• १३ असोज २०८१, आइतबार

मिटरब्याजीका तीन सय बढी उजुरी फर्छ्यौट

blog

उजुरी सुनुवाइ कक्षबाहिर छलफलका लागि आफ्नो पालो कुरेर ढोकामा बसेका मिटरब्याजी पीडित । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार २९ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजको सम्बन्धमा परेको एक हजार ९२० उजुरीमध्ये ३६५ वटाको फर्छ्यौट भएको छ । कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवका अनुसार बिहीबार बेलुकासम्म एक हजार ९२० उजुरीमध्ये ८९२ उजुरीमाथि छलफल गरी ३६५ वटा उजुरीको फर्छ्यौट गरिएको हो । 

सरकारले मिटरब्याजीको मारमा परेका नागरिकका लागि मिटरब्याज अर्थात् अनुचित लेनदेन जाँचबुझ आयोग बनाएर छानविन अघि बढाएपछि जिल्लाभरिबाट एक हजार ९२० उजुरी परेका थिए । ती उजुरीमध्ये बिहीबारसम्म ३६५ उजुरीकर्ता र उनीहरुले उजुरी दिएका आरोपित मिटरब्याजीलाई राखेर छलफल गराई मिलापत्र गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । प्रजिअ यादवका अनुसार पर्छ्यौट गरिएका ३६५ वटा उजुरीमध्ये मिटरब्याजीले आफ्नो नाममा गरिसकेका तीन बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गरिएको छ । 

जिल्लाभरिबाट प्राप्त उजुरीमध्ये जो व्यक्तिविरुद्ध बढी उजुरी परेको छ, उसलाई प्राथमिकतामा राखेर निरन्तर छलफल गराई उजुरी फर्छ्यौट गरिरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो। विगत एक महिनादेखि मिटरब्याजीका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा छलफल जारी छ । 

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको रोहबरमा दैनिक छलफल भइरहेको हो । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले उजुरी परेका व्यक्ति र उजुरी दिने पीडितलाई राखेर लेनदेन भएको वास्तविक रकम, बुझाइसकेको ऋणलगायतबारे छलफल गराई दुवै पक्षलाई सहमतिमा ल्याई उजुरी पर्छ्यौट गर्दै अघि बढेको बताउनुभयो । 

छलफलका क्रममा अनेक बहानाबाजी गर्ने र पीडितसँग मिलापत्रमै आउन नखोज्ने पाँच जनालाई प्रहरी हिरासतमै पठाइएको छ । प्रहरी हिरासतमा पठाएपछि मिलापत्रका लागि सहमति गरेपछि ती पाँचै जनालाई हिरासतमुक्त गरिसकिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

मिटरब्याजको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले पटकपटक सर्वदलीय बैठक राखेर त्यहाँ पनि छलफल गर्दै आइरहेको छ ।