• १३ पुस २०८१, शनिबार

विद्यालयमा बालमैत्री खानेपानी धारा

blog

आठ दिनमा निर्माण कार्य सम्पन्न भएको बालमैत्री खानेपानीको धारा । तस्बिर : राजन रावत ।

राजन रावत

हुम्ला, असार २२ गते । सिमकोट गाउँपालिका-७ को डाँडाफया गाउँको कैलाश माध्यामिक विद्यालयमा बालमैत्री खानेपानीको धारा पुगेको छ । विद्यालयका सबैजना मिलेर आठ दिनमा खानेपानी योजना निर्माण गरी धारा ल्याउन सफल भएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दिर सिहंले समुदाय मिलेर आठ दिनमा खानेपानी पाइपलाईन खन्ने र धारा निर्माण गरेर पानी खसाल्न सफल भएको बताउनुभयो । उक्त बालमैत्री खानेपानी धारा निर्माण भएर धारामा पानी खसेसँगै विधार्थीहरुले यसअघि स्थानीय बासिन्दाको सार्वजनिक धाराबाट पानी बोकेर ल्याई पिउनुपर्ने बाध्यता हटेको बताउँदै उहाँले अति आवश्यकताको योजना भएको कारण विद्यालयमा पानी ल्याउन सफल भएको बताउनुभयो । 

साना तथा ठूला विद्यार्थीहरुलाई पानी पिउन सहज बनाउनका लागि एउटै धाराको पिलरमा पाँच वटा लामा छोटा धारा निर्माण गरिएको छ । बालविकासदेखि कक्षा दशसम्म अध्ययन हुने उक्त विद्यालयमा यसअघि खानेपानी लिनका लागि विद्यार्थीहरुलाई पालो कुर्नुपर्ने अवस्था थियो । यसबाट विद्यार्थीहरुको पढाइमा बाधा पुग्ने गरेको थियो । 

विद्यालयको हाताभित्रै खानेपानीको धारा निर्माण भएपछि विद्यार्थीहरु र शिक्षक कर्मचारीलाई सहज भएको छ । २३३ जना विद्यार्थीहरु अध्ययनरत यस विद्यालयमा खानेपानीको समस्या भएपछि विद्यालयले विभिन्न निकायसँग माग राखेको भए पनि सुनुवाइ हुन सकेको थिएन । एक महिना अगाडी एउटा गैरसरकारी निकायलाई विद्यालयले खानेपानी निर्माणका लागि माग गरेको थियो । सो बालमैत्री धारासहितको खानेपानी योजना निर्माणका लागि सहयोगका लागि प्राविधिक सहयोग गरेको स्नोल्याण्ड एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले गुणस्तरीय धारा निर्माण भएर पानी खसेको बताउनुभयो । 

सो धाराका लागि सात सय मिटर टाढाको मुहानबाट पानी पाइपलाइन खनेर ल्याइएको छ । उहाँले यसका लागि गुड नेवर्स इन्टरनेस्नल नेपालको एकिृत सामुदायिक परियोजनाको स्वास्थ्य तथा सरसफाइ कार्यक्रमबाट चार लाख ४६ हजार बजेट खर्च गरिएको बताउनुभयो । उक्त कार्यक्रमबाट यसअघि सिमकोट गाउँपालिकाको कालाशिल्ता र भीमसेन आधारभूत विद्यालय र खार्पुनाथ गाउँपालिकाको हुम्ला माविमा यही प्रकृतिका बालमैत्री खानेपानीका धारा निर्माण गरेर हाल सञ्चालनको अवस्थामा छन् ।