• ३० वैशाख २०८२, मङ्गलबार

पोखरी निर्माणपछि फुटे पानीका मूल

blog

देउखुरी समाचारदाता 

देउखुरी, साउन ९ गते । गाउँघर नजिकका तालतलैया क्षेत्र सुक्न थालेपछि इनारमा पानी आउन छाड्यो। गर्मीमा त पानीको समस्या झनै बढ्न थाल्यो। तालतलैयाको संरक्षण नहुँदा पानीका मुहानहरू पनि सुक्न थालेका थिए। अहिले गाउँघर वरपरका तालतलैयाको संरक्षण समुदायस्तरबाट हुन थालेपछि पानीको मुहानमा पानी आउन थालेको छ। 

दाङको गोवरडिहा सामुदायिक वनमा दुई वटा ठुला पोखरी निर्माण गरिएका छन्। यी पोखरीले वन क्षेत्र र वरपरको बस्तीमा हरियाली प्रदान गर्न मद्दत गरेको छ भने वन्यजन्तुका लागि पानीको स्थायी स्रोत बनेको छ। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शिवप्रसाद यादवले सिमसार क्षेत्र नहुँदा गाउँघरमा रहेका कुवा, इनारमा पानी सुक्न थाले पनि अहिले सिमसार क्षेत्र पुनर्निर्माण गरिएपछि बाह्रै महिना पानी आपूर्ति हुन थालेको बताउनुभयो। दाङकै देउखुरीमा अर्जुनखोलाको बाढीले कटान र डुबानको घटना बढ्न थाल्यो। लमही नगरपालिका–६ भित्र पर्ने देउपुर, खैरी, मध्यनगरसम्मका बस्ती जोखिममा पर्न थालेपछि उपभोक्ताको सक्रियतामा खयर र सिसौका बिरुवा रोप्ने अभियान चल्यो। 

ढुङ्गेबगरमा वृक्षरोपण गरियो। कतिले त विश्वास पनि मानेका थिएनन्। ढुङ्गेबगरमा रोपिएका बोटबिरुवा हुर्किन्छन् भनेर तर अहिले २५ वर्षको अवधिमा त्यही ढुङ्गेबगरमा घना वनजङ्गलको विकास भएको छ। अहिले यसको नाम सिसौबगर सामुदायिक वन राखिएको छ। 

अहिले वनले आम्दानी पनि दिन थालेको छ। वन क्षेत्र ४८ हेक्टरमा फैलिएको छ। यसमध्ये १० हेक्टर क्षेत्रमा ढलापडा रुख कटान गरेर सामुदायिक वनले आम्दानीको स्रोत बनाउन थालेको छ। अहिले एक हजार पाँच सय क्युफिट सिसौ र तीन सय क्युफिट खयर कटान गरेर घाटगद्दी गरिएको छ। सिसौबगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कल्लुराम चौधरीले कटान र डुबानबाट बस्ती जोगाउन वृक्षरोपण गरिएको जानकारी दिँदै अहिले बोटबिरुवा हुर्किएर घना जङ्गल बनेको बताउनुभयो। 

वन समूहले वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षण गर्ने काम पनि गरेको छ। सिमसार क्षेत्रको संरक्षणका लागि पर्यटन ग्रामीण तथा सहकारी विकास मन्त्रालयमार्फत २६ लाख ६६ हजार पाँच सय ९० रुपियाँको लागतमा पोखरी मर्मत गरिएको हो। भू तथा जलाधार व्यवस्थापन कार्यालय, तुलसीपुरका प्रमुख शेषदत्त चौधरीले पोखरी निर्माण गरी यो क्षेत्रलाई पर्यटनसँग जोड्ने काम भइरहेको जानकारी दिनुभयो।