• २० वैशाख २०८३, आइतबार

छ हजार हेक्टरमा सिँचाइ

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), साउन ८ गते । म्याग्दीमा पछिल्लो पाँच वर्षको अवधिमा छ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। 

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म गण्डकी प्रदेश सरकारबाट विनियोजन भएका साना तथा ठुला सिँचाइ योजनाबाट जिल्लामा छ हजार २३२ हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको हो। 

प्रदेश सरकार गठन भएदेखि जिल्लामा सिँचाइ सुविधाको विस्तारमा वृद्धि भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका अनुसार जिल्लामा १७ हजार ५९६ हेक्टर कृषियोग्य जमिन रहेको छ।  

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले प्रदेश सरकारले जिल्लामा साना तथा ठुला सिँचाइ योजना निर्माण गर्दा किसानलाई खेती गर्न आकासे पानीको भर पर्नुपर्ने बाध्यता हट्दै गएको बताउनुभयो।

कार्यालयका सबइन्जिनियर अञ्जन खत्रीले आव २०७०/८० मा गण्डकी प्रदेश सरकारबाट विनियोजन भएका ३१ वटा सिँचाइ योजनामध्ये चार वटा सिँचाइ योजना सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार मङ्गला गाउँपालिका–३, वरन्जास्थित अर्जे खोला रायखेत सिँचाइ योजना, झ्याप्रे खोला तल्लो भटेनी सिँचाइ योजना, मङ्गलाकै वडा नम्बर १ भर्जुलास्थित रातो खोला सिँचाइ योजना र अन्नपूर्ण गाउँपालिका–७, औलस्थित औल सिँचाइ योजना निर्माण सम्पन्न भई सिँचाइ सुविधा विस्तार भएको छ।  

ती सिँचाइ योजनाबाट कुल ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेपछि नौ हजार १५७ जनसङ्ख्या लाभान्वित भएको इन्जिनियर खत्रीले बताउनुभयो। उक्त सिँचाइ योजना अन्तर्गत सात हजार ३३० मिटर पक्की नहर निर्माण र १४ हजार ३१८ मिटर पोलिथिन पाइप जडान गरिएको उहाँले बताउनुभयो। अन्य सिँचाइ योजना निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ।