• १३ साउन २०८१, आइतबार

बोरामै उम्रियो बेसारको बीउ

blog

वितरण हुन नसकेपछि बोरामै उम्रिएको बेसारको बिउ । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, साउन ६ गते । 
पाँचथरको कुम्मायक गाउँपालिकामा किसानलाई वितरण गर्न भनेर खरिद गरिएको बेसारको बीउ बोरामै उम्रिएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रममार्फत किसानको आम्दानी बढाउने भन्दै बेसारको बिउ खरिद गरेको थियो । खरिद गरेको बेसारको बिउ वितरण नगरेका कारण बोरामै उम्रिएको हो ।

पालिकाले किसानलाई वितरण गर्न भन्दै १२० मन बेसार खरिद गरेको थियो । यत्तिको बेसार किन्न तीन लाख ४० हजार ४० रुपियाँमा खर्च भएको गाउँपालिकाले जनाएको छ ।

बेसारको केही बिउ राखिएका बोरा कुम्मायक—३ को हात्तिपोखरीस्थित स्थानीयको बारीमा र केही कुम्मायक–५ को निगाले सहकारी संस्थाको भवनमा अलपत्र छोडिएका छन् ।

गाउँपालिकाले किसानलाई वितरण गर्नुपर्ने बेसार अलपत्र अवस्थामा फाल्नु गलत भएको कुम्मायक–३ किसानको प्रतिक्रिया छ । कुम्मायक–१ का मदन लावतीले पालिकाको बजेट खर्चेर किनेको बिउ किसानलाई वितरण नगरी फ्याँक्नु गलत भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जथाभाबी बेसारको बोरा फ्याँक्नु गलत हो बेलैमा किसानलाई वितरण गर्नु पर्थ्यो ।’’ किसानहरूका अनुसार बेसारको बिउ चैत वैशाख महिनामा रोपिसक्नुपर्छ ।

समयमै किनेर पनि वितरण नगर्दा लाखौँ मूल्यको बिउ खेर गएको हो ।

गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का नि:शुल्क दिने भनिएको बिउ लिन किसान स्वयम नआएकाले यस्तो भएको दाबी गर्नुहुन्छ । कुम्मायक गाउँपालिकाले मसला बाली पकेट कार्यक्रमअन्तर्गत बेसार उत्पादन गर्न लागेको थियो । कृषि शाखामार्फत बेसारको बिउ वितरण गर्न सूचना जारी भएको थियो ।

सूचना भए बमोजिम किसानले बेसारको बिउ निःशुल्क पाउने आशामा माग गरेका थिए केही प्रतिशत साझेदारी गर्नुपर्छ भन्ने भ्रम फैलिएपछि किसान स्वयमले बिउ लिन नमानेको कृषि शाखा प्रमुख सविन खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले सूचना सही गरेका थियौँ । तर किसानले त्यो सूचना गलत बुझेर  किसानले लगेनन् ।’’