• १३ साउन २०८१, आइतबार

आदिकविको उचाइ

blog

भानुभक्त आचार्य (विसं १८७१–१९२५) नेपाली साहित्यका क्षेत्रमा आदिकविका रूपमा चर्चित हुनुहुन्छ । उहाँको रामायण (विसं १८९८–१९१०) महाकाव्यलाई आदिमहाकाव्यका रूपमा लिइएको छ । रामायण लोकभावनामा आधारित भएकाले पनि सबैको मन छुने खालको थियो । भानुभक्त श्रीकृष्णका नाति तथा धनञ्जय आचार्यका छोरा हुनुहुन्छ । भानुभक्तले बाजेबाट संस्कृतको साधारण शिक्षा पाउनुभएको थियो । पछि उहाँ काशीमा बस्दा त्यहाँको वातावरण तथा आफ्नै क्षमताबाट कवितातर्फ आकृष्ट हुनुभयो । 

भानुभक्त प्राथमिककालको भक्तिधारा अन्तर्गत रामभक्ति धाराका उत्कृष्ट कविका रूपमा प्रख्यात हुनुहुन्छ । उहाँ गाउँमा जन्मनु भयो । वस्तुतः भानुभक्त गाउँमा जन्मनु भए पनि पछि उहाँ काशी पुग्नु भयो । सहरको वातावरण देख्नु भयो, भोग्नु भयो र त्यहाँको परिवेशसँग सम्बन्धित फुटकर कविताहरू पनि लेख्नु भयो ।

भानुभक्त आचार्यका विभिन्न कृति छन् । उहाँका ‘रामायण’ (विसं १८९८–१९१०) महाकाव्य, प्रश्नोत्तर माला (१९१०), भक्तमाला (१९१०), बधूशिक्षा (१९१९), रामगीता (१९२५) जस्ता काव्यकृतिहरू प्रकाशित छन् । यस्तै कान्तिपुरी नगरी, बालाजी वर्णन, भोलि भोलि जस्ता उहाँका दुई दर्जनभन्दा बढी फुटकर कविताहरू पनि रहेका छन् ।

उहाँले रामायणको बालकाण्ड विसं १८९८ देखि लेखेर पूरै रामायण १९१० सालमा पूरा गर्नुभएको थियो । उहाँका फुटकर कविताहरूमा समाजका विकृति विसङ्गतिप्रति प्रहार गरी सुधारको सन्देश पाइन्छ । भक्तमाला र वधूशिक्षा मौलिक कृतिका रूपमा रहेका छन् । प्रश्नोत्तरमाला उहाँको अनूदित कृतिका रूपमा रहेको छ । वधूशिक्षा तत्कालीन परिवेशमा नारी अर्तीका दृष्टिले हेर्दा महŒवपूर्ण कृतिका रूपमा रहेको छ । उहाँका फुटकर कृतिहरू आध्यात्मिक, नैतिक चेतनाले भरिएका छन् । कुनै कृति प्राकृतिक सौन्दर्य वर्णनमा केन्द्रित छन् भने कुनै कुनै सामाजिक सांस्कृतिक सन्दर्भमा रचिएका छन् । उहाँले रचना गर्नुभएको प्रकृतिको मनोरम रूपको वर्णन गरिएको ‘बालाजी वर्णन’ कविताको एक अंश यस प्रकार छ :

“यति दिनपछि मैले आज बालाजि देख्याँ ।

पृथिवी तल भरीमा स्वर्ग हो जानि लेख्याँ ।।

वरिपरि लहराका झूलि बस्न्या चरा छन् ।

मधुर वचन बोली मन् लिँदा थ्या सुरा छन् ।।”

त्यस्तै सामाजिक, प्रशासनिक विकृति विसङ्गतिमाथि तीव्र व्यङ्ग्य प्रहार गरिएको तलको श्लोक हेर्दा भानुभक्त आफैँ पनि त्यसबाट पीडित भएको सन्दर्भ प्रस्तुत गर्नुभएको छ :

