काठमाडौं, असार २५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ ।
सातदोवाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रमबीच सोमबार एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतले महिला टोलीको बिदाइ गर्नुभयो । नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा लागि बङ्गलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । यसपटक नेपाललाई गल्ती सुधार गर्दै बङ्गलादेशसँग बलदा लिने अवसर छ ।
मैत्रीपूर्ण खेलमा लागि प्रशिक्षक अनन्तराज थापाले यसअघिनै एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ । नेपाली टोली मंगलबार बङ्गलादेश जानेछ ।
नेपाली महिला टोली
गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अन्जना रानामगर र उषा नाथ
रक्षक : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा र समीक्षा घिमिरे
मिडफिल्डर : रेनुका नगरकोटी, सरूँ लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई र दीपा शाही
स्ट्राइकर : सावित्री भण्डारी, सबिता रानामगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल र अनिता केसी ।