सिराज खान
नेपालगन्ज, साउन ३ गते । सदस्यतासम्बन्धि विवाद उत्पन्न भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचन मिति सारिएको छ । संघले वितरण गरेको सदस्यता सम्बन्धमा विवाद उत्पन्न भएपछि यसअघि साउन २० गते गर्ने घोषणा भएको मितिलाई निर्वाचन समितिले भदौ २ गतेका लागि सारेको हो ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता टिकाजङ्ग सिंहका अनुसार सदस्यतासम्बन्धि विवाद भएपछि संघले निर्धारित मितिमा मतदाता नामावली उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि विधानले गरेको विशेष व्यवस्थाअनुसार निर्वाचन मिति १२ दिनका लागि सारिएको बताउनुभयो ।
संघका कानुनी सल्लाहकार समेत रहनुभएका वरिष्ठ अधिवक्ता सिंहले विवाद समाधान गरेर अहिलेको समयसीमाभित्र मतदाता नामावली उपलब्ध गराइदिन संघलाई आग्रह गर्नुभएको छ ।
यसअघि संघले साउन २० गते निर्वाचन गर्ने निर्णय गरेर मिति सार्वजनिक गर्नुका साथै निर्वाचन समिति समेत निर्माण गरेको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार तीन हजार ५०० को हाराहारीमा सदस्यताको आँकलन गरिए पनि दुई हजार बढी थप सदस्यता आवेदन परेपछि व्यवस्थापनका लागि निर्वाचन समितिसँग समय माग गरिएको छ ।
महासचिव ओलीले अनुमान गरेभन्दा बढी सदस्यता आवेदन परेको र सदस्यहरुका बारेमा उजुरी पनि धेरै परेकाले सो बारेमा छानविन गर्न गठन गरिएको सात सदस्यीय समितिले छानविन गरिरहेकाले समय लाग्ने भएर निर्वाचन मिति सार्न लगाइएको बताउनुभयो ।
उपाध्यक्ष अमित बस्नेतको संयोजकत्वमा गठन गरिएको अधिकार सम्पन्न छानबिन समितिले सदस्यतासम्बन्धी सबै विवादको टुंगो लगाउनेछ । सदस्यतासम्बन्धी विवाद समाधानका लागि तीन दिनको समय तोकिएको संघले जनाएको छ ।