“बिन्ती डिट्ठा विचारीसित म कति गरुँ चुप् रहन्छन् नबोली

बोल्छन् ता ख्याल ग¥या झैँ अनि पछि दिनदिन् भन्दछन् भोलिभोली ।

की ता सक्दिन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोली

भोली भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।”

यसै गरी शृङ्गारिक भावधारा प्रवाह गर्ने कविताहरू पनि उहाँले रचना गर्नुभएको देखिन्छ । यसको एक नमुना यस प्रकार छ :

“चपला अवलाहरू एक् सुरमा ।

गुनकेसरीको फूल ली शिरमा ।।

हिँड्न्या सखि लीकन ओरिपरी ।

अमरावति कान्तिपुरी नगरी ।।”

यसरी भानुभक्तले रामायणका साथै अनेक प्रकारका खण्डकाव्य तथा फुटकर कृतिहरूको समेत रचना गर्नुभएको छ । 

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुनुहुन्छ । यद्यपि उहाँको आदिकवित्वका बारेमा विविध सन्दर्भहरू रहेका छन् । मूलतः उहाँले महाकाव्य लेख्नेभन्दा पनि समाजमा रामचरित्रको विस्तारका निम्ति रामायणको रचना गर्नुभएको हो । धार्मिक उद्देश्य पनि यसमा गाँसिएको थियो । लेखोटकै रूपमा छँदा धेरैले सारेर यसको गायन सुरु गरेको पाइन्छ । पछि मोतीराम भट्टले यसको प्रकाशन गर्नुभएको पाइन्छ । प्रकाशनपछि उक्त कृति नेपालीका घरघरमा पुग्यो । रामायणका धेरै अंशको लेखन जङ्गबहादुरका पालामा भएको थियो । जङ्गबहादुरपछि पनि नेपालमा लामो समय राणा शासन रह्यो । यस स्थितिमा उच्च आदर्शको पाठका लागि उहाँले रामायणको रचना गर्नुभएको थियो । भानुभक्तले बृहत् रूपमा सांस्कृतिक एकताको सूत्रपात गर्नु भयो । रामचरित्रमार्फत धेरै नेपालीलाई एकताको सूत्रमा बाँध्ने प्रयास उहाँले गर्नु भयो । विसं १८७३ को सुगौली सन्धिका कारणले नेपालीको गति रोकिएको अवस्था तथा नैराश्यको घाउ बल्झिएको स्थितिमा भक्तिभावको मलम लगाउने काम रामायणले गरेको पाइन्छ ।

वाल्मीकिको रामायणलाई संस्कृतको आदिकाव्य वा आदि महाकाव्य भनिन्छ । वाल्मीकिको रामायणपछि त्यसकै आधारमा अध्यात्म रामायण बनाइएको पाइन्छ ।

वाल्मीकि रामायणमा राम मानिस नै थिए । पुरुषोत्तम थिए । अध्यात्म रामायणले रामलाई भगवान् बनायो । तथापि उनी मान्छेकै छोराका रूपमा रहेका छन् । सीताको पनि दैवीकरण गरिएको छ । यस प्रकार दिव्य पात्रहरू भएको र धेरै काण्डहरू भएको अध्यात्म रामायणलाई महाकाव्य भन्न सकिन्छ ।

महाकाव्यमा हुनुपर्ने विविधता, विस्तार, गरिमा तथा पद्यहरू भानुभक्तको रामायणमा भएकाले यसलाई महाकाव्य भन्न सकिन्छ । नेपाली महाकाव्य परम्परामा प्राचीन महाकाव्यको उपाधि प्रदान गर्न सकिन्छ । कुनै कुनै समीक्षकहरू यसलाई अमौलिक ठान्छन् तर यसलाई नितान्त अमौलिक भन्न मिल्दैन । यसमा मौलिकताको प्रशस्त चमक पाइन्छ । भानुभक्तको रामायणमा मात्र कहाँ हो र ? सोमनाथ सिग्द्यालको आदर्शराघव (विसं २००५) महाकाव्यमा समेत वाल्मीकीय रामायणको कथा छ । भानुभक्तको रामायणमा राम र सीताको आदर्श कथा छ । यसको कथा अध्यात्मरामायण तथा वाल्मीकीय रामायणमा पनि पाइन्छ । मौलिकताका दृष्टिले हेर्दा कथावस्तु आए पनि दुवै महाकाव्य आफ्ना ठाउँमा उत्तिकै चर्चित र उल्लेखनीय छन् ।

