• १४ पुस २०८१, आइतबार

आकर्षण व्यवस्थापनमा

blog

व्यवस्थापन विषय अन्तर्गत संस्थाको व्यवस्थापन, व्यक्तिगत व्यवस्थापन, मानवस्रोत व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायतका व्यवस्थापन पर्छ । कुनै पनि संस्था सञ्चालन गर्नका लागि गर्नुपर्ने विभिन्न व्यवस्थापन यस विषयभित्र पर्दछन् । व्यवस्थापन विषयलाई पहिले वाणिज्यशास्त्र भनिन्थ्यो । नेपालमा त्रिचन्द्र कलेजको स्थापनापछि व्यवस्थापन विषयको पठनपाठन भित्रिएको हो । २०११ सालबाट त्रिचन्द्र कलेजमा वाणिज्य विषयमा पठनपाठन थालियो । त्यो बेला यो विषयलाई अगाडि बढाउनका लागि ईश्वरीलाल श्रेष्ठ, गोपालमान श्रेष्ठ, नरबहादुर थापा, रामप्रसाद राजवहाक, खेलेन्द्रप्रसाद पाण्डेलगायतका शिक्षकको भूमिका प्रमुख छ । त्रिभुवन विश्वविद्यालयको स्थापनापछि यसको विस्तार हुन थाल्यो । कक्षा ११ देखि नै यो विषयको पठनपाठन हुँदै आएको छ । विगतमा वाणिज्यअन्तर्गत लेखालाई मात्र बुझ्ने गरिन्थ्यो भने अहिले यसका क्षेत्र र विधा धेरै छन् । 

मुलुकको विकास सबैभन्दा पहिला विज्ञान तथा प्रविधिको विकासबाटै गर्नुपर्छ । विज्ञान तथा प्रविधिले अनुन्धान र सिपको विकास गर्छ । नेपालमा विज्ञान तथा प्रविधिसम्बन्धी शिक्षाको त्यति विकास हुन सकेको छैन । विज्ञान र प्रविधिको शिक्षा विकास गर्न लगानी बढी चाहिन्छ । प्रयोगशाला, भौतिक पूर्वाधार, शिक्षकलगायतको व्यवस्थापन खर्चिलो पनि हुन्छ । लगानी नगरी विज्ञान तथा प्रविधिमा फड्को मार्न पनि सकिन्न । 

विज्ञानपछि रुचिको विषय व्यवस्थापन नै हो । अबको शिक्षा भनेको सिपमूलक र बजारमा आधारित हुनुपर्छ । हुँदै गएको पनि छ । बजारसँग जोडिने खालको शिक्षा अनिवार्य छ । व्यवस्थापन शिक्षा बजारसँग जोडिएको हुन्छ । रोजगारीसँग जोडिएको हुन्छ । यसको बजार निकै विस्तृत छ । विज्ञान अध्ययनपछि त्यही विषयमा मात्र सीमित रहने अवस्था हुन्छ । जब कि व्यवस्थापन अध्ययनपछि यसको बजार हरेक क्षेत्रमा छ । शिक्षा, स्वास्थ्य, सेवा, इन्जिनियरिङ, उद्योग, कारखाना सबै क्षेत्रमा यसको बजार विस्तार छ । महŒव छ । व्यवस्थापन विषयमा लेखा, संस्थागत व्यवहार, मानव व्यवहार, मानव मनोविज्ञानलगायत अध्यापन गरिन्छ । 

कुनै संस्थामा काम गर्दा विद्यार्थीले अध्ययन गरेको विषयमा मात्र ज्ञान भएर पुग्दैन । सेवाग्राही वा कर्मचारी वा अन्यसँग कसरी वार्ता गर्ने भन्ने कुरा सबैभन्दा बढी चुनौती हुन्छ । किनकि मानवको स्वभाव फरक फरक हुन्छ । सकारात्मक सोच भएकासँग कुराकानी गर्न अति सजिलो हुन्छ तर नकारात्मक सोच भएकासँग समस्या समाधान गर्न कठिन हुन्छ । त्यसैले व्यवस्थापन विषय अध्ययन गरेकाहरूसँग हरेक व्यक्तिसँग कुराकानी, वार्ता, समस्या समाधान गर्ने क्षमता र खुबी हुने भएकाले व्यवस्थापन विषय प्रख्यात भएको हो । यसको क्षेत्र व्यापक छ । एउटा निश्चित विषयको ज्ञान मात्र दिइँदैन, विभिन्न ज्ञान दिइएको हुन्छ । संस्था सञ्चालन गर्न सबैभन्दा पहिले कोष आवश्यक पर्दछ । त्यसका लागि वाणिज्य व्यवस्थापन पढाइन्छ । लेखा पढाइन्छ । मानवसँग व्यवहार गर्ने विषय पढाइन्छ । गणित पनि हुन्छ । अर्थशास्त्र पनि पढ्नुपर्छ । मनोविज्ञान पनि पढ्नुपर्छ । लेखा पनि पढ्नुपर्छ । सूचना प्रविधि पनि पढ्नुपर्छ । सबै खालका ज्ञान दिइन्छ । समाजमा बाँच्न चाहिने ज्ञान व्यवस्थापन विषयमा उपलब्ध हुन्छ । अन्य विषयमा साधारण विषय मात्र समावेश हुँदा सबै क्षेत्रको ज्ञान पुग्न सक्दैन । त्यसैले एक अर्का विषयबिचको अन्तरजोडाइ हुने विषय व्यवस्थापनमा समेटिएको हुन्छ । यसले बजारलाई चाहिने गुणस्तरीय मानव स्रोत उपलब्ध गराउन सक्षम भएको छ । 

