• ७ जेठ २०८१, सोमबार

लालपुर्जा वितरणले गति लिँदै

blog

छिन्चु समाचारदाता

सुर्खेत, साउन १ गते । भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतले सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ का २१३ जना भूमिविहीनलाई आइतबार लालपुर्जा वितरण गरेको छ। शनिबार गुर्भाकोट नगरपालिकाका २४३ जनालाई लालपुर्जा वितरण गरिएको थियो। 

भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलका अनुसार भेरीगङ्गाकै अन्य वडाका भूमिविहीनलाई पनि लालपुर्जा दिने काम भइरहेको छ। गएको हप्ता पञ्चपुरी नगरपालिकाका २१५ जनालाई लालपुर्जा वितरण गरिएको जनाइएको छ। गुर्भाकोटको मेहलकुनामा शनिबार लालपुर्जा वितरण कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पुर्जा पाउने सबैले जग्गाको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो। 

उहाँले नयाँ जग्गाको नापीको काम धमाधम भइरहेकोमा भूमि आयोग सुर्खेतलाई धन्यवाद दिनुभयो। उहाँले अहिले पहिलो चरण अन्तर्गत पुर्जा दिने काम सम्पन्न भएकाले अब कोही पनि भूमिविहीन हुनु नपर्ने गरी काम गर्ने आयोगलाई अनुरोध गर्नुभयो। 

सुर्खेतका अव्यवस्थित बसोबास, भूमिहीन दलित, सुकुमवासीका समस्या समाधानतर्फ आयोगले काम गरिरहेको छ। नापजाँच भएर अधुरा रहेका जग्गाको लालपुर्जा वितरणको काम भइरहेको छ। अधुरा रहेका काम सकेर अव्यवस्थित बसोबासको व्यवस्थापन तथा लालपुर्जा दिने कार्य सुरुवात गर्ने तयारी आयोगले गरेको छ।