नेपाली कविताको प्राथमिक काल अन्तर्गत भक्ति धारामध्ये रामभक्ति धारामा कवि भानुभक्त आचार्य पर्नु हुन्छ । रामभक्ति धाराका कवि गुमानी, भानुभक्त र रघुनाथ भट्टको नाम आउँछ र उहाँहरूमा सर्वप्रमुख भानुभक्त देखिनु हुन्छ । 

त्यसो त भानुभक्तलाई सर्वप्रथम आदिकविको पगरी दिने व्यक्ति मोतीराम भट्ट नै हुनुहुन्छ । उहाँले भन्नुभएको छ, “गोर्खा भाषामा हुन् त धेर नामका कवि भानुभक्तभन्दा पहिले भए तर कविताको मर्म जानी भाषापद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् ।” उक्त भनाइमा भानुभक्तभन्दा अघि अनेक कविहरू भए पनि भाषाको साथै कविताको मर्म बुझेर कविता लेख्ने कवि भानुभक्त भएकाले उहाँलाई आदिकवि मान्नुपर्ने तर्क देखिन्छ । त्यस्तै सूर्यविव्रmम ज्ञवालीको सम्पादकत्वमा प्रकाशित भानुभक्त स्मारक ग्रन्थमा पनि जुद्धशमशेरले आदिकवि भन्ने तोक लगाइदिएका छन् । त्यसै गरी भानुभक्तलाई प्रथम ध्वनिको संज्ञा दिनुभएका महाकवि देवकोटा यसो भन्नुहुन्छ, “शुव्रmतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि ।”

साहित्यकार बालकृष्ण समले पनि भानुभक्तलाई आदिकविको स्थानमा राखेर यसो भन्नुभएको छ, “सबै समयमा कवि भएका छन् तर भानुभक्त नेपाली भाषाको मापदण्ड हुनुहुन्थ्यो र वहाँ आदिकवि हुनुभयो ।” 

यसरी हेर्दा आदिकवि भानुभक्त आचार्यभन्दा अघि सुवानन्द दास, शक्तिबल्लभ अर्याल, उदयानन्द अर्याल, गुमानी पन्त, इन्दिरस, वीरशाली पन्त, विद्यारण्य केशरी, वसन्त शर्मा, यदुनाथ पोखरेल, रघुनाथ भट्ट जस्ता अनेक कविहरू भए पनि उहाँहरूको रचनामा भानुभक्तको जस्तो मौलिकपन, प्रतिभा, माधुर्य नभएकाले यो तहमा आउन सकेन । दीनानाथ सापकोटाले रघुनाथ भट्टद्वारा रचना गरिएको रामायण सुन्दरकाण्ड (विसं १९८९) को भूमिकामा रघुनाथलाई आदिकवि मान्नुपर्ने तर्क राखेपछि यसमा विवाद सुरु भएको पाइन्छ । रामकृष्ण शर्मा, तारानाथ शर्मालगायतले भानुभक्तलाई आदिकविको साँघुरो घेराभित्र राख्न नहुने तर्क दिनुभएको छ । 

जे जस्तो भए पनि भानुभक्तका रचनाहरूको अध्ययनपछि उहाँलाई आदिकविको सम्मान दिनु युक्तिसङ्गत ठहर्ने कुरामा धेरै मत मिलेको पाइन्छ । भानुभक्तमा मात्र नभई उहाँका भन्दा अघिका कविहरूका रचनाहरू अध्ययन गरी विद्वान्हरू, आलोचकहरू भानुभक्तलाई आदिकवि भन्ने निष्कर्षमा पुग्नुभएको हो ।