कक्षा १२ सम्म सक्नेले विज्ञान पढ्दा खराब हुँदैन । यसको फाइदा गणित र अङ्ग्रेजीमा विद्यार्थी राम्रो हुन्छन् । विज्ञान पढ्न धेरै मेहनत गर्नुपर्ने हुँदा पढ्ने बानी बस्छ । कक्षा १२ पछि व्यवस्थापन विषयमा विज्ञानका विद्यार्थीलाई पनि लिइन्छन् । विज्ञान पढ्दा विभिन्न विषयको आधारभूत ज्ञान बढी हुन्छ । त्यसैले पहिले विज्ञान विषय लिएर स्नातक तहमा व्यवस्थापन विषय लिँदा पनि कुनै समस्या हुँदैन । त्यस्ता विद्यार्थीले अध्ययन गर्न सक्छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विषयगत निकै कम ग्रेड वा जिपिए प्राप्त गरेकाहरू भर्ना नभएको राम्रो । किनकि यसमा गणित, अर्थशास्त्र, सूचना प्रविधिलगायतका विषय अध्ययन गर्नुपर्ने हुन्छ । मध्यमस्तरका विद्यार्थीले व्यवस्थापन विषय अध्ययन गर्न सक्छन् । विज्ञान अध्ययन गर्न नचाहने अब्बल विद्यार्थीको रोजाइ व्यवस्थापन विषय हुनुपर्छ । बन्नुपर्छ । त्यस्ता अब्बल विद्यार्थीले यसमा राम्रो दक्खल प्राप्त गर्न सक्छन् । 

विज्ञान वा मानविकी वा शिक्षाशास्त्र वा अन्य विषय अध्ययन गरेमा जुन विषय अध्ययन गरेको छ त्यसमा काम गर्नेबाहेक अन्यमा रोजगारी पाउन कठिन हुन्छ तर व्यवस्थापन विषय अध्ययन गरेमा स्वास्थ्य, इन्जिनियरिङ, सेवा, शिक्षण, औद्योगिक प्रतिष्ठानलगायतका क्षेत्रमा रोजगारीको अवसर पर्याप्त रहन्छ । पछिल्लो समयमा इन्जिनियर, चिकित्सक, प्रशासक आदिले स्नातकोत्तर तहमा व्यवस्थापन लिने व्रmम बढ्दै गएको छ । प्राविधिक ज्ञान आफू कार्यरत पेसाबाट प्राप्त हुन्छ तर सङ्गठनका बारेमा व्यवस्थापन विषयको अध्ययनबाट ज्ञान आर्जन हुन सक्छ । यस्तो हुँदा झनै राम्रो हुन्छ । नेपाल खुला विश्वविद्यालयका विद्यार्थी प्रायः कामकाजी छन् । यस विश्वविद्यालयको एमबिएमा ६० प्रतिशतभन्दा बढी विद्यार्थी इन्जिनियर छन् । चिकित्सक पनि छन् । फार्मेसिस्ट छन् । निजामती कर्मचारी पनि छन् । विभिन्न संस्थाका प्रमुख वा नेतृत्वकर्ता पनि छन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि छन् । समग्र प्रशासनिक ज्ञान व्यवस्थापन विषयबाट हुन सक्ने भएरै उहाँहरूले यस विषयमा भर्ना भएर अध्ययन गरिरहनुभएको हो । व्यवस्थापन अध्ययन गरेका व्यक्ति प्रशासनमा रहँदा त्यहाँ काम गर्न सहज भएको देखिएको छ । नेतृत्वकर्ताको क्षमता बढेको छ । चुनौती वा समस्या समाधान गर्न सक्ने क्षमता देखिएको छ । 


व्यवस्थापन विषयका प्राध्यापक डा. वज्राचार्य हाल नेपाल खुला विश्वविद्यालयका उपकुलपति हुनुहुन्छ ।

  

Author

प्राडा शिलु मानन्धर वज्राचार्य