• २८ वैशाख २०८२, आइतबार

जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्छौँ : उपप्रधानमन्त्री खड्का

blog

इलाका प्रशासन कार्यालय मेहेलकुनामा नागरिकता दिएर उद्घाटन गर्नुहुँदै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिर : ललित बसेल

 सुर्खेत, असार ३० गते। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताउनु भएको छ।  देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताउनुभएको हो। गृह जिल्ला सुर्खेत पुग्नुभएका उपप्रधानमन्त्री खड्काले  शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै  देशको प्रतिकुल आर्थिक अवस्थामा पनि विकास–निर्माणका काम अघि बढिरहेको बताउनुभयो । 

उपप्रधानमन्त्री खड्काले  जनताको अपेक्षा अनुसार वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘देशको प्रतिकुल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्त्वपूर्ण विकास योजनाहरू अघि बढेका छन्। जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिबद्ध छु।’’ 

उपप्रधानमन्त्री खड्काले कर्णाली कोरिडोर र भेरी कोरिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठुला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारीसमेत दिनुभयो।  उहाँले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमुना सहर निर्माण गरेर भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको काम अघि बढेको बताउँदै त्यो सहर नयाँ पुस्तालाई नासोका रूपमा हस्तान्तरण गरिने बताउनुभयो। 

रक्षामन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडकलगायतका कामहरू गर्ने गरेर भेरी कोरिडोर सिँचाइ विकास योजनालगायतका ठुला विकास योजनाहरू कार्यान्वयन भइरहेको बताउनुभयो ।

इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले जनताले घर–आँगनबाटै सेवा प्रवाह गर्ने उद्देश्यले मेहलकुनामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको बताउनुभयो। ‘वडा हुँदै पालिकाबाट सिफारिस लिएर नागरिकता लिन सदरमुकाम जाँदा यहाँका नागरिकको समयसँगै पैसा पनि अनावश्यक खर्च भइरहेको हामीले देखेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘अब पूर्वी सुर्खेतका जनतालाई प्रशासनिक कामका लागि सदरमुकाम धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ।’’ 

पूर्वी सुर्खेतका लेकवेशी, भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरूलाई एकीकृत सेवा पुर्‍याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापीलगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरू स्थापना गरिएको बताउनुभयो। 

उपप्रधानमन्त्री खड्काले  मेहलकुनामा केही दिनभित्रै इलाका प्रहरी कार्यालय पनि औपचारिक रूपमा स्थापना हुने जानकारी गराउनु भयो। ‘‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरू एकै ठाउँमा स्थापना गरेर पूर्वी सुर्खेतका नागरिकहरूलाई आफ्नै ठाउँबाट सेवा पाउन भन्ने चाहना थियो,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘त्यो चाहना अहिले पूरा हुँदै गएको छ।’’