• ८ जेठ २०८१, मङ्गलबार

दमक अस्पतालमा पङ्खाकाे व्यवस्था नहुँदा बिरामीको बिजोग

blog

दमक अस्पतालमा चिकित्सकलाई देखाउन समय कुरेर बस्ने क्रममा अस्पतालको पेटीमा एक बालक र वृद्धाहरू । तस्बिर: विष्णु

विष्णुप्रसाद पोखरेल 

दमक, साउन ४ गते । दैनिक रूपमा १ हजारभन्दा बढी बिरामीहरू जाँचका लागि आउने सरकारी दमक अस्पतालमा आवश्यकता अनुसार पङ्खासमेत जडान हुन नसक्दा बिरामीहरूले हैरानी बेहोर्नुपरेको छ । दमक नगरपालिका मातहत रहेको अस्पतालको नयाँ भवनबाट सेवा सुरु गरेको छ महिना बित्दा पनि जाँचका लागि आउने बिरामीहरूका लागि आवश्यकता अनुसार पङ्खाकाे समेत व्यवस्था नभएपछि हैरानी बेहोर्नुपरेको हो ।

दमकका जे बिमलीका अनुसार बिहान ७ बजे लाइन बसेको बिरामीले विशेषज्ञलाई भेट्न ५ देखि ६ घण्टासम्म कुर्नुपर्ने अवस्था छ । यस्तो गर्मीको समयमा ६ घण्टासम्म कुर्दा थप बिरामी हुनुपर्ने अवस्था आउँदासम्म पनि नगरपालिकाको ध्यान नजानु गम्भीर विषय हो, उहाँले भन्नुभयो । 

पहिलो दिन विशेषज्ञ भेट्न र आवश्यक जाँच गर्न लाग्ने रहेछ, उहाँले भन्नुभयो । दोस्रो दिन त्यो रिपोट देखाएर औषधि लिन लाग्ने अवस्थामा दुइ दिन अस्पतालमा रहँदा बिरामीको अवस्था के हुन्छ ? आफै बुझ्नुहोस्, उहाँको भनाइ थियो । कमसेकम पङ्खाको व्यवस्था, इन्टरनेटको व्यवस्था त गर्न सकिन्थ्यो होला, उहाँ भन्नुहुन्छ ।

दमक अस्पतालको आम्दानी पनि राम्रो रहेको र अहिले पनि खातामा १० करोडभन्दा बढी रकम रहेको जनाइएको छ । नगरप्रमुख रामकुमार थापाको संयोजकत्वमा नै अस्पताल सञ्चालक समिति पनि बनेको छ । अस्पताल स्राेतका अनुसार अस्पतालको नाममा खातापाता नचलेको र नगरपालिकाले आफ्नै खाताबाट रकम चल्ने व्यवस्थापन गरेकाले एउटा कलम किन्न पनि माग फारम भरेर नगरपालिकामा जानुपर्ने अवस्था छ ।

१ सयदेखि १ सय २५ वटासम्म पङ्खा राख्नुपर्ने अवस्था रहेको भनेर बारम्बार भनिएको अस्पताल स्राेतले जनाएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईका अनुसार अस्पताल सञ्चालक समितिले चिकित्सकहरूको कार्यकक्षमा एसी र बिरामीहरूका लागि लाइनमा बस्दा सहज होस भनेर फेन राख्ने निर्णय डेढ महिना अघि नै भएको छ ।

प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले समय लागेको उहाँले बताउनुभयो । नगरपालिकाले त्यसै खरिद गर्न नमिल्ने भएकाले प्रक्रियामा जाँदा केही ढिला भएको हो, उहाँले भन्नुभयो । विशेषज्ञ चिकित्सकलाई देखाउन लाइन बस्नुपर्ने बिरामीहरूका लागि लाइन बस्ने ठाउँमा केही समयमा नै फेनको व्यवस्था हुने उहाँले बताउनुभयो । समस्या र अप्ठ्यारोको विषयमा जानकारी छ, उहाँले भन्नुभयो ।

दमक अस्पताल नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको लागि दमकसहित नजिक रहेका कमल गाउँपालिका, गौरा दह नगरपालिका, शिवसताक्षी नगरपालिकाको प्रथम बिन्दु अस्पताल हो । दमक नगरपालिका प्रमुख रामकुमार थापाले अस्पतालको सेवा विस्तार र सुदृढ कणका लागि प्रयास भइरहेको छ । बिरामीको चाप अधिक रहेका कारण व्यवस्थापनमा कठिनाइ भए पनि हामी सुधारका प्रयास गरिरहेका छौं, उहाँले भन्नुभयो ।