• १३ साउन २०८१, आइतबार

राप्तीसोनारीमा किसानमैत्री कार्यक्रम प्रभावकारी

blog

राप्तीसोनारीमा गरिएको मकै खेती ।

सिराज खान 

नेपालगञ्ज, साउन ४ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउन सञ्चालन गरेको किसानमैत्री कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका अन्य पालिकाभन्दा कृषिमा बढी बजेट छुट्याएको राप्तीसोनारीले सञ्चालन गरेको विभिन्न प्रकारका किसानमैत्री कार्यक्रम र योजनाले सयौँ किसान लाभान्वित हुन थालेका छन् ।

गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले अधिकांश जनता कृषिमा आश्रित रहेकोले पनि पालिकाले कृषि विकासमा विशेष जोड दिएको जनाउनुभयो । उहाँका अनुसार राप्तीसोनारीले चालु आर्थिक वर्षका लागि १ करोड ८७ लाख र संघमार्फत् प्राप्त ६५ लाख बजेट कृषिकै लागि छुटुयाएर काम गरिरहेको छ । 

पालिकाका अध्यक्ष पौडेलले गाउँपालिकाले हरेक वर्ष पकेट क्षेत्रलाई निरन्तरता दिने र क्षेत्रफल बढाउँदै लैजाने नीति लिएको बताउनुभयो । हरेक पकेट क्षेत्रमा २० हेक्टर क्षेत्रफलमा विभिन्न खेती भइरहेको छ । पालिकाका कृषि शाखा प्रमुख चन्द्रा कुमारी शाहीले कृषि उत्पादन पकेट क्षेत्रका रूपमा वडा नम्बर २ मा मकै पकेट क्षेत्र र वडा नम्बर ७ मा नयाँ धानको पकेट क्षेत्रका रूपमा विकास गर्ने कार्य अघि बढाइएको बताउनुभयो । 

प्रमुख शाहीका अनुसार सङ्घीय सरकारको अनुदानमा गाउँपालिकाले ५० प्रतिशत किसानसँगको साझेदारीमा तीन सय ६० घरधुरीलाई उन्नत धानको बिउँ समेत वितरण गरिसकेको छ । 

यसैगरी, वडा नम्बर ८ को संसेरगन्जलाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरिएको छ यहाँ एकै स्थानमा ठुलो क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ ।

संसेरगन्जमा गाउँपालिकाले ३५ हेक्टर क्षेत्रफलमा तरकारीको ब्लक कार्यक्रम सञ्चालन गरेको छ । सोही प्रकारले बसन्ते मकै उत्पादन कार्यक्रम भनेर वडा नम्बर २ मा ३५ हेक्टर क्षेत्रफलमै किसानहरूले मिलेर मकैको खेती गरेका छन् । बसन्ते मकै उत्पादन कार्यक्रमका लागि पालिकाले १५ लाख बजेट मकै र लगाउँदा आवश्यक पर्ने कृषि औजार, मल, बिउँ इत्यादिका लागी छुट्याइदिएको छ । 

त्यस्तै, वडा नम्बर ६ मा च्याउ पकेट कार्यक्रम गाउँपालिकाको कृषि शाखाले सञ्चालन गरिरहेको छ । किसानसँगको साझेदारीमा १२ कठ्ठा क्षेत्रफलका हिसाबले ५ हजार च्याउका डल्लाका दरले ६ स्थानमा ३० हजार डल्ला च्याउ उत्पादनमा लगाएको कृषि शाखाले जनाएको छ । शाखाका अनुसार तरकारी कार्यक्रमले करिब तीन हजार ५०० किसानलाई समेटेको पालिकाले जनाएको छ । 

सोही प्रकारले फलफूल खेतीका लागि १० लाख बजेट रहेकोमा तीन सय जना किसानलाई उक्त सेवा प्रदान गर्न सकिने शाखाले जनाएको छ । सिक्टा सिँचाइले आयोजनाको पानी वडा नम्बर ३ र ४ का क्षेत्रहरू बाहेक अन्य वडाका क्षेत्रहरूमा पुग्न नसकिरहेको अवस्था छ । 

अधिकांश किसानले भूमिगत सिँचाइको प्रयोग गरी आफ्नो खेती गरिरहेका छन् । गाउँपालिकाका अध्यक्ष पौडेलका अनुसार विभिन्न किसानमैत्री कार्यक्रम र योजना सञ्चालन गरेपछि किसानहरू व्यावसायिक हुँदै गइरहेका छन् । उनीहरूले उत्पादन गरेका तरकारीहरू नजिकको बजारसम्म बिक्री गर्न आफै जाने गरेका छन् ।