लगभग एक हजार वर्ष पुरानो नेपाली भाषाको परम्परामा नेपाली साहित्यको इतिहास दुई सय वर्ष पुरानो मानिन्छ । प्राचीनकालमा नेपाली साहित्यको लेख्य रूप पाइँदैन तर लोकसाहित्य प्राप्त हुन्छ । पहिले पहिले अभिलेखका साथै व्यवहारोपयोगी ग्रन्थ लेखिए तर साहित्य लेखिएन । अठारौँ शताब्दीदेखि नेपाली भाषामा साहित्य लेखन आरम्भ भयो र विसं १९४१ देखि मात्र छाप्ने र प्रकाशन गर्ने कार्य सुरु भयो ।

नेपाली भाषामा महाकाव्य लेख्न थालिएको वीर धारादेखि नै हो । वीर धाराको समय विसं १८०० देखि १८७२ सम्म रहेको छ । यसै धाराका कवि उदयानन्द अर्याल (१८१२–१८९४) देखि नै नेपालीमा महाकाव्य लेखिन थालिएको पाइन्छ । उहाँको मौलिक महाकाव्य पृथ्वीन्द्रोदय लेखियो तर त्यति बेला छापिएन, हाल नेपाल प्रज्ञा–प्रतिष्ठानबाट छापिएको छ र त्यसकै आधारमा उदयानन्दलाई आदिकवि मान्नु पर्छ भन्ने तर्क–वितर्क पनि चलेको पाइन्छ । 

त्यति बेला यसको प्रकाशन नभएको र भानुभक्त आचार्य (विसं १८७१–१९२५) को भानुभक्तीय रामायण नेपालीको (विसं १९४१) प्रथम महाकाव्य बन्न पुग्यो । यो अर्धमौलिक महाकाव्य मानिन्छ । अध्यात्म रामायण वेदव्यासले लेख्नुभएको हो । त्यसलाई नेपालीपन र धुकधुकी दिएर भानुभक्तले नेपाली भाषामा रचना गर्नुभयो । प्रशस्त मौलिकताका साथ यो कृति आएकाले आदि महाकाव्य बन्यो । भानुभक्त आदिकवि हुनुभयो ।

“भानुभक्तले विश्वकाव्य परिपाटीका दुवै साधन र रीति अपनाउनुभएको छ । रामायणमा ज्यादै नै गहकिलो, लामो, पवित्र र राष्ट्रव्यापी आदर्श खडा गरिएको छ, हुन त राष्ट्रलाई उद्बुद्ध गरी पराजयको क्षोभ बिर्साउँदै पुनः आशावादी बनाउने दृष्टिले रामायणको महत्व ज्यादै नै बढी छ ।” 

हो यही भावना र आदर्शका दृष्टिले नै रामायणलाई उत्कृष्ट रचना मान्न सकिन्छ तथापि सरलता, सरसता, लयात्मकता, श्रुतिमाधुर्य आदि अनेक कोणबाट हेर्दा पनि रामायण तत्कालीन परिवेशमा निकै लोकप्रिय कृति मानिएको ठोकुवा गर्न सकिन्छ यद्यपि नेपाली महाकाव्य परम्परामा हालसम्म पनि रामायणको उत्तिकै महत्वपूर्ण स्थान रहेको छ ।

भानुभक्तको रामायणको रचना सन्दर्भलाई ‘आदिकवि भानुभक्त आचार्यको सङ्क्षिप्त जीवनी’ शीर्षकमा मुक्तिनाथ आचार्यले लेख्नुभएको छ, “आफ्ना पितामहको देहावसानान्तर आफ्नो घर चुँदीरम्घामा आएपछि साहित्यिक संस्कार एवं सामाजिक भावनाले परिपूर्ण कविजीले प्रसङ्गवश घट्न आएका विभिन्न घटनासँग सम्बन्धित फुटकर कविताहरू पनि बेलामौकामा रचना गर्नुभयो । 

