• १२ साउन २०८१, शनिबार

खजुरालाई नगरपालिका बनाउने योजनामा छौँ

blog

भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछ। भारतीय सीमानजिक रहेको यो पालिकामा पूर्वसैनिकहरूको ठुलो बस्ती छ । खजुरा बाँकेको व्यवस्थित बसोबास भएको र पुरानो बजार पनि हो। साबिकका  बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर र रनियापुर गाउँ विकास समितिलाई समेटेर आठ वटा वडा कायम गरी यो गाउँपालिका बनेको हो। खजुरा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट डम्बरबहादुर विक गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो। खजुराको विकास निर्माणलगायतका विषयमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकसँग गोरखापत्रकर्मी गोविन्द शर्माले गर्नुभएको कुराकानीको सारसङ्क्षेपः

 

आफ्नो एकवर्षे कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

पहिलो कुरा एकवर्षे कार्यकाल अनुभव र शिक्षामूलक नै रह्यो। कसरी सरकार सञ्चालन गर्ने र कसरी कार्यक्रम सञ्चालन गर्ने, कहाँ कहाँ अप्ठेरा हुँदा रहेछन्, समस्यालाई कसरी हल गर्ने भन्ने कुरा सिकाइको वर्ष जस्तो भयो। चुनौतीपूर्ण पनि भयो। सिकाइ उपलब्धिका रूपमा यो एक वर्ष बितेको छ। एक वर्षको समयलाई महìवपूर्ण पहिलो वर्षका रूपमा लिँदै आगामी योजना तय गर्ने अवस्थामा आइपुगेका छाैँ।  

एक वर्षको अवधिमा के कस्ता कार्यक्रम सुरु गर्नुभएको छ ? 

सबैको आँखा पर्ने भनेको भौतिक पूर्वाधार नै हो। प्रशासनिक भवन, शीत भण्डार, सभागृह, अस्पताललगायतका केही भौतिक पूर्वाधार निर्माणाधीन अवस्थामा छन्। तिनलाई हाम्रो कार्यकालमा जसरी पनि सम्पन्न गर्नुपर्ने छ। देखिने पूर्वाधारका काम चाहिँ अगाडि बढेका छन्। प्रशासनिक भवनले गति लिन नसके पनि ढिलो गरी काम अघि बढेको छ। सभा हल अन्तिम चरणमा छ। शीत भण्डार करिब सम्पन्न हुने अवस्थामा छ। अर्को कुरा हामी आइसकेपछि केही योजना पनि थपेका छौँ। लक्ष्य भनेको खजुरालाई नगरपालिकामा सबै कुराको स्तरोन्नति गर्ने नै हो। त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिइरहेका छौँ । मनोरञ्जनका लागि पार्क आवश्यक पर्ने भएकाले सहिद पार्कको डिपिआर तयार गरी बजेट विनियोजन गरेका छौँ। यसै गरी खजुरामा बसपार्क निर्माणको प्रक्रिया सुरु गरेका छौँ। यसै गरी वडा नम्बर ८ मा रहेको बधुवा ताललाई जलाशययुक्त बनाउने योजना छ। 

जसरी  पानीका ताल तलैया पुरिने र पानीका स्रोत सुक्ने समस्या देखिएको छ। अर्को फोहोर व्यवस्थापन गर्नुपर्ने छ। निजी क्षेत्रसँग साझेदारी गरेर फोहोरलाई मोहरमा बदल्ने गरी काम अघि बढाउँदै छौँ। विद्युत्को सबस्टेसन र फोरलेन सडक बनेपछि खजुरा नगरपालिका बन्ने निश्चित छ। त्यसै गरी प्रत्येक घरमा खानेपानी पु¥याउने योजनासहित अघि बढाएका छौँ। स्वास्थ्यमा हामीले प्रत्येक नागरिकको पहुँच पुग्नु पर्छ भनेर काममा लागिरहेका छौँ। त्यसका लागि ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रमसहित घर घरमा पुगेका छौँ। यसै गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकसँग स्वास्थ्य सेवा पु¥याइरहेका छौँ। परम्परागत कृषिलाई व्यावसायिक कृषिमा बदल्न सकिन्छ भन्ने विश्वास छ। पशुपालनतर्फ घाँसमा आत्मनिर्भर बनाउन किसान समूह बनाएका छौँ। पशुमा देखिएको रोग नियन्त्रणका लागि २२ जनाको टोली परिचालन गरिएको छ। फूल खेती, तरकारी खेतीका लागि सहयोग गरेका छौँ। शिक्षामा प्रधानाध्यापकको मिलान गरेका छौँ। सबै विद्यालयमा तहगत प्रअको व्यवस्थापन गरिएको छ। यसै गरी लोक सेवा तयारी कक्षा सञ्चालन र लुम्बिनी प्राविधिक विश्वविद्यालयमा दुई जना जेहेनदार विद्यार्थीलाई अध्ययनको व्यवस्था गर्दै छौँ। विश्वविद्यालय छिटो सञ्चालनका लागि स्थानीयस्तरमा आवश्यक सहजीकरण गरेका छौँ। अब छिट्टै कक्षा सञ्चालन पनि हुने छ। यी सबै काम गरेर आत्मनिर्भर, समृद्ध खजुरा आफैँ बनाउन सक्छौँ भन्ने लागेको छ। 

ठुला आयोजना निर्माणमा कसरी सहजीकरण गरिरहनुभएको छ ? 

खजुरा बजारमा फोरलेन सडक (एक हजार ८००) मिटर बनाउने काममा धेरै समय बितेको छ। अब सडक डिभिजनले ठेक्का तोडेर हुलाकी सडक अन्तर्गत निर्माण गर्नु पर्छ। बजारको सडक पनि फराकिलो बनाउनु पर्छ। छिटो निर्माण अघि बढाउन हामीले सम्बन्धित निकायलाई घचघच्याउने काम गरिरहेका छौँ। परस्पुर–गौघाट सडकलाई केन्द्र सरकारले ठेक्का लगाए पनि काममा ढिलाइ भएको छ। यो सडक पनि छिटो द्रुतगतिमा बन्नु पर्दछ। केन्द्र र प्रदेशका योजना भए पनि ढिलाइ हुँदा जनतालाई सास्ती भएकाले हामी अग्रसर हुनुपर्ने भएको छ। हामीले निरन्तर समन्वय र सहकार्य पनि गरेका छौँ, प्रभावकारी भूमिका निर्वाह पनि गरेका छौँ।

पालिकाबाट योजना बनाउँदा घोषणापत्रलाई कत्तिको महत्व दिनुभएको छ ? 

घोषणापत्रका आधारमा नै काम अघि बढेको छ। कृषि प्राधिकरण बनाउनेबाहेक अन्य सबै बजेटमा समेटिएको छ। हामीले निर्वाचनमा गरेको वाचा पूरा गर्ने गरी पाँच वर्षमा धेरै काम गर्न सक्ने छौँ भन्ने लागेको छ। यसमा खजुरावासीको साथ र सहयोग दिनुहुने छ भन्ने आशा राखेका छौँ।