जानु पाण्डे
कपिलवस्तु, साउन ३ गते । कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खुतखुते सामुदायिक वनले वेतबाँसको सामग्री बनाउने उद्योग सञ्चालनमा ल्याएको छ ।
स्थानीय विपन्नलाई उद्यमी बनाउन वडाको भर्लावास टोलमा ७ लाख ७० हजार लागतको उपकरण खरिद गरी उद्योग सञ्चालन गरिएको छ । एक वन एक उद्यम विकास कार्यक्रम अन्तर्गत परम्परागत सीपमा आधारित उद्यम सञ्चालन गरेको सामुदायिक वनका अध्यक्ष भीमबहादुर पुनले बताउनुभयो ।
उद्योगमा बाँसको चोयाबाट निर्माण हुने डोको, नाङ्लो, डालो, मान्द्रोलगायतका सामग्री निर्माण हुनेछ । स्थानीय सीपको संरक्षण गर्दै बिस्तारै लोप हुन लागेका परम्परागत सामग्री निर्माणले विपन्न समुदायको जीवनस्तर उकास्न सकिने हुनाले कार्यालयले सहयोग गरेको डिभिजनल वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताउनुभयो । वन कार्यालयले २ लाख ३० हजार रुपियाँ अनुदानस्वरुप प्रदान गरेको छ ।
उद्योग सञ्चालनबाट विपन्न ३० घरधुरी लाभान्वित हुने बताइएको छ । बाँसको चोया काट्नका लागि दुई उपकरण खरिद गरिएको छ । उपकरणले बाँस चिर्ने, बाँसबाट चोया निकाल्न प्रयोग हुनेछन् । उपकरण प्रयोगगरी चोया बनाउँदा उत्पादन गर्ने क्षमतामा दोब्बर वृद्धि हुने विश्वास लिइएको छ ।
उद्योगमा आवश्यक पर्ने बाँस उत्पादनका लागि खोला छेउमा वृक्षारोपण गर्ने बताइएको छ । खोला छेउमा बाँस लगाउँदा भूक्षय नियन्त्रण भई नदी कटानबाट जोगिने र उद्योगको लागि कच्चा पदार्थ उत्पादन हुनेछ ।