लक्ष्मण पौडेल
भैरहवा, साउन ८ गते । सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लाग्न थालेपछि किनमेल गर्न सीमापारि सुनौलीबजार जाने उपभोक्ता घटेका छन् । सामान किनमेल गर्न बिहानदेखि साँझसम्म सीमावर्ती भारतको सुनौली र नौतनवा पुग्ने नेपाली उपभोक्ताको विगतजस्तै भीड हिजोआज बेलहिया नाकामा छैन ।
सीमापारि पुग्ने नेपाली उपभोक्ताको संख्यामा कमी आउन थालेपछि स्वदेशमा वैध कारोबार प्रोत्साहित हुने वातावरण बनेको भन्दै स्वदेशी व्यवसायी निकै उत्साहित छन् । अर्कोतर्फ भने एकसय रुपियाँभन्दा माथिको सामानमा भन्सार लगाउने नियम अव्यावहारिक भएको र भन्सार नाका बाहेक दायाँबायाँका खुल्ला सीमाबाट खुलेआम तस्करी बढ्न थालेको भन्दै सर्वसाधारणमा व्यापक असन्तुष्टि बढ्न थालेको छ ।
भन्सार नाकामा लागु गरिएको यो नियमले स्वदेशी व्यापारीले मौका छोपेर मूल्य अत्यधिक बढाउन थालेको र त्यस्ता व्यापारीमाथि अनुगमन तथा कारवाही प्रक्रिया फितलो हुँदा सर्वसाधारण महंँको मारमा पर्न थालेको गुनासो स्थानीयको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भन्सार नाकामा गर्न थालिएको कडाइको सकारात्मक प्रभाव पर्न थालेको बताउनुभयो ।
‘घरायसी प्रयोजनका लागि भन्दै सीमापारि सामान किनमेल गर्न जाने नेपाली उपभोक्ताको सङ्ख्या दिन प्रतिदिन घट्दैगएको छ’ पौडेलले भन्नुभयो, ‘किनमेल गर्न पारी जानेको सङ्ख्या पहिले लस्करै हुन्थ्यो ।’ उहाँले यसखालका उपभोक्ताको भीडले पहिला भन्सार नाका आसपास क्षेत्रमा इ–रिक्सा, मोटरसाइकल र गाडीको जाम नै लाग्नेगरेको बताउनुभयो ।
एकसय रुपियाँभन्दा धेरैको सामान ल्याएमा भन्सार लाग्छ भन्ने खबर सर्वसाधारणमा पुगेपछि उपभोक्ताको सङ्ख्या घटेको पौडेलको भनाइ छ । घरायसी प्रयोजनका नाममा भारतीय बजारमा किनमेल गरेको मालसामान बिनाभन्सार नेपाल भित्रिएर व्यापारिक कारोबार हुन थालेपछि गत बैशाख १३ गतेदेखि भैरहवा नाकामा एकसय रुपियाँभन्दा धेरैको सामान किनेर ल्याउँदा अनिवार्य भन्सार लगाउनेगरी कडाइ गर्न थालिएको छ ।
‘घरायसी प्रयोजनको नाममा पाइने भन्सार छुटको फाइदा उठाउँदै हुने व्यापारिक कारोबारलाई नियन्त्रण गर्नैपर्छ’ भैरहवा मर्निङवाक ग्रुपका पूर्व अध्यक्ष तथा नागरिक अगुवा विजयगोविन्द श्रेष्ठले बताउनुभयो ।
भन्सार नाकामा कडाइ गरिएपछि दायाँबायाँका खुल्ला सिमानाबाट चोरी तस्करी बढ्न थालेको र तस्करलाई छुट हुन थालेको सर्वसाधारणको गुनासो छ । बिनाभन्सार धेरै मूल्यको सामान नेपाल भित्रिने परिपाटीलाई निरुत्साहित गर्न नेपाली पक्षबाट गरिएको कडाइप्रति सीमावर्ती भारतका व्यवसायी भने असन्तुष्ट छन् ।
नेपालतर्फ गरिएको यो व्यवस्थाले भारतीय व्यवसायी असन्तुष्ट देखिएका छन् । नेपाली ग्राहकबाट चलेको भारतीय सीमाका बजारमा ग्राहकमा कमी आएपछि व्यापारीहरु असन्तुष्टि पोख्ने गरेका छन् । भारतको सुनौलीबजार ९० प्रतिशतभन्दा धेरै नेपाली उपभोक्तामाथि निर्भर बजार हो ।