मुलुकका पूर्वपश्चिम जोड्ने गरी निर्माण भएका प्रमुख तीन राजमार्गमध्येका पर्छ, हुलाकी सडक । महेन्द्र राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी सडकले पूर्वी सीमादेखि पश्चिम सीमासम्म छिचोलेका छन् । पूर्वी तराईदेखि पश्चिमी तराईसम्म निर्माण हुँदै गरेको हुलाकी राजमार्गलाई तराई–मधेशको ‘लाइफलाइन’ भनिन थालिएको छ ।
हुलाकी राजमार्ग पूर्वपश्चिम राजमार्गसँग समानान्तर भई १५ देखि २० किलोमिटर दक्षिणतर्फ भएर फैलिएको हो । बूढापाकाको भनाइ अनुसार यो बाटो राणाकालीन समयमा चिठीपत्र ओसारपोसारमा प्रयोग हुने गरेको थियो । त्यसैले यसलाई हुलाकी राजमार्ग भनिएको हो । यो सडक तराई÷मधेशका सबै जिल्लालाई जोड्ने पहुँच मार्ग पनि हो । तराई मधेशका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएर निर्माण सुरु गरिएको मधेशको पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरको दैजीसम्म हुलाकी सडकका रूपमा प्रयोगमा आएको छ ।
आव २०६५/६६ बाट सुरु भएको यस राजमार्गको निर्माण सुरुमा भारत सरकारले गर्ने भन्ने सम्झौता भएको थियो । त्यसका लागि नेपाल सरकारले हुलाकी राजमार्ग क्षेत्रमा हुने पुल निर्माण, साइड क्लियरेन्स र विद्युत् पोल सार्ने कार्य गरिदिनुपर्ने भारतीय पक्षको सर्तबमोजिम भारतको भिस्वा कम्पनीसँग निर्माणका लागि सम्झौता भएको हो । उक्त कम्पनीले जनकपुर–जटही र जनकपुर–जलेश्वर–भिट्ठामोड सडकखण्डमा माटो खसाल्ने काम पनि ग¥यो । नेपाल पक्षले गर्नुपर्ने काम समयमा नगरिदिएको गुनासो गर्दै सो कम्पनीले काम बन्द गरिदियो । पछि नेपाल सरकारले भारत सरकारले दिने पाँच अर्ब रुपियाँ सहयोगको सहमति अनुसार हुलाकी राजमार्ग अन्तर्गतको १० वटा सडकखण्डमा काम सुरु गर्ने तय भयो । तराई मधेशमा निर्काध आवागमन र सामाजिक, आर्थिक, गतिविधि विस्तार हुने भएकाले हुलाकी राजमार्गलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।
लम्बाइ र लागत
तराई मधेशका जिल्ला सदरमुकाम र घना बस्तीलाई जोड्दै एक हजार ८५७ किलोमिटर लामो हुलाकी राजमार्गमा यातायातको सहज पहुँच विस्तार हुँदा यस क्षेत्रको सन्तुलित विकासमा ठुलो प्रभाव पर्ने देखिएको छ । तराई मधेशका करिब एक करोड २० लाख जनता हुलाकी राजमार्गबाट लाभान्वित हुने अनुमान गरिएको छ । तराई मधेशका सबै जिल्ला भएर जाने र बहुसङ्ख्यक जनसङ्ख्यालाई प्रत्यक्ष रूपले लाभान्वित तुल्याउने यस सडकलाई आर्थिक वर्ष २०६६/६७ देखि नेपाल सरकारले छुट्टै आयोजना खडा गरी अध्ययन, डिजाइन र निर्माणको काम अघि बढाउँदै आएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सम्पूर्ण सडक सञ्जालको कुल सडक लम्बाइमध्ये पूर्वदेखि पश्चिमसम्मको लम्बाइ ९७५ किलोमिटर रहेको छ भने उत्तरदेखि दक्षिण जोडिने सहायक सडकको लम्बाइ ८१७.४२ किलोमिटर रहेको छ । जसमा थप तीन वटा सडक समावेश भई थप लम्बाइ ६५ किलोमिटर समावेश भएको हुँदा उत्तरदेखि दक्षिण जोडिने सहायक सडकको कुल लम्बाइ ८८२.४२ किलोमिटर पुगेको हो ।
