• १४ असार २०८१, शुक्रबार

‘गरिबका लागि निःशुल्क उपचार’

blog

सर्लाही समाचारदाता

सर्लाही, असार २० गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा मङ्गलबार १५ शय्याको सामुदायिक अस्पताल उद्घाटन गरिएको छ। सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको उद्घाटन गर्नुभएको हो।

सीमावर्ती क्षेत्रमा स्थापना भएको यो अस्पतालले यहाँका ग्रामीण भेगका बासिन्दालाई प्रभावकारी ढङ्गले प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। अस्पताल सञ्चालन तथा विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि मन्त्रालयको साथ, सहयोग रहने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो। गरिब तथा विपन्न वर्गका लागि प्रत्येक सरकारी तथा निजी अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले यहाँ पनि कोही गम्भीर प्रकृतिका बिरामी उपचार नपाएरै बसिरहेको भए आफ्नो सम्पर्कमा ल्याइदिन आग्रह गर्नुभयो। 

अस्पतालमा सेवा लिन लाग्नुपर्ने लाइन र त्यहाँ हुने भिडभाडले थप बिरामी पर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालयले उपत्यका तथा मुख्य सहरका अस्पताललाई अनलाइन प्रणालीमार्फत टिकट काट्ने व्यवस्था मिलाउन निर्देशन दिएको र त्यसको आफूले नै प्रत्यक्ष अनुगमन गरिरहेको मन्त्री बस्नेतको भनाइ छ। अस्पतालको सेवा सुविधाबारे आम नागरिकमा अन्योलता रहेको भन्दै उहाँले कुन कुन अस्पतालले के के सेवा दिन्छन् भनी आआफ्नो वेबसाइटमा प्रस्टसँग उल्लेख गर्न निर्देशन दिएको बताउनुभयो। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री बस्नेतले कांग्रेसले नेकपा (एमाले) सँग मिलेर नयाँ सरकार बनाउन लागेको हल्ला सत्य नभएको बताउनुभयो। एमालेलाई काउसोको संज्ञा दिँदै उहाँले यो गठबन्धन नै कायम रहने दाबी गर्नुभयो। 

कार्यक्रममा खानेपानीमन्त्री महिन्द्र राय यादवले पनि जनताबाट अनुमोदित भएकाले यो गठबन्धन नै कायम रहने बताउनुभयो। यो सरकारले नागरिकताको समस्या समाधानसहित जनताका समस्या हल गर्दै अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो। 

तराईमा बर्सेनि भूमिगत पानीको सतह घट्दै गइ खानेपानी तथा सिँचाइको अभाव बढ्दै गएको भन्दै मन्त्री यादवले चुरेको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो। उहाँले अबको पाँच वर्षभित्र सुनकोशी–मरिण डाइभर्सनको काम पूरा हुने र त्यसपश्चात् यहाँका किसानले सिँचाइको समस्याबाट मुक्ति पाउने दाबी गर्नुभयो। कौडेना गाउँपालिका आफैले फूलपरासीस्थित हुलाकी सडक छेउमा एक करोड ७९ लाख रुपियाँ लागतमा अस्पताल निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रूपेशकुमार यादवले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पताल सञ्चालनका लागि गाउँपालिकाले विशेषज्ञ चिकित्सक नियुक्तिको प्रक्रिया अघि बढाएको छ। 

यो अस्पताल सञ्चालनमा आएसँगै जिल्लाको दक्षिण–पश्चिम भेगका बासिन्दालाई प्राथमिक उपचार सेवा पाउन तथा सवारी दुर्घटनाका घाइतेलाई उपचारका लागि सहज हुने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध नहुँदा स्थानीय बासिन्दा अहिले सामान्य औषधी उपचारका लागि पनि सदरमुकाम मलङ्गवा वा सीमापारि भारतीय बजारसम्म धाउन बाध्य भइरहेका छन्।