• ३० वैशाख २०८२, मङ्गलबार

भारतबाट नौ अर्व बढीको खाद्य सामग्री आयात

blog

नेपालगञ्ज भन्सार कार्यालय । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, साउन ३ गते । नेपालगञ्ज नाका भएर गत एक वर्षको अवधिमा नौ अर्व ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० मा  चार अर्व ७३ करोड रुपियाँ मुल्यको चामल आयात भएको हो ।

भन्सारको तथ्याङ्कअनुसार ६१ हजार ८७९ टन चामल भारतबाट भित्रिएको छ । आर्थिक वर्ष २०७७–७८ भन्दा गत आवमा दोब्बरभन्दा कम चामल आयात भएको छ । 

सो बर्ष नौ अर्व ६२ करोड रुपियाँ मुल्यको एक लाख ७१ हजार १०५ टन चामल आयात भएको थियो । गत आवमा नेपालगञ्ज नाका भएर चार दुई अर्व ९ करोड रुपियाँ मुल्यको खाद्यान्न मकै भित्रिएको छ । 

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार ५५ हजार ७१ टन मकै भारतबाट भित्रिएको छ । यसैगरी १३ हजार ५१ टन दलेको वा नदलेको दाल पनि भित्रिएको छ । भन्सारको मुल्याङ्कनअनुसार सो दालको मुल्य एक अर्व ३१ करोड रुपियाँ रहेको छ । 

भन्सार कार्यालयका अनुसार गत आवमा ६ हजार ९८० टन हरियो प्याज, सलौट र साग पनि भित्रिएको छ । त्यसको भन्सार मुल्याङ्कनअनुसार २६ करोड ६४ लाख रुपियाँ मुल्य छ । 

यसैगरी ९३ करोड ६० लाख मुल्यको ३७ हजार ५८५ टन आलु पनि भित्रिएको छ । भारतबाट चामल, आलु र प्याजसहित गत आवमा धान पनि बढी नै परिमाणमा भित्रिएको छ । १५ करोड ६१ लाख मुल्यको एक हजार ४५८ टन भारतीय धान नेपालगञ्ज नाका भएर भित्रिएको छ ।