• ७ जेठ २०८१, सोमबार

दुर्गम भेगमा फोन नलाग्दा सञ्चारमा समस्या

blog

सेरावाडा घरभित्र मोवाइलमा टावर नपुग्ने भएपछि कल आउने प्रतीक्षामा राखिएको मोवाइल । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, साउन ६ गते । कर्णाली प्रदेशका दुर्गम गाउँमा अझ पनि फोन सेवा बिस्तार हुन सकेको छैन । खोला खोल्सामा बसोबास गर्ने नागरिकले आफन्तको खबर बुझ्न अग्ला डाँडा चढ्नुपर्छ । कोहीले घरबाहिर मोबाइल राखेर सन्देशको प्रतीक्षा गर्छन् । 

जिल्लाको खाँडाचक्र नगरपालिका –८ को सेरावाडा बजारका नागरिक अहिले पनि खबर पाउन मोबाइल सेट घरको छत (पाखा) मा राख्नेगरेका छन् । कर्णाली राजमार्गकै सेरावाडा बजार सुरु भएको १९ वर्ष पुगेको छ । 

दुई दशकसम्म पनि यहाँ फोन सेवा बिस्तार हुन सकेको छैन । हुन त खाँडाचक्र नगरपालिका –८ हो । तर मोबाइल, तथा फोन सेवासम्म सहजरुपमा सुचारु नहुँदा नागरिक समस्यामा छन् ।

जिल्ला बाहिर रहेका बजारभन्दा माथि गाउँमा गएका आफन्त कुनै खबर पुगाउन परेको खण्डमा मोबाइल फोन समातेर टावर खोज्नुपर्छ भने म्यासेजको प्रतीक्षा गरिरहेकाहरूले फोन घरभन्दा बाहिर राख्ने गर्छन् । सेरावाडाका खगेन्द्र मल्लले फोन तथा म्यासेजको प्रतीक्षामा बाहिर छतमा राखिएका मोबाइल कहिले पानी पर्दा भिज्नेगरेको बताउनुभयो । 

याद हुँदैन, पानी पर्छ भिजेर धेरैका मोबाइल काम नलाग्ने भएपछि पछिल्लो समय सामान्य मोबाइल सेटमा सिम राखेर खबर आदान प्रदान गर्ने गरेको उहाँको भनाइ छ ।  

नगरको सेरावाडा, बिर्तामोड, हुल्मबजारसँगै तिलागुफा नगरपालिकाको केन्द्र रहेको गाल्जेबजार, टाकुल्ला बजार, वाली बजार, खल्ला बजार, धनडा, भिग्म र नाग्म बजारमा पनि मोबाइल फोनले काम गरेको छैन । तिला नदी किनारका बजार फोनबाट वञ्चित छ । 

नगरपालिका भित्रका अधिकांश बस्तीमा अझै पनि टेलिफोन सेवा सञ्चालन हुन सकेको छैन । नगरपालिका हुनका लागि खानेपानी सञ्चार, सडकलगायतका पूर्वाधार अनिवार्य हुनुपर्ने मापदण्ड छ । कालीकोटका नगरपालिका भित्रै फोन, खानेपानी, सडक छैनन् ।