• ९ जेठ २०८१, बुधबार

सय रुपियाँ बढीको सामानमा भन्सार

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन ५ गते । एक सय रुपियाँभन्दा बढी मूल्यको वस्तु भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याएमा अनिवार्य रुपमा भन्सार तिर्नुपर्ने नियमलाई नेपालको पूर्वी नाका काँकडभिट्टामा कडाईकासाथ पालना गरिने भएको छ । शनिबार भन्सार कार्यालय तथा सरोकारवालाहरुबीच भएको सर्वपक्षिय छलफलमा सहभागिहरुले यसलाई पालना गर्ने साझा प्रतिबद्धता जनाएका हुन् ।

भारतबाट नेपाल ल्याएको सामान बाहिर भेटिएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारबाही हुने जानकारी दिइएको छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेलले राज्यले ल्याएको नीति नियम मान्दिन भन्ने कसैलाई अधिकार नभएकाले यसको कार्यन्वयन गर्न सबैको तत्परता आवश्यक भएको जनाउनुभयो ।

यसअघि दैनिक रुपमा घरमा प्रयोग हुने अत्यआवश्यकीय खाद्य बस्तुहरु ल्याउँदा भन्सार अनिवार्य रहेको थिएन । स्थानीयहरुले भारतबाट सहज रुपमा आफूलाई प्रयोग गर्ने सामग्री ल्याउँदै आएका थिए । साउन १ गतेदेखि भने अब अनिवार्य रुपमा भन्सार गर्नु पर्ने अवस्था आएको छ ।

“एक सयभन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचना गरिसकेका छौं,” मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भन्नुभयो । 

भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउँदा स्वदेशी बजारमा यसको नकारत्मक असर परेको र राजश्व लक्ष्यसमेत पुरा नभएको जनाउँदै यसमा सहयोग गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो ।

प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकाका पूर्व प्रमुख विमल आचार्य, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख दिपक भारती, सशस्त्र प्रहरी बल भन्सार राजश्व आउट 

पोष्टका प्रमुख निर्मल थापा लगायतको उपस्थितिमा भएको सर्वपक्षिय छलफलमा स्थानीय राजनीतिक दलका नेताहरुले आफुहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।