• १३ साउन २०८१, आइतबार

लोकल आलुलाई ब्राण्डिङ् गर्न सुरु

blog

रमेश विश्वकर्मा/तिलाचन पाण्डे

गुल्मी, साउन ७ गते । गुल्मीमा स्थानीय जातको आलुलाई ब्राण्डिङ् गर्न सुरु गरिएको छ । जिल्लाको पश्चिम क्षेत्र मालिका गाउँपालिकामा परम्परागत रूपमा उत्पादन हुँदै आएको स्थानीय जातको  रैथाने आलुलाई बजारीकरण गर्न आलु ब्राण्डिङ्, लेबलिङ् र प्याकेजिङ् गरी बजारमा ल्याइएको हो ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई उचित मूल्य प्रदान गर्न आयातित संस्कार र परिकारको साटो आर्गानिक परिकारलाई प्राथमिकता दिन रैथाने आलुलाई बजारमा ल्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्खाबाङ् लगायतका क्षेत्रमा उत्पादन हुँदै आएको रैथाने आलुको प्रचारप्रसार गरी बजारीकरण गर्न गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीले आलु ब्राण्डिङ्, लेबलिङ् र प्याकेजिङ् गरी बजारमा ल्याइएको हो ।

अर्खबाङ् क्षेत्र आलु उत्पादनको लागि जिल्लाकै प्रसिद्ध मानिन्छ । उपयुक्त हावापानी हुँदा थोरै मेहनतमा यहाँका कृषकले मनग्य आम्दानी गरिरहेका छन्। यस क्षेत्रको आलु अर्गानिक भएकाले खानामा स्वादिष्ट र पोसिलो मानिन्छ । स्थानीयले वषौंदेखि बारीमा आलुको बीउ बिना नै परम्परादेखि आलुखेती गर्दै आइरहेका छन् । यसबाट गाउँका कृषकले बजार पाउने र सहरका उपभोक्ताले गुणस्तर पाउनेछन्।

ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने आलुलाई ५ केजी, १० केजी र २० केजीका बोरामा प्याकेज गरेर तम्घास, बुटवल लगायतका ठुला बजार क्षेत्रमा पुर्‍याउने तयारी भइरहेको मालिका गाउँपालिकाका अध्यक्ष  देवीराम अर्यालले जानकारी दिनुभयो ।

मालिकाको रैथाने सेतो आलु एक वर्ष लगाएपछि बसौँ लगाउन नपर्ने र पटक पटक यसले उत्पादन दिई रहने यहाँको आलुको विशेषता नै हो । यस वर्ष करिब ६६० रोपनी आलु पकेट क्षेत्रमा ३ सय टनभन्दा धेरै आलु फलेको छ । कृषकले उत्पादन गर्दै आलुलाई स्थानीय पहिचान गरी गाउँपालिकाले अब दीर्घकालीन योजना बनाएर आलुखेती र बजारीकरणमा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले बताउनुभयो ।

गाउँपालिकाले आलु खतीमा राम्रो सम्भावना देखेपछि यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी विभिन्न किसिमका कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताउनुभयो । आलुले बजार र कृषकले परिश्रमको उचित मूल्य पाउने भएपछि आफूहरूमा केही आशा थपिएको कृषक देव अर्यालले बताउनुभयो ।