• १३ साउन २०८१, आइतबार

‘संस्कृति चिन्तन’ प्रकाशित

blog

काठमाडौँ, साउन १ गते । प्राडा अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्ध सङ्ग्रह ‘संस्कृति चिन्तन’ प्रकाशित भएको छ । एक कार्यक्रममा लेखक तथा प्राध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले किताब सार्वजनिक गर्नुभएको हो ।

लेखक सुवेदीले पहिलेको काठमाडौँ लुप्त भइसकेको तर अन्तरङ्गमा भने त्यो जीवितै रहेको बताउनुभयो । यहाँका चलन, सांस्कृतिक जात्रा, परिकारलगायतले त्यो संस्कृतिलाई जीवन्त राखेको उहाँको भनाइ छ  । 

त्यस्तै उप्रेतीले राज्यले खस संस्कृतिलाई राष्ट्रिय संस्कृति भनेर स्थापित गर्नु गम्भीर त्रुटि भएको धारणा व्यक्त गर्नुभयो । समालोचक लामाले सहर परिवर्तनशील भएको तर स्मार्ट सहर नभई सांस्कृतिक सहर निर्माण गर्नुपर्ने बताउनुभयो । लेखक गुप्तोले संस्कृतिसँग जोडिएको पर्यावरण चेतनालाई पनि पुस्तकमा उठान गरेको टिप्पणी गर्नुभयो । 

लेखक गुप्तोले आफूले कलाको पाटोबाट संस्कृतिको चिन्तन बढी गर्ने बताउनुभयो । उहाँले देवीमाथि मात्रै लेखिरहँदा अन्धविश्वासमाथि बढावा दिएको आरोप लाग्ला कि भन्ने डरले देवतामाथि पनि लेख्न थालेको स्पष्ट पार्दै भन्नुभयो, “तर देवता कोही रिसाहा, कोही भद्र तथा कोही राक्षस प्रवृत्तिका मात्रै लागे । त्यसैले लेख्नै छाडेँ तर देवीको अनन्त रूपमा म आकर्षित हुँदै गएँ ।” पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।