• १३ साउन २०८१, आइतबार

कृषि खेतीमा रमाउँदै भलामी दम्पत्ति

blog

आफ्नै बारीमा फलाएको अङ्गुरसँग रमाउँदै भलामी । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असार २२ गते । गुल्मीको रेसुङ्गा नगरपालिका खानीगाउँमा अङ्गुर खेती गरिएको छ । रेसुङ्गा नगरपालिका वडा –८ निवासी प्रकाश भलामी दम्पत्तिले बाख्रापालन, नर्सरीसँगै अङ्गुर खेतीमा रमाइरहनुभएको छ । 

बाख्रा पालन र नर्सरीसँगै अङ्गुर खेतीका लागि उहाँका श्रीमती लक्ष्मी भलामीले राम्रो सहयोग गर्नुभएको छ । आम्दानीसँगै दैनिक जीवनको व्यस्ततालाई बढाउन कृषि खेतीमा जोड दिएको भलामी दम्पत्तिको बुझाइ छ । 

श्रीमतीको नाममा लक्ष्मी कृषि तथा पशुपंछी फर्म गरेर कृषिखेती सुरु गरिएको भलामीले बताउनुभयो ।  श्रीमान–श्रीमती मिलेर अहिले कृषिमा नयाँ अभ्यासका रुपमा अङ्गुर खेतीलाई गरिरहेको उहाँको भनाइ छ ।  टनेलभित्र अङ्गुर खेती सुरु गर्नुभएको भलामी दम्पत्तिले ६ वर्षअघि भैरहवाबाट ल्याएको अङ्गुर पछिल्लो तीन वर्ष यता सिजनअनुसार उत्पादन हुँदैआएको बताउनुभयो ।  

‘गत सालभन्दा यस पटक अङ्गुर राम्रो फलेको छ । यस पटक डेढ क्विन्टल अङ्गुर उत्पादन हुने अपेक्षा गरिएको छ । अङ्गुरको नर्सरी पनि छ । अङ्गुरका बिरुवा पनि बिक्री भइरहेको छ’ उहाँले भन्नुभयो, ‘अर्गानिक अङ्गुर उत्पादन भइरहेको छ । यसमा कुनै विषादीको प्रयोग भएको छैन् । एउटै अङ्गुरको बोटबाट राम्रो फल लागेको छ । यो राम्रो पक्ष हो ।’ 


अङ्गुरको माग अत्यधिक रहेकाले यहाँ उत्पादन भएको अङ्गुरको बिक्री बितरणका लागि सहज छ । ठूलो क्षेत्रफलमा व्यावसायिक रुपमा अगाडि बढाउन सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुने भन्दै अङ्गुर खेतीमा लाग्न सुझाव उहाँले दिनुभयो । 

परीक्षणको रुपमा लगाइएको अङ्गुरले राम्रो उत्पादन दिन थालेपछि खुसी लागेको उहाँले बताउनुभयो । अङ्गुरको व्यावसायिक उत्पादन र यसबाट बन्ने विभिन्न वस्तुको उत्पादन एवम् रुपान्तरणका लागि राज्यले बिशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

‘बाहिर उत्पादन गर्दा फलमा दाग लाग्ने, अरिङगालले खाने समस्या हुन्छ । पहाडि क्षेत्रमा तापक्रम कम हुन्छ । तर टनेलभित्र उत्पादन गर्न सकिए यसबाट राम्रो उत्पादन लिन सकिन्छ’ उहाँले भन्नुभयो, ‘बाहिर उत्पादन भएको अङ्गुर केही अमिलो छ । चराचुरुङ्गीबाट बचाउन पनि समस्या हुन्छ ।’ कृषकलाई अनुदान मात्रभन्दा पनि प्राविधिक सल्लाह महत्वपूर्ण हुने उहाँले बताउनुभयो । 


स्वादका हिसाबले पनि टनेलभित्र उत्पादन भएको अङ्गुर गुलियो र रसिलो हुने भलामीले बताउनुभयो । उहाँले रेसुङ्गा नगरपालिका र कृषि ज्ञान केन्द्रबाट प्राप्त भएको टनेलमा मौसमअनुसारका तरकारी पनि उत्पादन गर्नुहुन्छ । आम्दानी मात्र होइन, कृषिमा आनन्दित हुने कुरा पनि महत्वपूर्ण भएको उहाँले चर्चा गर्नुभयो ।