• ९ जेठ २०८१, बुधबार

नेपालगन्ज नाकाबाट ६५ अर्बको व्यापार घाटा

blog

सिराज खान 

नेपालगन्ज, साउन ८ गते । सरकारले पटक पटक निर्यातलाई वृद्धि गरेर आयातलाई घटाउने जनाउँदै आए पनि पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट व्यापार घाटा धेरै बढी भएको पाइएको छ । 

यहाँस्थित जमुनाहा नाकाबाट आयातको तुलनामा अतिनै न्यून परिमाणमा निर्यात भएकाले यो नाकाबाट ६५ अर्बभन्दा बढी व्यापार घाटा भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । 

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा यो नाकाबाट भएको आयात र निर्यातको तुलना गर्दा ६५ अर्बभन्दा बढी ९६.३४ प्रतिशत व्यापार घाटा भएको छ । 

भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले आर्थिक वर्ष २०७९/८० मा नेपालगन्ज नाकाबाट ६७ अर्ब ७२ करोड ८५ लाख ५४ हजार रुपियाँको आयात भएकोमा दुई अर्ब ४७ करोड ६८ लाख ७३ हजार रुपियाँको मात्र निर्यात हुँदा ९६.३४ प्रतिशत व्यापार घाटा भएको बताउनुभयो । 

उहाँले गत आवमा आयात निर्यात तुलना गर्दा यो नाकाबाट ६५ अर्ब २५ करोड १६ लाख ८१ हजार भन्दा बढी व्यापार घाटा भएको पाइएको बताउनुभयो । सूचना अधिकारी शर्माले निर्यात एकदमै न्यून हुँदा यति धेरै व्यापार घाटा देखिएको जनाउँदै निर्यात बढाउने र आयात घटाउने अभियानमा सबै देशवासी लाग्नुपर्नेमा जोड दिनुभयो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भारतले निर्यात प्रक्रियालाई सहज र सरल नबनाएसम्म निर्यात बढाउनै नसकिने जनाउँदै केही समयपहिलेसम्म जडीबुटीको राम्रो निर्यात हुने गरेकोमा निर्यातमा विभिन्न नियम लगाउँदा सो पनि कम हुँदै गएको बताउनुभयो ।