हुलाकी राजमार्गको कुल लागत ६५ अर्ब २० करोड रुपियाँ रहेकोमा हाल आएर आयोजनाको संशोधित लागत एक खर्ब एक अर्ब ९३ करोड रुपियाँ रहेको छ । हुलाकी राजमार्ग अन्तर्गत तीन सय वटा पुल निर्माण गर्नुपर्नेमा २०८१ चैत मसान्तसम्ममा १४८ वटा पुलपुलेसा निर्माणसम्पन्न भइसकेका छन् । तीन सय किलोमिटर सडक र ६८ वटा पुल निर्माणाधीन अवस्थामा छन् । हुलाकी राजमार्ग निर्माणका लागि २०८१ चैत मसान्तसम्ममा ६७ अर्ब ९८ करोड १६ लाख ५१ हजार रुपियाँ खर्च भइसकेको छ । आव २०८३/८४ सम्ममा सम्पन्न गरी सक्ने लक्ष्य लिए पनि समयमै पूरा हुन्छ भन्न सकिने अवस्था छैन । समयमै काम पूरा नभएपछि लागत रकम बढ्दै गएको छ । बजेटको अभावमा अहिले पनि सडक निर्माणदेखि पुलपुलेसाको काम जुन गतिमा अगाडि बढ्नुपर्ने थियो, सो हुन सकेको छैन ।
ढिलो हुनुको कारण
हुलाकी राजमार्ग निर्देशनालयको तथ्याङ्क अनुसार परियोजना सुरु भएदेखि २०८१ चैत महिनासम्ममा एक हजार ३२० किलोमिटर सडक निर्माणको काम सम्पन्न भइसकेको छ । सहरी क्षेत्रमा सडक सीमा एवं मुआब्जा विवाद हुनु, कञ्चनपुर जिल्लामा शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा रेखाङ्कनको समस्या हुनु, दुम्कीबास–त्रिवेणी खण्डमा काम गर्न विवाद हुनु र पर्याप्त बजेट विनियोजन नहुनुले पनि कामले तीव्रता नलिएको हो तर पनि हुलाकी राजमार्ग अन्तर्गतका धेरै जसो सडकको निर्माणले तराई मधेश क्षेत्रको मुहार फेरिएको अनुभव हुन्छ । तराई मधेशमा सम्पर्क सञ्जाल बढेको छ । विभिन्न जिल्ला सदरमुकाम एकअर्कासँग जोडिनुका साथै सहरदेखि ग्रामीण क्षेत्रमा पनि आर्थिक गतिविधि बढेकोे छ । विगतमा राम्रो कालोपत्रे सडक नभएका कारण बालबालिकालाई पठनपाठनका लागि विद्यालय जान र स्वास्थ्योपचारका लागि विभिन्न खालका समस्याको सामना गर्र्नु पथ्र्यो । तराई मधेशका जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत कालोपत्रे सडक निर्माणले गर्दा सर्वसाधारणको स्वास्थ्य र शिक्षामा पहुँच हुनुको साथसाथै ग्रामीण क्षेत्रको जग्गाको मूल्यवृद्धि भएको छ । सडकछेउमा ठुलठुला भवन निर्माण भएर व्यापार व्यवसाय फस्टाएको छ । विगतमा राज्यलाई शान्तिसुरक्षा प्रदान गर्नमा विभिन्न खालका समस्याको सामना गर्नु परेको थियो । गाउँघरमा चोरीडकैतीका घटना दिनदहाडै हुन्थे । अहिले व्यापक सुधार भएको छ । शान्तिसुरक्षामा सुधार आउनुका साथै कृषि उत्पादनको बजारसम्म पहुँच भएको छ । किसानले आफ्ना खेतबारीमा उब्जाएका बालीनाली नजिकको बजारसम्म सजिलै पु¥याएर मनग्गे आम्दानी गरिरहेका छन् । जसले गर्दा उनीहरूको जीवनशैलीमा निकै सुधार आएको छ ।
