• १३ साउन २०८१, आइतबार

साउनको पहिलो सोमबार

गलेश्वरधाममा दर्शनार्थीको भीड (फाेटाे फिचर)

blog

म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको गलेश्वरधाम ।

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन १ गते । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । गलेश्वर मन्दिरमा दर्शनका लागि बिहान साढे चार बजेदेखि नै दर्शनार्थीहरुको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

बिहान १० बजेसम्म गलेश्वर शिवालयमा दर्शनका लागि २० हजारभन्दा बढी मानिस आइसकेको उहाँको भनाइ छ । हरेक वर्ष साउन महिनाको सोमबार तथा महाशिवरात्रि र बालाचतुर्दशीमा गलेश्वरमा भक्तजनको धेरै भीड लाग्ने गरेको छ ।

आज साउनको पहिलो दिन, सोमबार अनि औंशी पनि परेको हुँदा धार्मिक आस्था राख्ने मानिसहरुले यो त्रिसंयोग परेको मौका गुमाउन नचाहने भएको हुनाले पनि भीड बढेको उहाँले बताउनुभयो । आजको दिनमा साविकको धौलागिरी अञ्चलका चार जिल्लाहरु म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतका साथै कास्की, स्याङ्जा, तनहुँ, रुपन्देही लगायतका जिल्लाबाट दर्शनका लागि भक्तजन पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

जिल्ला अदालत म्याग्दीका जिल्ला न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालले धार्मिक महत्वको ऐतिहासिक स्थल पनि रहेको हुनाले दर्शन गर्नु राम्रो हुने बताउनुभयो । “हामीले आस्था राखिन्छ अनि दर्शन र पूजा गरिन्छ र आजको दिन आफैंमा महत्वपूर्ण भएकोले पनि दर्शनका लागि आइपुगेको हुँ”, उहाले भन्नुभयो ।

बिहान ३ बजेदेखि गलेश्वर मन्दिरमा आरती सुरु भएको र बिहान साढे चार बजेदेखि नै झरीमा रुझ्दै भएपनि भक्तजनहरु पूजाअर्चनाका लागि आइपुगेको उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । मन्दिरमा दर्शनपछि एक सय ८ शिवलिङ्गमा जल र बेलपत्र चढाउनका लागि पनि भक्तजनहरु उत्साहसाथ सहभागी भएको उहाँले बताउनुभयो ।

गलेश्वर मन्दिर क्षेत्रमा पूजाअर्चना गर्नुका साथै युवायुवतीहरुले टिकटक बनाउनका लागि पनि निकै ध्यान दिएको देखिएको छ । हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका युवतीहरु टिकटक बनाउनका लागि गलेश्वर शिवालय क्षेत्रको ९ रोपनीको चक्र शिलामा मस्त देखिएका पनि छन् ।