• ८ जेठ २०८१, मङ्गलबार

वराहक्षेत्र नगरमा डेङ्गु परीक्षण निःशुल्क

blog

सुनसरीको वराहक्षेत्र नगरपालिका कार्यालय । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

बराहक्षेत्र (सुनसरी), साउन ३ गते । सुनसरीको वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामी देखापर्न थालेपछि नगर अस्पतालले डेङ्गु परीक्षण निःशुल्क गर्ने भएको छ । 

दिन प्रतिदिन डेङ्गुका बिरामी बढ्न थालेपछि नगर क्षेत्रका नागरिकलाई डेङ्गु परीक्षण निःशुल्क गरिएको नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । चक्रघट्टीमा रहेको नगर अस्पतालले बुधवारदेखि डेङ्गुको निःशुल्क परीक्षण गरेको छ । 

अति विपन्न तथा गरिब श्रमिक मजदुरलाई पहिलो प्राथमिकतामा राखेर बिरामीलाई डेङ्गु परीक्षण निःशुल्क गरिएको अस्पतालका सहायक निरीक्षक दिवस विष्टले जानकारी दिनुभयो । 

डेङ्गु लागेको बिरामीलाई परीक्षण गर्न पाँचसय रुपियाँ खर्च लाग्नेगरेको नगर अस्पतालका मेडिकल अधिकृत चिरञ्जीवी बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘डेङ्गु सङ्क्रमित सात जना बिरामीका बेड भर्ना भएर उपचार गरिरहनुभएको छ । थप २० जना बिरामी प्रत्यक्ष सम्पर्कमा रहेर घरबाट उपचार गराइरहनुभएको छ ।’  

डेङ्गु प्रभावित वडा १, ६ र ७ मा लामखुट्टे मार्ने औषधि स्प्रे गरिएको नगर प्रमुखले बताउनुभयो । अन्य वडामा पनि स्प्रे गर्ने टंकी  र औषधि मगाइसकेको छ । तत्कालै अरु वडामा पनि स्प्रे गर्न लागिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । नगरवासीलाई डेङ्गु रोकथाम नियन्त्रणका लागि आ–आफ्नो घर आँगन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सफा राख्न नगरले अनुरोध गरेको छ ।