तराई मधेशको ‘लाइफलाइन’
ग्रामीण क्षेत्रका बासिन्दालाई विभिन्न जिल्लाका सदरमुकामसम्म पुग्न समय नलाग्ने भएको छ । मधेश क्षेत्रको दक्षिणी क्षेत्रमा बसोबास गर्नेको जीवनशैलीमै परिवर्तन आएको छ । सुक्खायामको धुलो र वर्षायामको हिलोमा हिँड्न बाध्य यस क्षेत्रका बासिन्दाको आवागमन मात्रै सहज भएको छैन, आर्थिक हैसियतमा पनि सुधार आएको छ । कुनै बेला एम्बुलेन्स र दमकल पनि पुग्न नसक्ने दक्षिणी भूभागका ग्रामीण बस्तीमा सडकको विकासले यातायात सहज बनाउँदा अहिले स्कुल बस, मलखाद बोकेको गाडी, कृषि उपजलाई बजार पु¥याउन सवारीसाधनको पहुँच सहज भएको छ । हुलाकी सडकले यस क्षेत्रका बासिन्दालाई नयाँ जीवन प्रदान गरेकाले यो राजमार्गलाई तराई मधेशको ‘लाइफलाइन’ भन्नु अतिशयोक्तिपूर्ण होइन ।
सडक विकासले यस क्षेत्रका गाउँलाई सहरोन्मुख बनाउँदै शिक्षा, कृषि, स्वास्थ्य तथा समग्र सामाजिक परिवेशमा सकात्मक परिवर्तन ल्याएको छ । ग्रामीण भेगका बासिन्दाको पनि विद्युत्, इन्टरनेट जस्ता आधुनिक सुविधामा पहुँच भएको छ भने पूर्वदेखि पश्चिम जोड्ने नेपालकै पहिलो सडक बर्सौंको प्रतीक्षापछि निर्माण हुँदा यस भेगका ग्रामीण क्षेत्रलाई ठुला सहरसँग जोडेकाले पनि कृषि, व्यापार, व्यवसायलगायतका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।
सहरीकरण वृद्धि हुँदै
हुलाकी राजमार्गकै कारण धनुषाको तिनकौरिया, यदुकोहा, महोत्तरीको पिपरा, गौशाला सम्सी, सप्तरीको सदरमुकामदेखि १६ किलोमिटर पश्चिममा रहेको बोदेबरसाइनसहितका स्थान अहिले जिल्लाका ठुला व्यापारिक केन्द्रका रूपमा विकसित हुन थालेका छन् । सडक निर्माण नभएका बेला यी स्थानमा पुग्नका लागि घण्टौँ समय लाग्ने गरेको थियो । हुलाकी राजमार्ग अन्तर्गतका सडकको निर्माणले विभिन्न स्थानमा दर्जनौँ ससाना चोक तथा हाटबजार लाग्नुका साथै होटेल, सयौँ पेट्रोल पम्प पनि सञ्चालनमा आउनुले सहज आवतजावत मात्र नभई रोजगारी र व्यावसायिक अवसर पनि सिर्जना भएको छ । मधेश प्रदेशबाट दिनहुँ ठुलो सङ्ख्यामा बिदेसिने युवा अहिले अटोरिक्सा चलाउनुका साथसाथै सडकछेउमा ससाना व्यापार व्यवसाय सञ्चालन गरेर बस्न थालेका छन् ।
बर्सौंसम्म हुलाकी सडक धुलाम्मे र हिलाम्मे रहँदा नागरिकलाई आउजाउ गर्न असाध्यै समस्या भएकोमा सडक कालोपत्रे भएपछि यी समस्याबाट आमनागरिकलाई छुटकारा मिलेको छ । हुलाकी राजमार्ग अन्तर्गतको धनुषा र सिराहालाई जोड्ने कमला नदीको पुल निर्माण भएमा सप्तरी, सिराहा र धनुषाका बासिन्दालाई प्रदेशको राजधानी जनकपुरधाम आउनमा सहज हुने भएकाले कमला नदीको पुल निर्माणको साथसाथै हुलाकी राजमार्ग अन्तर्गतका निर्माण हुन बाँकी रहेका पुलपुलेसा र सडकको निर्माणलाई तीव्रता दिनु जरुरी छ ।