• १३ साउन २०८१, आइतबार

झोला बोकेर घरघर छिर्‍यो सिंहदरबार

blog

अर्जुन काफ्ले

स्याङ्जा, असार २५ गते । जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन्।

ती झोला सामान्य छैनन्। झोलामै स्वास्थ्य प्रयोगशाला छ। त्यति मात्र पनि होइन, झोलाका प्रयोगशाला बोकेर घरघरमा जाने स्वास्थ्यकर्मीले घरमै विभिन्न स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिन्छन्। ‘मर्निङवाक गरिएकै छ, खानपिनमा पनि सजगता अपनाइएकै छ, तैपनि नियमित स्वास्थ्य परीक्षण गर्न पाए ढुक्क हुने थियो’ भन्ने स्वास्थ्यप्रति सचेत मानिसलाई गाउँपालिकाको यो झोले सेवा ज्यादै उपयोगी भएको छ।

त्यति मात्र पनि होइन कालीगण्डकी गाउँपालिकाको यो कार्यले छ वर्षअघिको राजनीतिक अवस्थालाई पनि सम्झाएको छ। २०७२ मा संविधान सभामार्फत जनता आफैँले बनाएको संविधान अनुसार तीन तहका सरकारको व्यवस्था भएको सङ्घीय प्रणालीमा भएको २०७४ सालको स्थानीय तहको निर्वाचनपछि सिंहदरबार गाउँगाउँ पुग्यो भन्ने चर्चा भएको थियो। त्यसअघि स्थानीय निर्वाचन त भएका थिए तर सङ्घीय शासन व्यवस्था अनुसार तीन तहका सरकारमध्ये सरकारकै रूपमा जनताले प्रत्यक्ष निर्वाचन गरेकाले सिंहदरबार गाउँगाउँ पुगेको भाष्य निर्माण गरेको थियो तर स्थानीय तहका कतिपय नेतृत्वले पनि डोजरको व्यापार गर्ने र दर्शनटुप्पो (भ्यु टावर) जस्तो अनुत्पादक र जनतालाई प्रत्यक्ष रूपमा नछुने काम गर्दा गाउँको सिंहदरबार पनि आलोचित हुन पुगेको थियो। तिनै डोजरलगायतका कतिपय विकृति अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका मुद्दा र अदालतबाट भएका फैसलाले उजागर गर्न थालेको छ।

यस्तैमा एक वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित कालीगण्डकी गाउँपालिकाको सिंहदरबारले दोस्रो कार्यकालमा स्वास्थ्य प्राविधिकलाई घरदैलोमा खटाएर जनतालाई स्वास्थ्य सेवा दिने कार्यमा संलग्न गराएको हो। स्थानीयको घरमै पुगेर इसिजी, पल्स रेट, श्वासप्रश्वास दर, अक्सिजन सेचुरेसन, सुगरको मात्रा, युरिया क्रेटिनाइन, केट्रोन बडिज, बडिमास इन्डेक्सलगायतका २७ प्रकारका परीक्षण गरी तत्काल नतिजा हातमै उपलब्ध गराउने गरिएको छ। 

यस्तो परीक्षण विधि इजरायली प्रविधिको ‘ल्याब इन–ए–ब्याग’ बाट सुरु गरिएको हो। यसभन्दा अगाडि काठमाडौँ महानगरपालिकामा सुरु भएको उक्त इजरायली प्रविधि गण्डकीमा भने पहिलो पटक सुरुवात गरिएको हो। 

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले विगतमा घरमा औषधी उपचार मात्र गरेको र अहिले थप सेवासहित घरघरमा स्वास्थ्य ल्याब सेवा थालनी गरिएको बताउनुभयो। “स्वास्थ्यकर्मी घरघरमै पुगी नागरिकको स्वास्थ्य जाँच र तत्काल ल्याब रिपोर्ट दिने कार्यबाट नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो। 

गाउँका बासिन्दाले अहिलेसम्म औषधी सेवन नै नगरेको र केही नभएको भन्दै कुनै स्वास्थ्य परीक्षण नहुँदा दिनानुदिन रोगीको सङ्ख्या बढेको सुनाउँदै उहाँले रोग नलुकाऊन् र रोगको पहिचान गर्न सहज होस् भनेर यस्तो सेवा सञ्चालन गरिएको बताउनुभयो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले स्वस्थ राख्न हरेक नागरिकको घरदैलोमा पुगेर स्वास्थ परीक्षण सेवा सञ्चालन गरिएको बताउँदै भन्नुभयो, “पालिकाको दायित्व हो। सेवालाई अझ प्रभावकारी बनाउने छौँ।” 

पहिलो चरणमा दुई जना स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर यस सेवामा परिचालन गरिएको छ। उहाँले अहिले दुई वटा मात्र उपकरण रहेको र छिट्टै थप पाँच वटा खरिद गरी प्रत्येक वडामा परीक्षण सेवा विस्तार गरिने बताउनुभयो। आगामी साउन १ गतेदेखि हरेक बासिन्दाले घरघरमा सेवा पाउने र कुन घरमा परीक्षण भएको छ, नतिजा के आयोलगायतका विवरण गाउँपालिका कार्यालयमा हेर्न सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो। स्वास्थ्य परीक्षणको नतिजा गाउँपालिकाको अनलाइनबाट तत्काल हेर्न सकिने र चिकित्सकसँग परामर्श लिन सक्ने व्यवस्था गरिएको छ। गाउँपालिकामा चार हजार ७९५ घरधुरीको बसोबास छ।