्टाको छाप परेको भन्ने इतिहास जीवित नै पाउन सकिन्छ । प्रमाणका लागि अवलोकन गर्न सकिन्छ । भोट भाषाका किताबहरूमा यो उल्लेख रहेको छ ।
यो गोन्पाको करिब ५० मिटरको दूरीमा एउटा ओडारमा खुट्टाको पाइलाको छाप रहेको छ । यसको नामबाट गोन्पाको नामकरण गरिएको हो, स्यप्लुङ ओगेन दोङग छ्योलिङ् गोन्पा । यसको अर्थ हो भोट भाषामा (स्याप) भनेको खुट्टा र (लुङ) भनेको भविष्यमा यस स्थानमा बौद्ध धर्मावलम्बीहरूको आस्थाका केही संरचनाहरु बन्छ भनी भविष्यवाणी गर्नु हो ।
त्यो समयमा त्यसरी लक्षणहरु देखाइएको हुनाले त्यस्ता संरचनाहरु निर्माण गर्ने सही समय आएको बोध गर्दै सम्पूर्ण स्यालुवासीहरुको सरसल्लाहमा यस स्थानमा एउटा गोन्पा बनाउने निधो भएको उहाँले बताउनुभयो ।
बज्रयान परम्पराको संस्थापक ८ औं शताब्दीमा त्रिकाल बुद्ध अथवा दोस्रो बुद्धको रुपमा ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको विशेष गरी तिब्बतका राज ठ्रिसोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवम् प्रचारप्रसार गर्न पाल्नु हुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार प्रसार गर्नु भएको थियो । भन्ने किम्बदन्ती रहेको छ ।
आचार्य पद्मसम्भवले खोटाङको हलेसी मारातिका गुफामा अभितायुष बुद्धको साक्षात् दर्शन गरी अमरत्व सिद्धि प्राप्त गर्नु भएपछि उहाँले दक्षिणकाली नगरपालिकाको फर्पिङमा बुद्धत्व प्राप्त गर्नुभएको थियो । त्यस्तै, दामनको ऋषेश्वर (छुमिक ज्याङ्छुप), काभ्रे तिमाल (यारी नाग) सङ्खुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, मुस्ताङ आदी स्थानमा पनि आचार्य पद्मसम्भवले ध्यान साधना गर्नुभएको भोट वाङ्मयमा उल्लेख गरिएको पाइन्छ ।
भोट भाषाको वाङ्मयहरुमा बुँदागत रुपमा यस्ता स्थानहरु उल्लेख गरिएको भए पनि नजिकका तिर्थस्थलहरु भने विस्तृत रुपमा उल्लेख गरिएको पाइँदैन । गोन्पाबाट अन्दाजी करिब दुई घण्टाको उकालो पैदलयात्रापछि २५ सय मिटर उचाइमा रहेको निकै रमणीय मनमोहक स्थल चन डाँडा अवस्थित छ ।
भोट भाषामा (चन) भनेको शाब्दिक अर्थ आकार हो जुन डाँडामा विभिन्न आकारप्रकारका मणी र ढुङगामा पानीको कुवा देख्न सकिन्छ । बौद्ध धर्मावलम्बीहरूको आस्थाको स्थान रहेकाले यस ठाउँमा बौद्ध धर्मसँग सम्बन्धित महोत्सव अथवा विषेश तिथिहरुमा यहाँका मानिसहरूले (लुङ्ता) ध्वजाहरुले सिङार्ने गरिन्छ ।
यसको विकास तथा विस्तारका लागि २०७६ साल भदौ २६ गते दर्ता नं २६०४ मा सार्वजनिक गोन्पाको रुपमा दर्ता भइ दर्ता प्रमाण पत्र समेत संस्थाले प्राप्त गरिसकेको छ । स्थापना त भयो तर २०७२ सालको विनासकारी भूकम्पले सम्पूर्ण स्यालुवासिहरुले मृत ४९ को तिथि समेत राम्रोसँग विधिवत रुपमा गर्ने ठाउँ पाएनन् ।
यस्ता विविध किसिमका चुनौतीका सामनासहित हामी फेरि पनि हाम्रा समाजलाई हाम्रा गाउँठाउँलाई माया गरी विशेष गरी बौद्ध धर्ममा आस्था राख्ने बौद्ध धर्मावलम्बीहरूका शतप्रतिशत श्रमदान र केही संघसंस्थाहरुको सहयोगमा हामी दोस्रो पटक यस गोन्पाको पुनर्निर्माण गर्न सफल भयौँ । अब चलायमान गराउन प्रयास भइरहेको छ । सबैको साथ सहयोगको अपेक्षा गरिएको वडाध्यक्ष तमाङले बताउनुभयो ।