• ८ जेठ २०८१, मङ्गलबार

असुरक्षित गर्भपतनले ज्यान जोखिममा

blog

सुरक्षित गर्भपतनसम्बन्धि तालिम तथा अभिमुखीकरणका सहभागी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २६ गते । असुरक्षित गर्भपतनले महिलाको ज्यान जोखिममा पर्नेगरेको छ । अनिश्चित तथा अवैध गर्भाधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दैगएको हो । 

स्वास्थ्य कार्यालय ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा मङ्गलबार आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाले असुरक्षित गर्भपतनका कारण महिलाको ज्यान उच्च जोखिममा रहेको बताएका   छन् । असुरक्षित गर्भपतनकै कारण ताप्लेजुङमा कतिपय महिलाले ज्यान गुमाएको तथ्यहरु सार्वजनिक हुनेगरेको सरोकारवालाको भनाइ छ । 

सरोकारवालाका अनुसार अनिश्चित गर्भाधारण गरेका महिलाले असुरक्षित गर्भपतन गराउँदा उनीहरुको ज्यान जोखिम पर्नेगरेको र कतिपय महिलाको ज्यानै जानेगरेको छ । यौन सम्पर्कका क्रममा सचेत नहुँदा अनिश्चित गर्भ रहन जाने र गर्भ बसेको थाहा पाएपछि स्थानीयस्तरमै पाइने जडीबुटीको प्रयोग साथै सिटामोल ट्याव्लेटसमेत सेवन गरेर असुरक्षित गर्भपतन गराउन खोज्दा महिलाले ज्यान गुमाउनुपरेको छ । 

त्यस्तै, कतिपयले अनुमति नभएका क्लिनिक (मेडिकल) मा गएर अवैध रुपमा गर्भपतन गराउँदा साथै अनावश्यक औषधिहरु सेवन गर्नाले पनि महिलाको ज्यान जोखिममा पर्नेगरेको छ । अहिले पनि चेतनाको कमी रहेको साथै यौन सम्पर्कका समयमा होस गुमाउँदा अनिश्चित गर्भधारण गर्ने र त्यसपछि असुरक्षित गर्भपतन गर्नु नै सबैभन्दा कमजोरी भएको सरोकारवालाको भनाइ छ । 

कुनै पनि दम्पत्तिले यौन सम्पर्ककै समयमा सचेत हुनुपर्ने र बसेको गर्भलाई पतन गराउनु आवश्यता भएमा सुरक्षित गर्भपतन गराउनु पर्नेमा जोड दिइएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत पशुपति खनालले सरकारले तोकेका स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको बताउनुभयो । 

हाल देशभरका ६६ जिल्लामा औषधिबाट १२ हप्तासम्मको गर्भ सुरक्षित रुपमा गर्भपतन गराउने सुविधा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, ३४ वटा अस्पतालमा दक्ष चिकित्सकसहितको प्रविधि प्रयोगबाट १२ हप्ताभन्दा बढी समयको गर्भपतन गराउने सुविधा रहेको छ । यसरी कानुनी रुपमै सुरक्षित गर्भपतन गराउन पाउने व्यवस्थासहित जिल्ला अस्पताल र अन्य अस्पतालमा सुविधा भए पनि जनचेतना अभावका कारण महिलाले असुरक्षित गर्भपतन गर्नेगरेका उहाँको भनाइ छ ।

सुरक्षित गर्भपतनसम्बन्धी चेतना फैलाउन स्वास्थ्यकर्मीका अलावा सञ्चारकर्मी, पत्रकार, शिक्षकलगायतमा सहयोग गर्न आग्रह गर्नुभयो । गर्भपतन गराउनुपर्ने बाध्यात्मक परिस्थितिमा अनुमति प्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा गएर सेवा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले सचेतनाकै कमी रहेको औंल्याउनुभयो । निःशुल्क साथै सुरक्षित गर्भपतन गराउन सकिन्छ भन्ने प्रावधानप्रति बेखबर रहँदा कतिपयले असुरक्षित गर्भपतन गराउन पुग्दा ज्यान गुमाउने र जोखिममा पार्नेगरेको पाइएको लामाले बताउनुभयो । 

ताप्लेजुङमा चालु आर्थिक वर्षमा २२१ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जिल्ला अस्पतालका ल्याव टेक्निसियन निरीक्षक गोपाल बरालकाअनुसार सुरक्षित गर्भपतन सेवा लिएकामध्ये २१९ जनाले औषधि सेवनबाट र दुई जनाले सर्जिकल (साधारण शल्यक्रिया) मार्फत गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा २० वर्षभन्दा कम उमेरका १७ जना र २० वर्षभन्दा माथिका २०४ जना रहेका छन् ।

यसैबीच, स्वास्थ्य कार्यालय ताप्लेजुङले यहाँका सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी अनमीहरुको सहभागितामा सुरक्षित गर्भपतनसम्बन्धी तालिम प्रदान गरिरहेको छ । गर्भपतनसम्बन्धी मूल्य, मान्यता र रुपान्तरणमा केन्द्रित रहेर सोमबार सुरु गरिएको तीन दिने तालिम बुधबार सम्पन्न हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।