• १३ साउन २०८१, आइतबार

पानी नियमित नपर्दा रोपाइँमा समस्या

blog

धान रोपाइ गर्दै स्थानीय किसान । तस्बिर : होमराज रानाभाट

होमराज रानाभाट

कावासोती, असार २२ गते । कहिले पानी त कहिले खडेरी अनि किसानले भनेको समयमा धान रोप्न नपाउँदा यो वर्ष पनि राम्रोसँग धानको उत्पादन हुुन सक्दैन कि भन्ने चिन्ताले किसान चिन्तित बनेका छन् ।  

नवलपरासीपूर्वमा अहिले लामो खडेरी पर्दा किसानले राम्रोसँग खेत रोप्न सकेका छैनन्, पानी खेतमा नआउँदा समस्या त छँदैछ, त्यसमाथि भएका बोरिङहरुमा समेत पानी आउन नसक्दा अहिलेसम्म पनि राम्रोसँग धान रोप्न नपाएको किसानको गुनासो छ ।

धानको मूल्य राम्रो नपाउनु समयमा मलबीउ नपाउनु, लामो खडेरी पर्नुजस्ता थुप्रै समस्याले पनि भनेको समयमा खेत रोप्न नपाएको, धानको मूल्यभन्दा लागत बढी भएको कावासोती १५ का किसान रुमाकान्त पाण्डेको भनाइ छ । 

नवलपरासीपूर्वमा करिब १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा बर्षेनी वर्षेधान लगाइने गरेको र धान उत्पादनले जिल्लालाई आत्मनिर्भर जिल्ला भए पनि यो वर्ष पानी समयमै नपर्दा किसानले धेरै समस्या झेल्दैआएका छन् । 

समयमा पानी नपर्नु, आकाशे पानीको भर पर्नुपर्ने, समयमा मलबीउ किन्न जाँदा पाउन नसक्नु, लामो खडेरी पर्दा सबै खेतमा रोपाइँ हुन नसक्ने अबस्था आएको कृषक शर्मिला श्रेष्ठको भनाइ छ ।  

यो वर्ष खडेरी परेकाले पहाडी क्षेत्रमा पनि असारको अन्तिमसम्ममा खेत रोप्न पाउने आशामा रहेको बौंदीकालीका कृषक कमानसिंह सुस्लिङ मगरले बताउनुभयो । नवलपरासी पूर्वमा अहिलेसम्म २२ प्रतिशतसम्म धान रोपाइँ भएको र अहिले पानी पर्न थालेका कारण धान रोप्ने काममा तीव्रता अाएको, जिल्लामा ५५ प्रतिशत भूभाग सिंचित र बाँकी असिंचित भूभाग रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्र्मुख गोपाल लामिछानेले बताउनुभयो । 

बौंदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले कृषिप्रधान देशका नागरिक किसानले समयमै वर्षा नहुँदा धान रोप्न ढिलो भएको बताउनुभयो ।