• ९ मंसिर २०८१, आइतबार

नाटक ‘चक्र’ : दर्शक नै कलाकार

blog

काठमाडौँ, साउन १० गते  । नाटक ‘चक्र’ भित्र कुनै कलाकारको अभिनय छैन । दर्शक नै नाटकका कलाकार हुन् । उनीहरूले एक घण्टाको यात्रामा जे जे अनुभव गर्छन् त्यो नै नाटक हो । नाटक घरमा केवल १५ जना दर्शक मात्र अटाउँछन् । उनीहरू नै कलाकार, उनीहरू नै दर्शक ।  

थिएटरभित्र एउटा मञ्च छ, जहाँ १५ वटा कुर्सी राखिएका छन् । हरेक कुर्सी अगाडि एक/एक वटा ज्याकेट झुन्ड्याइएको छ । १५ जना दर्शकलाई कुर्सीमा बस्न आग्रह गरिन्छ । उनीहरूलाई नदेखिने चस्मा लगाउन लगाइन्छ । त्यसपछि मञ्चमा आवाज आउन थाल्छ । कुर्सीमा बसेकालाई चम्चामा मह र घिउ पालैपालो मुखमा राख्न लगाइन्छ । त्यसपछि कालो ज्याकेट लगाइदिइन्छ । कपडाको जुत्ता लगाइदिइन्छ । अनि समाएर कतै थाहा नहुने ठाउँमा लगिन्छ । 

नाटकमा आँखामा पट्टी बाँधेर नाटक घरभित्र प्रवेश गर्दा दर्शकले कथाको अर्कै संसारमा नितान्त निजी अनुभूति सँगाल्न पाउँछन् । चक्र, जीवन र सङ्घर्षको अभिव्यक्ति हो । जीवन रहेसम्म जीवनरूपी पाङ्ग्रा निरन्तर जीवनका उकाली ओराली गर्दै अगाडि बढिरहने छ । यात्राका क्रममा साथीहरू भेटिने छन्, छुटिने छन् खुसी मिल्ने छ, दुःख भोगिने छ । कहिले एक्लै होइन्छ त कहिले साथीहरूको बिचमा पनि एक्लो होइन्छ । दिन र रात, प्रकाश र छायाजस्तै जीवनमा आउने र जाने, घट्ने र बढ्ने क्रम निरन्तर चलिरहने छ । यो एउटा संवेदी रङ्गमञ्च हो । जहाँ दर्शकले आफ्नै जीवन र सङ्घर्षलाई बुझ्ने प्रयत्न गर्ने छन् । नाटकभित्र यिनै कुरालाई दर्शाउन खोजिएको छ । 

गत वर्ष पनि दर्शकले यही समय यस्तै नाटकको अनुभूति गरेका थिए तर यस पटक भने संवेदी नाटक ‘चक्र’ मा दर्शकले यसअघिको भन्दा अवश्य नै धेरै कुरा फरक पाउने छन् । मण्डला थिएटरको प्रस्तुति रहेको नाटकको मञ्च निर्माणको काम हुम बिसीले गर्नुभएको छ भने मञ्च व्यवस्थापकमा केदार श्रेष्ठ हुनुहुन्छ । नाटकमा सङ्गीत केशवराज आचार्य, ध्वनि, प्रकाश तथा सेन्सर अक्सल होगेनहउ रहेको छ । रामहरि ढकालको निर्देशन रहेको नाटक साउन १४ गतेसम्म मञ्चन हुने छ ।