• २८ वैशाख २०८२, आइतबार

वारुणयन्त्र खरिद गर्ने पहिलो निर्णय कार्यान्वयन

blog

मटिहानी नगरपालिकाले खरिद गरि सञ्चालनमा ल्याएको बारुणयन्त्र । तस्बिर : महेशकुमार दास

महेशकुमार दास
जलेश्वर, असार ३० गते । 
मटिहानी नगरपालिले वारुणयन्त्र खरिद गरेको छ । आगलागीको घटना न्यूनीकरण गर्न नगरपालिकाले वारुणयन्त्र खरिद गरेको हो ।

दोस्रो पटक नगरप्रमुखको पदभार ग्रहण गर्नुहुँदै नगरप्रमुख हरिप्रसाद मण्डलले   वारुणयन्त्र खरिद गर्ने पहिलो निर्णय गर्नुभएको थियो । नगरप्रमुख मण्डलले नगरवासीलाई आगलागीको घटना न्यूनीकरण गर्न वारुणयन्त्र खरिद गर्ने र शिक्षामा छात्राको पहुँच मजबुत पार्न प्रोत्साहन स्वरूप साइकल वितरण गर्ने निर्णय गर्नु भएको थियो ।

नगरप्रमुख मण्डलले वारुणयन्त्र खरिद गर्न प्रक्रियाहरू पूरा गर्न समय लागेका कारण केही ढिलाइ भए पनि नगरवासीसँग गरेको वाचा पूरा गर्न सफल भएको बताउनुभयो ।

५९ लाख २५ हजारको लागतमा खरिद गरिएको वारुणयन्त्र चार हजार पाँच सय लिटर पानी बोक्न सक्ने क्षमता रहेको मटिहानी नगरपालिकाको इन्जिनियर विमलेश साहले बताउनुभयो ।

छ हजार ४६० घर धुरी रहेको मटिहानी नगरपालिका वारुणयन्त्र खरिद भई सञ्चालनमा आएपछि स्थानीयहरू खुसी भएका छन् । पालिकामा वारुणयन्त्र नहुँदा आगलागी लगायतका घटनाहरूमा छिमेकी नगरपालिका र जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो ।

यसैबीच, वारुणयन्त्रको नगर प्रमुख मण्डलले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले चाँडै नै वारुणयन्त्रको व्यवस्थापन गरी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।