व्यावहारिक तथा पारमार्थिक दुवै पक्षमा अत्यन्त उपयोगी भएको मर्यादा पुरुषोत्तम दशरथनन्दन श्रीरामचन्द्र तथा सतीशिरोमणि जनकतनया सीताजी जस्ता अत्यन्त अनुकरणीय व्यक्तित्वहरूको जीवनचरित्र उल्लिखित संस्कृतमा रहेको अध्यात्म रामायणको सरल भाषामा भाषानुवाद गर्नु भयो । यस्तो अदम्य साहस झिकी समस्त नेपाली नरनारीलाई आदर्श महापुरुष श्रीरामचन्द्र तथा सतीशिरोमणि सीताजी जस्तै मर्यादित एवं सच्चरित्रका धनी तुल्याउनु भयो । नेपाललाई रामराज्यसरह बनाउने तीव्र उद्देश्य राखेर सात काण्डमा विभक्त अध्यात्म रामायणको राष्ट्रभाषा नेपालीमा भाषानुवाद गर्नुभएको कुरालाई कसैले पनि नकार्न मिल्दैन ।” 

यसरी हेर्दा भानुभक्तलाई उहाँको रामायणका आधारमा वा अन्य कुनै आधारमा विवादमा तान्नु व्यर्थ देखिन्छ । उहाँले न आदिकवि बन्न रामायण लेख्नुभएको थियो, न कुनै पुरस्कार पाउन वा अन्य भौतिक प्रयोजनका लागि नै । तसर्थ उहाँको उद्देश्य त केवल आध्यात्मिक सुख प्राप्ति नै थियो ।

यसरी हेर्दा भानुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालका भक्तिधारा अन्तर्गत रामभक्ति धाराका मुख्य प्रतिभाका रूपमा रहनुभएको छ । उहाँकै नामबाट नेपाली कवितालाई विसं १८७२ देखि १९३९ सम्म भानु युग भनी नामकरण गरिएको पाइन्छ । 

विसं १८७२–७३ को अङ्ग्रेज–नेपाल युद्ध, युद्धको उत्कर्ष, सुगौली सन्धि र त्यसपछिको नेपालको स्थिति जस्ता कारणले नेपाली कविताको वीरधाराको अवसान भएका बेला भक्तिधाराको उदय भयो । यसमा पनि रामभक्ति धारा सशक्त रूपमा देखा प¥यो । यसको प्रतिनिधित्व भानुभक्तले गर्नुभयो ।

भक्तिकालमा तीन ठुला प्रतिभा मूल रूपमा देखा पर्नु भयो । वसन्त शर्मा, रघुनाथ र भानुभक्त आचार्य यस समयका विशिष्ट प्रतिभा मानिन्छन् । वसन्त शर्माको ‘कृष्ण चरित्र (१८८०–१८८४) र रघुनाथको सुन्दरकाण्ड (१९१८ तिर) लाई महाकाव्यभन्दा खण्डकाव्य भन्नु उचित भएकाले भक्तिकालमा भानुभक्तद्वारा रचित रामायण नै महाकाव्यका रूपमा देखा परेको हो । 

यो कार्यलाई मोतीरामले प्रकाशन गरेर भानुभक्तलाई चर्चामा ल्याउने काम गर्नु भयो । भानुभक्तको योगदान र उहाँका कृतिहरूको उचित मूल्याङ्कन गरेर नै उहाँलाई आदिकविको उपाधि दिइएको हो । त्यो समयमा नेपाली भाषाका माध्यमबाट जुन कृतिको रचना भानुभक्तले गर्नुभयो, त्यो उहाँको उल्लेखनीय र महìवपूर्ण कार्य थियो । उहाँले एउटा युग जन्माउनु भयो । 

आफ्नो समयलाई आत्मसात् गरेर त्यसको महत्ता बुझेर रामकथामा आधारित रामायण लेख्नुभएकाले भानुभक्तलाई आदिकविको उचाइमा पु¥यायो । कवि लेखकहरू त्यति बेला पनि थिए । अहिले पनि धेरैले लेखेका छन् तर युग जन्माउने कवि लेखक कमै छन् । कोही युगसँगै हराएर जान्छन् भने कसैले युगलाई जन्माएर जान्छन् । यस्तो युगलाई जन्माउने आदिकवि भानुभक्त आफ्ना कृतिका माध्यमबाट सदैव बाँचिरहनु हुनेछ, बाँच्नुभएको छ ।