• १३ साउन २०८१, आइतबार

बीरे झर्नामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

blog

बीरे झर्नामा रमाउँदै आन्तरिक पर्यटक । तस्विर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, साउन ७ गते । बाजुराको बीरे झर्नामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लामा बढेको गर्मीबाट छल्न यहाँका स्थानीय यतीबेला बीरे झर्नामा पुगेसँगै आन्तिरक पर्यटकको आकर्षण बढ्दै गएको हो ।

जिल्ला सदरमुकाम मार्तडी जाने बाटोेमै पर्ने यो बीरे झर्ना साँफे मार्तडी राजमार्गको नजिक रहेकोले पनि आन्तरिक पर्यटक आउने सङ्ख्या बढ्न थालेको स्थानीय बताउँछन् । जिल्लाको बडिमालिका नगरपालिकाले यो झर्नाको संरक्षण तथा प्रवर्द्धन गर्ने कामलाई प्राथमिकता दिँदै जाने हो भने आन्तरिक मात्र नभई बाह्य पर्यटकको सङ्ख्या बढ्दै जाने बडिमालिका नगरपालिका वडा नं ८ राप्काका स्थानीय व्यापारी दल थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि जिल्लामा आउने अधिकाशंले बाटोमा गाडी रोकेर फोटा लिने र एकछिन रमाउने गरेको बताउनुभयो । यो झर्नालाई व्यवस्थित गरी यहाँ विभिन्न शौचालय तथा नुहाउने बस्ने भवन निर्माण गर्ने हो भने दैनिक दुईदेखि तीन सयसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्रिन सक्ने थापाले बताउनुभयो ।

झण्डै दुई सय मिटर लम्बाइ रहेको यो झर्ना जिल्लाको साँफे मार्तडी लोगमार्ग अन्तर्गत पर्ने राप्का सडकमै पर्छ । बडिमालिका नगरपालिका वडा नं ८ बीरबहादुर थापाले बीरे झर्नामा जाने गोरेटो बाटो तथा पुल लगायतका भौतिक पूर्वाधारको विकास भएपछि यो झर्ना हेर्नका लागि हजारौँ पर्यटकको भीडभाड हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बडिमालिका, बूढीनन्दा, कालाजार्गा, खप्तड, छेडेदह, बडालेखलगायत यहाँका धार्मिक स्थलले आन्तरिक तथा बाह्य पर्यटकलाई निकै लोभ्याउने गरेका छन्।” यसैको एक प्रकृतिक उपहारको रुपमा लिन सकिने बीरे पनि एक हो । यो झर्ना पनि पछिल्लो समय यहाँका स्थानीयको निकै रोजाइमा पर्ने गरेको बताउनुभयो ।

प्राकृतिक सौन्दर्यले भरिभराउ यो झर्नाले यती बेला जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको छ । जिल्लामा आगन्तुक पाहुनालाई मनमोहक पार्दै आएको यो झर्ना बाह्य पर्यटकको लागि पनि त्यत्तिकै आकर्षणको केन्द्रबिन्दु बन्दै गएको थापाले बताउनुभयो । यसलाई थप संरक्षण र संवर्धनमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले चासो देखाउनुपर्ने हो यो देखिएको छैन । यो झर्नालाई राम्रोसँग व्यवस्थित गर्ने हो भने यहाँका अधिकांश बेरोजगार युवाले घरमै जागिर पाउने सम्भावना रहेको थापाले बताउनुभयो । 

पछिल्लो सयममा बडिमालिका नगरपालिकाकाले केही मात्रामा संरक्षण र प्रवर्द्धन कार्यको सुरुवात गरेको छ । नगरपालिकाले यो काम सुरु गरेसँगै अहिले यसमा रमाउनेको पनि घुइँचो लाग्ने गरेको व्यापारी दलबहादुर थापाले बताउनुभयो ।

सदरमुकाम मार्तडीबाट झण्डै ६ किलोमिटर हिँडेपछि सहजै पुग्न सकिने यो झर्नाको लम्बाइ झण्डै दुई सय मिटरभन्दा बढी छ । यसअघि कही कतैबाट संरक्षण र प्रवर्धनमा पहलकदमी हुन नसकेपछि यो झर्ना लामो समयदेखि संरक्षणको पर्खाइमा रहँदै आएको थियो । प्राकृतिक उपहारको रुपमा रहेकोे यो झर्नालाई यहाँका स्थानीयहरुले समयमै संरक्षण र प्रवर्द्धन गर्न सकियो भने अझै यसले जिल्लाको अर्कै उपमा दिन सक्ने स्थानीयले बताउँछन् । 

प्राकृतिक अनुपमकै कारण पर्यटकहरुको मनमोहक जित्न सफल भएको यो झर्नाले अर्थतन्त्रमा पनि उत्तिकै टेवा पुग्न सक्ने सम्भावना देखिन्छ । बडिमालिका नगरपालिका ८ राप्काका स्थानीय व्यापारी दलबहादुर थापाले समयमै यसको संरक्षण र प्रवर्धन गर्न सकियो भने यसलाई हेर्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकबाट मनग्य आम्दानी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक सौन्दर्यले सम्पन्न यो झर्ना जिल्लाकै एक पर्यटकीय स्थलको रुपमा चिनिने गर्दछ । जिल्लामा आउने जो कोहीले यसको महिमा गाउने गरेको छ  तरपनि यसको संरक्षण भने राम्रोसँग हुन सकेको छैन ।”

जिल्लावासीकै स्रोत र सम्पतीका रुपमा रहेको यो झर्नाको अस्तित्व नै सङ्कट पर्न गएकोले यसको संरक्षण तथा प्रवर्धन नगरपालिकाले मात्र सम्भव नभएकोले प्रदेश र सङ्घीय सरकारको पनि ध्यान जान जरुरी रहेको नगरपालिकाले जनाएको छ । 

बडिमालिका नगरपालिकाको ६ र ८ नं. वडामा पर्ने यो झर्नाको जति महिमा आर्कषण छ त्यती स्थानीय प्रदेश तथा सङ्घीय सरकारले महत्व र स्थान दिन सकियो भने यहाँका अधिकांश स्थानीयको रोजगारीको अवसर दिन सक्ने बडिमालिका नगरपालिका प्रमुख अम्मर खड्काले बताउनुभयो । उहाँले यतीबेला पर्यटन बोर्डमा नै यसको संरक्षण तथा प्रवर्धनका लागि समन्वय गर्ने गरी कुरा अगाडि बढाएको छ । स्थानीय सरकारले गर्नसक्ने काम स्थानीय सरकारले गर्ने र बाँकी प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्दै यसको प्रवर्धन गर्ने योजना रहेको बताउनुभयो ।

तत्काल यो झर्ना वरपरमा होमस्टे तथा खाजाघर निर्माण गर्ने र राष्ट्रिय युवा उद्यमशीलता गोरेटो बाटो पुल निर्माण लगायतका विषयमा डिपीआर गर्ने योजना रहेको प्रमुख खड्काले बताउनुभयो । यो बीरे खोला झर्ना नगरपालिकाको एक आयस्रोत भएकोले अहिले पनि यो झर्ना वरपरमा सञ्चालन गर्दै आएका केही पसलहरुले २५ प्रतिशत रकम नगरपालिकालाई दिने गरेको बडिमालिका नगरपालिकाले जनाएको छ ।