• ३० वैशाख २०८२, मङ्गलबार

साउनभित्रै सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी

blog

लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी नेपालगञ्जमा आयोजित कार्यक्रममा । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असार २४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनभित्रै प्रदेश सरकारलाई पूर्णता दिइने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।  

मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘नीति तथा कार्यक्रम र बजेटको तयारीमा ध्यान केन्द्रित गर्नुपरेका कारण सरकार विस्तारमा ध्यान दिन सकिएन, अब साउनभित्रै सरकारले पूर्णता पाउनेछ ।’

उहाँले प्रदेशका सबै १२ जिल्लामा समानुपातिक बजेट विनियोजन गरिएको बताउँदै बजेट वितरणमा कुनै जिल्लालाई पनि काखापाखा नभएको दाबी गर्नुभयो । विगतमा बाँके र बर्दियामा कम बजेट पर्नेगरेको गुनासो सुनिने भन्दै उहाँले यस पटक प्राथमिकता दिइएको बताउनुभयो । 

सरकारले मुख्य लक्ष्य रोजगारीलाई बनाएको भन्दै उहाँले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्रयास भइरहेको बताउनुभयो । दुई लाख युवालाई रोजगारी दिनेगरी सरकार अघि बढेको उहाँको भनाइ छ । कला संस्कृति र पर्यटन विकासका लागि सरकार योजनाबद्ध रूपमा लागिपरेको उहाँले बताउनुभयो ।  

मुख्यमन्त्री चौधरीले प्रदेश निर्देशनालयहरू खारेजीको निर्णय भइनसकेको भन्दै सरकारले समिति गठन गरेको र समितिको प्रतिवेदनका आधारमा मात्रै अन्तिम निर्णय गरिने बताउनुभयो । सरकारले सहज सेवा प्रवाहका लागि अघि बढ्न खोजेको उहाँले बताउनुभयो । 

सरकार आम जनतालाई छिटोछरितो सेवा प्रवाहका लागि प्रयासरत रहेको भन्दै उहाँले कर्मचारीसम्बन्धी कानुन पनि ल्याउन लागिएको बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री चौधरीलाई प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम केसी, जिल्ला अध्यक्ष अर्जुन वली लगायतले सम्मान गर्नुभयो ।