• १३ असोज २०८१, आइतबार

पशुपालनतर्फ आकर्षण बढाउन कृषि सामग्री वितरण

blog

लहान–२१ कृषक मनोजकुमार यादवलाई कुटी काट्ने मेसिन वितरण गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरी। तस्बिरः जीवछ

जीवछ यादव

लहान,असार २९ गते। लहान नगरपालिकाले पशु शाखाले पशुपालनतर्फ आकर्षण बढाउन  किसानलाई विभिन्न सामग्री वितरण गरेको छ। 

पशु शाखाका प्रमुख रामकृष्ण यादवका अनुसार २२ जना किसानलाई परालको कुटी काट्ने मोटर जडानसहितको मेसिन, १० जना किसानलाई दूध राख्ने डिफ्रिज २२ जना किसानलाई दूध राखेर बेच्ने भाँडो, पाँच जना कृषक समूहलाई उन्नत जातको बोका र न्यू राधे डेरीलाई ५० प्रतिशत अनुदानमा एक हजार लिटरको चिलिङ भ्याट मेसिन वितरण गरिएको हो। 

उन्नत जातको बोका पाएपछि बाख्रा पालनको लागि निकै सहयोग मिलेको रामचन्द्र चौधरीले बताउनुभयो। 

लहान नगरपालिकाको उत्तरी भेगका वडामा पशुपालनको लागि उत्तम क्षेत्र रहेकोले पशुपालनतर्फ किसानलाई उत्साहित र प्रोत्साहित गर्न गाई भैंसी कुखुरा र बाख्रा पालनको लागि आवश्यक तालिमलगायत कार्यक्रम बनाउन पशु शाखालाई निर्देशन दिइएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो। 

नगरप्रमुख चौधरीले भन्नुभयो,‘‘किसानसँग चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न किसानको समस्या समाधन गर्न यस वर्ष पनि बजेट विनियोजन गरिएको छ। थप बजेटको लागि प्रदेश र सङ्घ सरकारसँग समेत समन्वय गरिरहेका छौं।’’ 

सहरी क्षेत्रमा पशुहाट बजार व्यवस्थापन र कृषकले उत्पादन गरेको धान गहुँ र आँप खरिद बिक्री बजारलाई समेत व्यस्थापन गरेर उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याउनुपर्ने  किसानले माग गर्दै लहान नगरपालिका कृषि शाखा र पशु शाखालाई ध्यानाकर्षण गराएको छ।