• ९ जेठ २०८१, बुधबार

कोशी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्याे

blog

सङ्क्रमित बढ्न थालेसँगै जिल्ला अस्पताल धनकुटामा परीक्षण गराउँदै बिरामी ।

कविराज घिमिरे 

हिले, साउन ५ गते । कोशी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दो छ । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार डेङ्गुका बिरामीको सङ्ख्या कोशी प्रदेशमा दिन प्रतिदिन बढिरहेको छ । 

यो वर्ष अहिलेसम्म कोशी प्रदेशमा तीन सय ५७ जनामा डेङ्गु देखिसकेको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार साउनको पहिलो सातासम्म तीन सय ५७ जना सङ्क्रमित फेला परेका हुन् । यो तथ्याङ्क अघिल्लो वर्षको तुलानमा निक्कै उच्च हो । 

अघिल्लो वर्ष यो अवधिमा जम्मा ४२ जना मात्रै सङ्क्रमित फेलापरेको कार्यलयको स्वास्थ्य अधिकृत विवेचना चौलागाईं बताउनुहुन्छ । यो अघिल्लो पटकको भन्दा निक्कै उच्च हो, अघिल्लो वर्ष यो अवधिमा निक्कै कम थियो तर यो वर्ष उच्च रहको उहाँ बताउनुहुन्छ । स्वास्थ्य निर्देशनालय धनकुटाले विभिन्न सचेतना कार्यक्रमसहित परीक्षणको लागि किट व्यवस्थापन लगायतका कार्य गरिरहेको उहाँ बताउनुहुन्छ ।

अहिलेसम्म कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । बिहिबारसम्मको तथ्याङ्क अनुसार सुनसरीमा दुई सय ४२ जनामा देखिएको छ । यसमध्ये पनि सुनसरीको धरान उपमहानगरपालिकामा अत्यधिक छ । त्यस्तै, सङ्खुवासभामा ३०, मोरङमा २५, झपामा २४, तेह्रथुममा १५ सङ्क्रमित फेला परेका छन् । 

त्यस्तै, धनकुटामा ८, भोजपुरमा ५, खोटाङमा ४, इलाममा २ तथा ओखलढुङ्गा र ताप्लेजुङमा एक एक सङ्क्रमित फेला परेका छन् । अहिलेसम्म कोशी प्रदेशमा पाँचथर, उदयपुर र सोलुखुम्बुमा सङ्क्रमित फेला नपरेको कार्यलयले जनाएको छ । 

विगतका वर्षहरुमा डेङ्गुको सङ्क्रमण खास गरी तराइका जिल्लामा बढी मात्रामा फैलिने गरेको पाइन्थ्यो । पहाडी र हिमाली जिल्लाहरु तुलनात्मक रुपमा तराईका जिल्लाभन्दा सुरक्षित हुने गरेका थिए । तर गत वर्षबाट भने नतिजा फरक देखिन थालेको छ । तराईका जिल्लासँगै पहाडी र हिमाली जिल्ला समेत यसको प्रकोप फैलन थालेको छ । वर्खाको समयमा पानीको कारण यसको प्रकोप बढ्ने गरेको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत बताउनुहुन्छ । 

वर्खामा पानी जताततै जम्ने भएकाले लामखुट्टे बढ्नेसँगै यो रोगको प्रकोप समेत बढ्छ उहाँ भन्नुहुन्छ । सर्वसाधारण सचेत नभएसम्म यो रोगको प्रकोप कम नहुने उहाँको बुझाइ छ। त्यसो त यो नियन्त्रणको लागि कार्यलयले कुनै रणनैतिक योजना बनाएको छैन । जिल्ला र स्थानीय तहसँग समन्वय गरि बुझ्ने, परीक्षाको लागि आवश्यक पर्ने किट वितरण र सचेतना बाहेकका अन्य कार्यक्रम कार्यालयले गरेको छैन । “धरानमा बढी फैलिएको छ दैनिक ५० भन्दामाथि सङ्क्रमित फेला पर्न थालेका छन् हामी धरानमा कसरी अघि बढ्ने भन्ने बारेमा कार्यक्रम पनि आयोजना गर्दैछौं र पहिले धरान केन्द्रित हुन्छौं,” बस्नेतले भन्नुभयो । 

जिउ दुख्ने, कमजोर महसुस हुने, अत्यधिक टाउको, आँखा दुख्ने, वाक्वाकी लाग्ने तथा १०० डिग्रीभन्दा बढी ज्वरो आउनु आदि यसको लक्षण हो । यी लक्षण देखिएमा पारासिटामोला जस्ता सामान्य औषधि घरमै प्रयोग गर्न सकिने र सामान्य औषधि प्रयोग गर्दा निको नभएमा नजिकको अस्पताल जान चिकित्सकको सुझाव छ । 

यो एडिज जातको लाम्खुट्टेको टोकाइबाट मात्र सर्ने सङ्क्रमण हो । डेङ्गु भएको बिरामीलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा यसले सङ्क्रमण सार्ने गर्दछ । लाम्खुट्टेले टोकेको ४ देखि १४ दिनभित्रमा यसको लक्षण देखिन्छ । पहिलो चरणमा सङ्क्रमितले राम्रो उपचार नपाएमा गम्भीर समस्या आउने र बिरामीको मृत्यु पनि हुने जिल्ला अस्पताल धनकुटाका प्रमुख डाक्टर अमिताब ठाकुर बताउनुहुन्छ ।