• १३ असोज २०८१, आइतबार

आँपको मूल्यमा दोब्बर वृद्धि

blog

लहानको मुख्य चोकमा आँप खरिद बिक्री गरिँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, असार २२ गते । आँपको मुख्य व्यापारिक केन्द्र मानिएको लहानमा आँपको मूल्यमा दोब्बरले वृद्धि भएको छ । असारको दोस्रो हप्तामा सस्तो मूल्यमा पाउने आँपको मूल्य तेस्रो हप्तामा आइपुग्दा वृद्धि भएको हो । 

व्यापारी र किसानले फूलवारीमा रहेका आँपहरु किसान र किसानबाट खरिद गरी  लहान बाहिरका बजारमा लगिसकेपछि आँपको मूल्यमा दोब्बरले वृद्धि भएको  आँप व्यापारीहरुको भनाइ छ ।  

आँप व्यापारी देवकी दासका अनुसार प्रतिकिलो पाँच रुपियाँ नाफा लिएर विक्री गर्ने मालदह आँप ३० देखि ४० रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ । अहिले त्यही आँप प्रतिकिलो ६० रुपियाँमा बिक्री भइरहेको छ । 

किसानहरुको बगैंचामा नै मालदह आँप सकिन लागेको छ भने कलकतिया आँप बाँकी भए पनि धान रोपाइँको चटारो लागेपछि किसानहरु कलकतिया आँप बिक्री गर्ने सुरमा छन् । 

यसवर्ष कलकतिया आँपले पनि राम्रै मूल्य पाउने लहान नगरपालिका कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिनुभयो । आँपको पकेट क्षेत्रमा नै आँपका बगैंचामा आँप ८० प्रतिशतभन्दा बढी आँप टिपेर किसान र व्यापारीहरु बिक्री गरीसकेकाले बजारमा आँप कम मात्रामा आउन थालेपछि मूल्य बढ्नु स्वाभाविकै भएको शाखा प्रमुख साहले प्रष्ट पार्नुभयो । 

सिरहा र सप्तरीका लागि लहान आँपको मुख्य व्यापारिक केन्द्र मानिन्छ । लहानमा आँपको शितभण्डार नहुँदा असारको दोस्रो हप्तादेखि रुखमा पाक्न सुरु हुने आँपलाई विक्री गर्न समस्या हुनेगरेका कारण ढिलो गरी बगैंचामा आँप टिकाइराख्न समस्या भइरहेको लहान –१३ का कृषक रघुवीर यादवले बताउनुभयो । 

आँपको बजार व्यवस्थापन र शीतभण्डारको लागि राष्ट्रिय लोकमार्गमा पर्ने लहान नगरपालिका, धनगढीमाइ, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकासँग समन्वय गरी बजार व्यवस्थापन गरिएको छ । शीतभण्डारका साथै आँप खेतीलाई वैज्ञानिक विधि अपनाउन चाहिने मलखाद, औषधि र सिंचाइबारे बृहत् कार्यक्रम ल्याउन समन्वय भइरहेको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतोले बताउनुभयो । 

लहान नगरपालिकाले लहानको आँपको ब्राण्डिङ गरेर विभिन्न शहरमा लहानको आँप भनेर पहिचान गरिएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।  शीतभण्डारसहित आँपको व्यवस्थित बजार र मूल्य निर्धारणलगायतको कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।